रानावाडामा बेवारिसे बम विष्फोट घटना : घाइतेलाई पुनःस्थापनाको सकस

पुनम वि.सि.
सुर्खेत, १८ मंसिर ।
कालिकोटको रानावाडामा भएको बेवारिसे बल फिष्फोटमा घाइते भएका तीन जना बालबालिका मंगलबार अस्पतालबाट घर फर्किएका छन् । एक महिना बढी अस्पतालमा उपचार पश्चात चिकित्सकको सल्लाह वमोजिम उनीहरु घर फर्किएका हुन् ।
गत कार्तिक १२ गते कालिकोटको तिलागुफा नगरपालिका–१२ स्थित रानावाडामा बेवारिसे अवस्थामा छाडिएको विष्फोटक पदार्थ पड्किंदा सख्त घाइते भएका उनीहरु अहिले वीरेन्द्रनगरमै आफन्तको घरमा बसिरहेका छन् । घाइतेमध्येका एक बालक कमल थापाको खुट्टामा फलामको रड राखिएको छ । पाँच वर्षीय मुस्कान थापाको शरिरमा प्लाष्टर गरिएको छ । ‘

अहिले सुर्खेतमा रहेको आफन्तकै घरमा राखेका छौँ । घाइते बालबालिकाका अभिभावक जयलाल थापाले भने, दुई–तीन दिनमा चेकअपको लागि अस्पताल गईरहनुपर्नेछ । त्यसपछि भने घर ल्याउने योजना छ ।’ तिहारको आसपासमा भएको उक्त घटनामा तीन वर्षिय झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो भने पाँच वर्षीय सरस्वती थापाको उपचारका क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो ।
थापा भन्छन्, ‘एकै परिवारका हाम्रा बच्चा बम विष्फोटमा परे । दुई जनाको मृत्यु भयो । अरु तीन जनाको भविष्यले हामीलाई झन् चिन्ता लागेको छ ।’ घाइते भएका आठ वर्षीय कमल थापा गाउँकै कालिका आधारभूत विद्यालयमा दुई कक्षामा पढ्दै थिए ।
खुट्टामा लागेको गम्भीर चोटका कारण अब उनलाई विद्यालय पुग्न समेत समस्या हुने उनका अभिभावक बताउँछन् । ‘खुट्टमा हालेको रड डाक्टरले पुष २२ गते निकाल्ने भनेका छन् । ’ जयलालले भने, ‘पढ्ने पढाउने भन्ने कुरो यस्तै हो, पहिला चोट निको होस् ।’
बालबालिकाका परिवारको आर्थिक अवस्था पनि नाजुक नै छ । घाइते बालबालिकाको हालको अवस्थामा सुधार ल्याउन उनीहरु आफैमा सक्षम छैनन् । उपचारका लागि प्रदेश अस्पतालले निःशुल्क गरेपनि त्यसपछि बालबालिकालाई विशेष संरक्षण र सुविधा आवश्यक पर्ने बालबालिकाका अभिभावक बताउँछन् । घाइते बालबालिकाहरु अहिले पूर्णरुपमा हिडडुल गर्न सक्दैनन् ।
उनीहरुलाई हिडडुल गर्न, खाना खानलगायतका गतिविधिमा अरुको टेकोसहारा चाहिन्छ । यसका साथै विद्यालय जानबाट समेत वञ्चित भएकाले उनीहरुको पठनपाठनमा समेत समस्या देखिएको छ ।
राज्यलाई जवाफदेही हुन आग्रह
घटनालगत्तै स्थलगत अनुगमनका लागि पुगेको राष्ट्रिय मानवअधिकार आयोगसहितका अधिकारकर्मीहरुको टोलीले घाइते बालबालिकालाई सामाजिक पुनःस्थापनाका लागि सहयोग गर्नुपर्ने सुझाव दिएको छ । स्थानीय प्रशासनले घाइते बालबालिकाको उचित उपचार, राहत, उच्च शिक्षा, रोजगारी तथा क्षतिपूर्तिका लागि तत्काल यथोचित कदम चाल्नुपर्ने मानव अधिकारकर्मीहरुको सुझाव छ ।
मृतकका परिवारलाई राहत र घाइतेको उपचारका लागि ‘फाइल’ तयार भएपनि सिफारिस समितिले आवश्यक पहल नगरेको राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश कार्यालयका प्रमुख लोकनाथ बाँस्तोलाले बताए । ‘घाइतेको तत्कालिन उपचार खर्च तिलागुफा नगरपालिकाले व्यहोरेको पाइयो तर मृतकका परिवारले हालसम्म पनि राहत तथा क्षतिपुर्ती पाएका भने छैनन्’उनले भने ।
अनौपचारिक सेवा केन्द्र (इन्सेक)को कर्णाली प्रदेश कार्यालयको टोलीले घाइते बालबालिका, उनका आफन्त र उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग घटनाका विषयमा भेटवार्ता गरेको थियो । इन्सेकको अगुवाई भएको स्थलगत अनुगमनको टोलीले घाइते बालबालिकाहरुको स्वास्थ्य खतरामुक्त रहेको स्वास्थ्यकर्मीले बताएपनि मृतक तथा घाइतेको परिवारको आर्थिक अवस्था कमजोर रहेका कारण घाइते बालबालिकाको थप उपचारलगायतका पक्षमा सहयोग आवश्यक रहेको जनाएको छ ।
वि.सं. २०६८ साल जेठ ३१ गते नेपाललाई बारुदी सुरुङ्ग मुक्त देश घोषणा गरिएपनि अझै बेवारिसे बम विष्फोट जस्ता घटनाहरु हुनु विडम्बनाको विषय भएको अनौपचारिक सेवा केन्द्र (इन्सेक)को सुर्खेत कार्यालयका कार्यक्रम संयोजक नारायण सुवेदीले बताए ।
‘अहिलेपनि यस्ता घटनाबाट कयौं निर्दोष व्यक्ति र बालबालिकाहरुले ज्यान गुमाउनुका साथै अंङ्गभंङ्ग भई जीवन बिताउन बाध्य भएका छन् । उनले भने, यस अवस्थामा स्थानीय प्रशासन र प्रदेश सरकारले यस विषयलाई प्राथमिकतामा राखेर नागरिकको सुरक्षाको ग्यारेन्टी दिनुपर्छ ।’ राज्यले घटनाका पीडित बालबालिकाको शिक्षा तथा स्वास्थ्यको उचित व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।






