१० खेलाडीमा सिमित म्यानचेस्टर सिटीको रोमाञ्चक जित, शीर्ष स्थानमा उक्लियो

काठमाडौं,२० कात्तिक ।
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा फुलहमलाई हराएको छ । खेलको अधिकांश समय १० खेलाडीमा सिमित सिटीले घरेलु मैदानमा शनिबार२–१ को जित निकालेको हो । सिटीको जितमा जुलियन अल्भारेज र हालान्डले गोल गर्दा फुलहमका लागि आन्द्रिएस परेराले गोल गरे ।
खेलको १७ औं मिनेटमा सिटीले जुलियन अल्भारेजको गोलमा अग्रता लिएको थियो। त्यसको ९ मिनेटपछि सिटी १० खेलाडीमा सिमित भयो। क्यान्सेलोले पेनाल्टी क्षेत्रभित्र ह्यारी विल्सनमाथि फल गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड दिएका थिए। क्यान्सेलोले रातो कार्ड पाएपछि सिटी दबाबमा प¥यो। उक्त फलकै कारण फुलहमले खेल बराबरीसमेत गरेको थियो । फुलहमका लागि आन्द्रिएस परेराले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

त्यसपछि सिटीले लगातार आक्रमण बुने पनि फुलहमको डिफेन्स चिर्न सकेन। एर्लिङ हालान्डले ७४ औं मिनेटमा गरेको गोललाई भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड दिँदा सिटीले अग्रता लिने मौका गुमायो। इन्ज्युरी समयमा सिटीले पेनाल्टी पायो। एन्टोनी रबिन्सनले केभिन डे ब्रुएनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। उक्त पेनाल्टीलाई हालान्डले गोलमा परिणत गर्दै जित पक्का गरे।
यो जितसँगै सिटी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। सिटीले १३ खेलमा ३२ अंक जोडेको छ। एक खेल कम खेलेको आर्सनलको ३१ अंक छ। शीर्ष स्थानमा फर्कन आर्सनलले आज साँझ चेल्सीको सामना गर्नेछ। २१ अंक जोडेको चेल्सी सातौं स्थानमा छ। यस्तै सिटीसँग पराजित फुलहम १९ अंकसहित आठौं स्थानमा छ ।
सेतोपाटी






