१६ करोड लगानीमा स्याउ बगैंचा

जुम्ला,१८ मंसिर ।

स्थानीय गुठीचौर गाउँपालिका–५ जलजलामा झन्डै १६ करोड रुपैयाँ लगानीमा फुजी स्याउ बगैंचा स्थापना भएको छ । स्थानीय भीमबहादुर भण्डारीले ३० हजार स्याउका बिरुवा रोपेर स्याउ बगैंचा स्थापना गरेका हुन्  ।

भण्डारीले तीन वटा बगैंचामा करिब ३८ हजार बिरुवा रोपेका छन् । उनको फार्मबाट यो वर्षको उत्पादन भइसकेको छ । तीन वर्षअघि छिँडीमा परीक्षणका लागि उनले २ हजार ४ सय फुजी स्याउ रोपेका थिए । यो वर्ष बगैंचाबाट झन्डै ५० मेट्रिक टन स्याउ उत्पादन भएको भण्डारीले बताए ।

‘अरू स्याउभन्दा यो स्याउको आकार ठूलो छ, स्वादिलो पनि भएकाले फुजी स्याउको माग अत्यधिक छ,’ उनले भने, ‘जुम्लालाई स्याउको भण्डार मान्ने तर साना बगैंचा स्थापना गरेर जीवन निर्वाह मात्र गरिरहने हो भने आर्थिक रूपमा बलियो हुन सकिँदैन भनेर ठूलो लगानीमा स्याउ बगैंचा खोलेको हुँ ।’

बगैंचामा फुजीसँगै गाला, फुजी, रेड डेलिसियस, गोल्डेन जातका स्याउ रोपिएको छ । भण्डारीले जलजला र गुठिचौरको स्यालामा २ हजार ५ सय वर्गमिटरमा ६ हजार र छिँडीमा १० हजार वर्गमिटरमा २ हजार ४ सय बिरुवा रोपिएको बताए ।

२० वर्षको उमेरदेखि जडिबुटीको व्यापार गरेका भण्डारीले उक्त व्यवसाय छोडेर स्याउमा लगानी गरेका हुन् । जडिबुटी व्यापारका सिलसिलामा उनी झन्डै १० वर्ष सुदूरपश्चिम बसेका उनले पछिल्लो ७ वर्ष नेपालगन्जमा ‘सेन्टर प्वाइन्ट’ नामक व्यापारिक संस्था खोलेका थिए । ‘अहिलेसम्म कमाएको पैसाभरि स्याउमै लगानी गरेको छु,’ उनले भने, ‘यसले राम्रै प्रतिफल दिने आशा छ ।’

उनको बगैंचामा साउन र पुस महिनाबाहेक सबै महिनामा काम हुन्छ । ३६ जनाले स्थायी रोजगारी पाएका छन् । सिजनमा एक हजार जनासम्मले काम पाइरहेको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाइ स्याउ सुपरजोन जुम्लाका अनुसार जिल्लाभरि फुजी स्याउका ३७ बगैंचा छन् ।

यो स्याउले रोपेको ६ महिनामै फल दिन सुरु गर्छ । एउटा बोटबाट १५ केजीदेखि ३० केजीसम्म स्याउ फलाउन सकिने कृषिविज्ञहरूको भनाइ छ ।

कान्तिपुर

१६ करोड लगानीमा स्याउ बगैंचा

हिमाचल कोटखाईबाट नेपाल आउदै गरेका कालिमाटी ६

१६ करोड लगानीमा स्याउ बगैंचा

जमिन भासिएपछि चर्केको घरमा बस्न बाध्य काफलपानीका

Leave a comment

Your email address will not be published. Required fields are marked *