लाखौं अनुदान लिने फर्म र सहकारीको अनुगमन

सुर्खेत, २० असार ।
अनुदान रकम लिएका कृषि तथा पशुपालन फर्म र कृषि सहकारी संस्थाहरुको स्थलगत अनुगमन गरिएको छ । पशु सेवा निर्देशनालयबाट विभिन्न समयमा अनुदान लिएका फर्म तथा सहकारीको अनुगमन गरिएको हो । वीरेन्द्रनगर, भेरीगंगा र गुर्भाकोट नगरपालिकामा रहेका विभिन्न फर्म तथा सहकारीको अनुगमन गरिएको थियो ।
वीरेन्द्रनगर–१ मा रहेको सञ्जीवनी कृषि तथा पशुपालन सहकारी संस्थाद्धारा सञ्चालित सन्जीवनी भैँसी फर्म २०७५ फागुनमा स्थापना भएदेखि हालसम्म दुग्ध उत्पादनमा ५० लाख, गोठ निर्माण तथा सुधारमा १२ लाख र भैँसी स्रोत केन्द्र विकास विस्तारमा ४० लाख अनुदान लिएको जनाइएको छ ।

५ वटा भैँसीबाट सुरु भएको फर्ममा हाल १६० वटा ठुला, साना भैँसी रहेको र दैनिक ४ सय लिटरसम्म दुध उत्पादन भएर खपत भैरहेको फर्मका सञ्चालक बल बहादुर रोकायले जानकारी दिए । ९० लाखबाट सुरु भएको भैँसी फर्मममा ५ करोड लगानी पुगिसकेको र मासिक ३ लाख ५० हजारसम्म आम्दानी भैरहेको सञ्चालक रोकायको भनाईछ ।
वीरेन्द्रनगर–३ टीकानगरमा टीकानगर कृषि तथा पशुपालन फर्मले पशुसेवा निर्देशनालयबाट माछापोरी निर्माण र माछापालन कार्यक्रममा ४ लाख अनुदान लिएर ३ वटा माछापोखरी निर्माण गरी २० हजार माछाका भुरा तालमा राखिएको जनाइएको छ ।

फर्मका सञ्चालक ओमदत्त भारतीले तरकारी खेती उत्पादन भएपनि बजार नपाएपछि माछापालन तर्फ मोडिएको बताए । उनको फर्ममा कृषि विकास निर्देशालय सुर्खेतबाट १४ लाख लागतमा डिपबोरिङ समेत खनिएको छ । वीरेन्द्रनगरमा पानीको हाहाकार भएको बेला उनको डिपबोरिङबाट दैनिक २ लाख लिटर बढी पानी खेर गईरहेको सञ्चालक भारतीले जानकारी दिए ।
वीरेन्द्रनगर–११ धुलियाविटमा निर्माणाधिन अवस्थामा रहेको सनलाईट कृषि तथा पशुपंक्षी फर्मले पशु तथा पंक्षीका लागि आवश्यक पर्ने सबैखाले दाना उत्पादनका लागि पूर्वाधार निर्माण तथा मेसिनरी खरिदमा १ करोड ५० लाख अनुदान प्राप्त गरेको छ । २०७७ सालदेखि निर्माण कार्य सुरु गरिएको फर्मले २०७९ भदौंबाट दाना उद्योग सञ्चालनमा ल्याउने तयारी गरेको उद्योगका सञ्चालक डम्मर तिवारीले जानकारी दिए ।

उनले भने “आफ्नै ७ कठ्ठा जग्गामा दाना उद्योग निर्माण गरिरहेका छौं । प्रति घण्टा ५ टन दाना उत्पादन गर्ने क्षमताको उद्योगमा सुरुमा ५ करोड लगानी भएपनि सञ्चालनमा ल्याउँदासम्म २१ करोड लगानी पुग्ने देखिन्छ ।” कर्णाली, लुम्बिनी, सुदुरपश्चिम प्रदेशसहित देशभरी उत्पादित दाना विक्रि वितरण गरिने सञ्चालक तिवारीको भनाई छ ।
नेपाली सेनाबाट सेवा निबृत्त भएका सुवर्ण भण्डारीले भेरीगंगा न.पा.–१३ रामघाटमा भण्डारी कृषि तथा पशुपंक्षी माछा फर्मबाट भैसीपालन सुरु गरेका छन् । ३५ लाखबाट सुरु भएको उनको गाई, भैँसी पालनमा हालसम्म १ करोड १० लाख लगानी पुगिसकेको जानकारी दिए ।

फर्ममा हाल ७ वटा गाई, २७ वटा भैँसी रहेका छन् भने दैनिक १५० लिटर दुध बजारमा पठाइएको जनाइएको छ । उक्त फर्मलाई प्राङ्गारिक मल उत्पादनमा पशु सेवा निर्देशनालयले ७ लाख ५० हजार अनुदानमा मेसिन खरिद गरिएको जनाइएकोछ ।
गुर्भाकोट नगरपालिका वडा नं. २ मालारानीको हरियाली कृषि बजार सहकारी संस्था लि. ले भवन निर्माण तथा चिलिम भ्याट, डि फ्रिज खरिदमा अनुदान प्राप्त गरेको छ । पशु सेवा निर्देशनालयबाट २३ लाख अनुदान प्राप्त गरेको सहकारीका सचिव नन्दलाल भुसालले जानकारी दिए ।

चिलिम भ्याट, डि प्रिज राखेपछि क्षमता अनुसार दुध उत्पादन हुन नसकेपछि सहकारीले भैसीँ खरिद गरी ५२ जना कृषकलाई वितरण गरेको छ । ४२ लाख अनुदानबाट भैँसी खरिद गरेर वितरण भएपछि दैनिक २ सय लिटर दुध संकलन हुने गरेकोमा बृद्धि भएर दैनिक ६५० लिटर दुध संकलन भैरहेको सचिव भुसालको भनाई छ ।
मालारानीमा उत्पादन भैरहेको दुध दैनिक वीरेन्द्रनगर बजारका हाम्रो डेरी उद्योग, प्रकाश डेरी उद्योग र वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाद्धारा सञ्चालित वातावरण डेरीमा खपत भैरहेको जनाइएकोछ ।
अनुदान प्राप्त कृषि फर्म तथा सहकारीहरुको अनुगमनमा कृषि सेवा निर्देशनालय सुर्खेतका प्रमुख चित्र बहादुर रोकाय, पशु सेवा निर्देशनालयका निमित्त कार्यालय प्रमुख मोहन गिरी, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रतिनिधि कमल विश्वकर्मा, पत्रकार लगायतको सहभागिता रहेको थियो ।







