अधुरै रह्यो फायर वाचिङ् भ्यू टावर

पुनम वि सी
सुर्खेत, १७ भदाै ।
- क्रमागत बजेट विनियोजन हुन्छ, खर्च हुदैन
- निर्माण उपभोक्ता समितिले
भने ऋण तिर्न बाँकी नै छ ।
वीरेन्द्रनगर–११ स्थितदेउतीबज्यै सामुदायिक वन क्षेत्रमा निर्माण सुरु गरिएको भ्यू टावर अहिलेसम्म पनि निर्माणको काम पूरा हुन सकेको छैन। प्रत्येक आर्थिक वर्ष भ्यू टावरका लागि कर्णाली प्रदेश सरकारले बजेट विनियोजन गर्छ, तर खर्च हँुदैन । आ.व २०७५/०७६ मा कर्णाली प्रदेश सरकारले ‘देउतीमाई फायर वाचिङ्ग भ्यू टावर’ निर्माणका लागि २६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सो पछि गरी प्रत्येक आर्थिक वर्षमा बजेट विनियोजन भयो तर खर्च भने ज्यादै न्यून छ ।

भ्यूटावर निर्माण उपभोक्ता समिति अध्यक्ष रत्नबहादुर चन्दले भने, ‘बजेट आएपनि हामीले काम गर्न सकेका थिएनौँ । असारमा आएर मात्र काम गर्नलाई स्वीकृती आउँथ्यो । असारमा मात्र कसरी काम गर्ने ?’ चन्दका अनुसार आ.व २०७५/०७६ मा प्रदेश सरकारबाट २६ लाख बजेट विनियोजन भएको थियो । सो समयमा निर्माण उपभोक्ता समितिले करिव आठ लाख ४७ हजार रुपैयाँ बराबर खर्च गर्न सकेको चन्द बताउँछन् । त्यसपछि अर्को आर्थिक वर्षमा १५ लाख रुपैयाँ बराबरको खर्च गरियो ।
आ.व २०७५/०७६ मा ‘ फाउन्डेसन’ निर्माण गरिएको यो टावरका लागि प्रदेश सरकारले २०७६/०७७ मा ४५ लाख बजेट विनियोजन गरेको थियो । यसरी प्रदेश सरकारबाट करिव २३ लाख बढी रकम बजेट खर्च भएको छ । यसका साथै निर्माण उपभोक्ता समितिले टावर निर्माणका लागि ऋण तिर्न बाँकी रहेको बताएको छ । ‘हामीले करिव पाँच लाख रुपैयाँ अझै तिर्न बाँकी छ । अध्यक्ष चन्दले भने, वन समितिसँग लिएको सापटी तथा क्रसर उद्योगहरुबाट ल्याएको निर्माण सामाग्रीको भुक्तानी बाँकी नै छ ।’ भ्यू टावर निर्माणका समयमा देउतीवज्यै सामुदायिक वन मार्फत भ्यूटावर निर्माण उपभोक्ता समितिले तीन लाख रुपैयाँ नगद सापटी लिएको थियो ।
जुन रकम हालसम्म पनि भुक्तानी भएको छैन । टावर निर्माणमा रकम अभाव भएको र निर्माण बिल पास भएपछि भुक्तानी गरिने शर्त वन उपभोक्ता समितिको कोषबाट रकम लिइएको जानकारहरु बताउँछन् । देउतीवज्यै सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टोपबहादुर खड्काले भने, ‘हाम्रो वन उपभोक्ता समितिको कोषमा भएको रकम उहाँहरुले सापटी लिनुभएको रहेछ । त्यो अहिलेसम्म पनि भुक्तानी भएको छैन ।’ वन उपभोक्ता समितिको कोषमा रहेको रकम कुन प्रयोजनका लागि तथा कुन आधारमा दिईएको विषयमा भने उनले अनविज्ञता प्रकट गरे ।
‘मेरो नेतृत्वमा अहिले नयाँ उपभोक्ता समिति छ । हामीभन्दापहिलेको उपभोक्ता समितिले नगद सापटी दिएको रहेछ । समितिको लेखापरीक्षण गर्दा तीन लाख रुपैयाँ सापटी दिएको देखिन्छ । उहाँहरुले बजेट आएपछि फिर्ता गर्छौ भन्नुभएको छ’, उनले भने । उपभोक्ता समिति मार्फत २०७५/०७६ यता निर्माण सुरु भएको भ्यु टावरमा हालसम्म करिव २८ लाख रुपैयाँ खर्च
भईसकेको छ । वीरेन्द्रनगर नगरपालिका–११ उक्त क्षेत्रमा प्रदेश सरकारको उद्योग, वन तथा पर्यटन मन्त्रालयको बजेटबाट ‘वाचिङ फायर भ्यूटावर’ निर्माण भइरहेको हो । देउती सामुदायिक वन क्षेत्रको अग्लो डाँडामा बनाउन लागिएको टावरको मुख्य उद्देश्य नै डढेलो लागेको वन क्षेत्र अवलोकन हो । चालू आर्थिक वर्षका लागि समेत कर्णाली प्रदेश सरकारले उक्त भ्यू टावर निर्माणका लागि क्रमागत रुपमा पुन: २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
कर्णाली प्रदेश सरकारले पर्यटन प्रर्वद्वन कार्यक्रम/पर्यापर्यटन विकास शीर्षकमा भ्यूटावरका लागि बजेट विनियोजन गरेको हो । यसअघि उक्त भ्यू टावर निर्माणका लागि ६५ लाख रुपैयाँ खर्च हुने इष्टिमेट भएको थियो । चार तल्ला र त्यसको माथि ट्रस निर्माण गर्ने योजना छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष चन्दले भने, ‘अहिलेसम्म तीन तल्ला भएको छ । चार तल्लाको बनाएपछि त्यस माथि हुने ट्रसबाट अवलोकन गर्न सकिने व्यवस्था हुने योजना हो ।’ चालू आर्थिक वर्षको बजेट कार्यान्वयन भए निर्माण सम्पन्न हुने उनले जानकारी दिए ।
जिल्लाका तीन स्थानीय तह अवाेलकन
देउतीमाई फायर वाचिङ्ग भ्यू टावरबाट सुर्खेतका तीन स्थानीय तहको जंगल क्षेत्र अवलोकन गर्न सकिन्छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका, भेरिगंगा नगरपालिका र लेकवेशी नगरपालिकाको वन क्षेत्र अवलोकन गर्न सकिने डिभिजन वन कार्यालयका वन अधिकृत सूर्यप्रसाद शर्माले जानकारी दिए । ‘टावर मार्फत तीन वटा स्थानीय तहका वन क्षेत्र अवलोकन गर्न सकिन्छ । यसले वनमा लाग्ने डढेलो नियन्त्रणमा सघाउँ पुग्छ’, उनले भने ।






