घुम्दैफिर्दै : कर्णालीमा मर्दै र बाँच्दैको यात्रा

दुर्गालाल केसि
सुर्खेत,१७ मंसिर ।
कर्णाली अञ्चलको यात्रा प्राय कष्टकर, अनिश्चित र जोखिमपूर्ण नै हुन्छ । पैदलमार्गलाई मृत्यु मार्ग मानिन्छ भने हवाई मार्गमा पनि अनिश्चित र जोखिम नै । कठिन भूगोलका कारण सडक मार्ग असुरक्षित ठानिन्छ भने जहाज उड्ने टुंगो नहुने समस्याका कारण हवाईमार्ग अनिश्चित । सिंगल ईञ्जिन जहाजका कारण जोखिम र त्रास त्यत्तिकै ।
विमानस्थलमा आएर कु¥यो, घण्टौं कुर्दा पनि जहाज उड्ने टुंगो नलाग्ने । कहिलेकाहीं कुर्दाकुर्दा थाकेको बेला फेरी फर्केर बास बस्ने ठाउँमा जानुपर्ने । कहिलेकाहीं एउटा उडानका लागि कयौं दिन कुर्नुपर्ने बाध्यता हुन्छ । त्यसमा पनि बेला बेला खसिरहने सिंगल ईञ्जिन जहाजले सातो लिने नै भए ।
कालिकोटको चिलखायामा खसेको जहाज होस् या कर्णाली नदीमा फालिएको, आकाशमा उड्नेबित्तिकै हरेक घटनाले टाउको घुमाउन थाल्छन् । गन्तव्य नपुग्दासम्म जीवन रहन्छ रहँदैन भन्ने त्रासले सताइरन्छ । यती धेरै जोखिमका बीच कर्णालीका कुनै जिल्ला पुग्नु आफैमा कठिन र चुनौतीपूर्ण छ ।

मैले पत्रकारिता जीवनका दौरानमा कर्णालीका पाँचै जिल्ला पुग्ने अठोटका साथ यात्रा थालें र तीन बर्षको अन्तरालमा सबै जिल्ला पाइला टेक्न पाएँ । यो आफैमा गर्व र रोमाञ्चक क्षण थियो । यात्रामा सुविधाजनक र कम जोखिमपूर्ण साधन या उपाय केही रोजिएन । जे जे विकल्प छन् त्यसैलाई टेकेर त्यहाँ पुगियो र त्यसैगरी फर्किइयो ।
कतै पैदल यात्रा त कतै गाडी, जहाज र हेलिकोप्टर । यात्राको रोमाञ्चक अनुभवका रुपमा कर्णालीमा प्रयोग हुने सबै यातायातका साधनको प्रयोग गरियो । पुग्नुअघि र फर्कनुअघिका पट्यारलाग्दा कुराइहरु त बिर्सन नसकिने नै छन् । जहाँ जे पाइन्छ त्यसैको उपयोग गरेर यात्रा सम्पन्न भए ।
यात्रामा भोगेका कठिनाइ र जोखिमहरु जीवनका महत्वपूर्ण सम्झनाहरु रहे । मुगुबाट शुरु भएको यात्रा डोल्पा, हुम्ला, जुम्ला हुँदै कालिकोटबाट टुंगियो । २०७० सालमा कर्णालीको मुगु जिल्लामा पहिलो पाइला परेको थियो । मुगुको मगगढी पुग्न नेपालगञ्जबाट सिंगल ईञ्जिन जहाजमा उड्नुपर्ने थियो ।
सडक पुग्दै थियो, गाडी चलेको थिएन । जहाज नचढी अरु कुनै विकल्प थिएन। नेपालगञ्ज पुग्नेबित्तिकै कर्णालीको विकटता र कठिनाइ महशुस हुन थाल्यो । दुई दिन कुर्दा पनि जहाज उडेन । हरेक दिन उडाउँछु भन्दै फर्काउँदै गर्दा यात्रुलाई साह्रै सास्ती हुँदो रहेछ ।
अन्तिम समयसम्म पनि उड्ने नउड्ने थाहा हुँदो रहेनछ । अधिकांश कुरा पाइलटको मुड र एयरलाइन्सको स्वार्थमा भर पर्ने रहेछ । धेरै सामान र पैंसा पाए एक ठाउँ उड्न ठिक्क परेको जहाज अर्को ठाउँमा पनि उड्दो रहेछ । अनि यात्रुलाई हावा चलेको रहेछ उडाउन नसकिने भयो भनेर फर्काइदिने रहेछन् ।
टिकट पनि उड्ने बेला मात्रै हतार हतार काट्दा रहेछन् । जहाज नउड्दासम्म गन्तव्यमा पुग्ने नपुग्ने केही टुंगो नलाग्ने । दुई दिनको पर्खाइपछि बल्ल जहाज उड्यो । जहाजभित्र न एयर होस्टेज न कोही जहाजबारे जानकारी दिने मान्छे ? कतिपय बेला त जहाज अवतरण हुने स्थान परिवर्तन गरेर भाडा उठाउने काम समेत पाइलट आफैले गर्दा रहेछन् ।
मुगुबाट फर्कदा सुर्खेत अवतरण गर्ने भनेको जहाज नेपालगञ्ज पुग्यो र पाइलट आफैले यात्रुबाट थप एक हजार रुपयाँ उठाए । यसअघि भोगेका साथीहरुले भन्दै थिए—नाम मात्रै जहाज हो, थोत्रो बसभन्दा केही फरक छैन, बोरा र मानिस सँगै कोच्ने हो, पंखा ठोकठाक पारेर चलाउँछ, कर्णाली पुगेपछि फेरी ठोकठाक पारेर फर्काउँछ ।
यस्ता कुरा सुनेपछि पुगिन्छ की पुगिदैन भन्ने चिन्ता बढिरहेको थियो । घर फर्कन पाइन्छ की पाइदैन भन्ने त्रासले सताइरह्यो । धन्न साथमा सहकर्मी साथी जेएन सागर भएकाले गफ गर्दै मन बुझाउन सजिलो भयो । कर्णाली यात्रामा साथीसँग हिड्न पाएको यो नै एकमात्र अवसर थियो ।
अन्य सबै जिल्लाको यात्रा एक्लै भयो । कुरा गर्ने र चित्त बुझाउने साथी कोही हुँदैनथे । एक्लोपन र छटपटीले खुबै सताउँथ्यो । एक घण्टा आकाशमा उडेपछि मुगुको ताल्चा बिमानस्थल ओर्लन पाइयो । अब चिन्ता थियो फेरी समयमै फर्कन पाइन्छ की पाइदैन भन्ने, नभन्दै फर्कदा पनि तीन दिन कुरेर मात्र जहाज पाइयो ।
बिरामी र आपतकालिन आवतजावत गर्नुपरेकालाई त कर्णाली यात्रा पिडा भोग्ने थलो रहेछ । कठिनताका साथ विमानस्थलमा ओर्लेपछि कर्णालीको अर्को दुर्दशा देखियो ।
पत्रकार के.सीको ब्लगबाट लिइएको यो यात्राको बाँकी अंश क्रमशः शनिबारको अंकमा





