कर्णाली प्रदेशसभाको तयारी तीव्र

सुर्खेत,१८ मंसिर ।
कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको शुरूवातका लागि कर्णाली प्रदेशसभाको सचिवालयले तयारी तीव्र पारेको छ । प्रदशेसभा निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएसँगै प्रदेशसभा सचिवालयले प्रदेशसभा मर्मतसम्भार, रंगरोगन र सरसफाइको कामलाई तीव्रता दिएको हो ।
प्रदशेसभाका भवनको मर्मत– सम्भारसहित सिट प्लानिङ गर्न थालिएको बताउँदै सचिवालयका सचिव जीवराज बुढाथोकीले संसद् बैठकका लागि यसअघि प्रयोग भइरहेका स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरी मर्मतसम्भारको काम भइरहेको जानकारी दिए ।
प्रदेशसभा भवन, सभामुख, उपसभामुख, दलका नेताको कार्यकक्ष, संसदीय समिति र संसदीय दलको बैठक कक्षहरुमा रङरोगनका साथै फर्निसिंग र कार्पेटिंगलगायतका काम भइरहेको छ । सचिवालयमा सभामुखसहित दलका नेताहरुले सुविधा उपभोग गर्न पाउने सवारी–साधनको मर्मत गरी तयारी अवस्थामा राखिएको बुढाथोकीले जानकारी दिए ।
४० सदस्यीय कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस १४, माओवादी केन्द्र १३, नेकपा एमाले ११, र एकीकृत समाजवादी र राप्रपाबाट १÷१ जनाको प्रतिनिधित्व हुने भएअनुसार व्यवस्थापन गरिएको हो । संसद् बैठक कक्षमा मुख्यमन्त्री, मन्त्री
सत्तापक्ष, प्रतिपक्षलगायतको कुर्सीको व्यवस्थापन गरिएको छ ।
सभामुखको दाँयातर्फ सत्तापक्षका लागि छुट्ट्याइएको छ भने, बायाँतर्फ प्रतिपक्ष दललाई बस्ने व्यवस्था मिलाइएको छ । संसद् बैठकका गतिविधि प्रत्यक्ष रुपमा हेर्न संसद्भित्र र बाहिर डिजिटल बोर्डको व्यवस्था पनि गरिएको बुढाथोकीले जानकारी दिए ।






