क्रोएसियालाई हराउँदै स्पेन युरो कपको अन्तिम आठमा

एजेन्सी । स्पेन युरो कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कोपनहेगनमा सोमबार राति भएको प्रि(क्वाटरफाइनलमा तीन पटकको च्याम्पियन स्पेन क्रोएसियालाई ५-३ गोल अन्तरले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको हो।
रोमान्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे।क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो।
पार्केन एरिनामा सुरुवाती अग्रता क्रोएसियाले अग्रता बनाएको थियो। क्रोएसियाले २० औं मिनेटमा आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो। पेड्रीको ब्याक पासमा स्पेनका गोलकिपर उनाई सिमोनले आत्मघाती गोल गरेका थिए।
युरोपियन च्याम्पियनसिपमा आत्मघाती गोल गर्ने उनी चौंथो गोल किपर हुन्। यस्तै जारी प्रतियोगिताको यो नवौं आत्मघाती गोल हो।
तर, खेलको ३८ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई १-१ गोलको बराबरीमा ल्याए। खेलको ५७ औं अज्पिलिकुइटाले गोल गर्दै स्पेनलाई २-१ गोलको अग्रता दिलाए। उनले फेरान टोरेसमा क्रसमा हेडमार्फत गोल गरेका हुन्। डिफेन्डर अज्पिलिकुइटाको यो स्पेनको लागि पहिलो गोल हो।
खेलको ७७ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ३-१ को अग्रता दिलाए। ८५ औं मिनेटमा क्रोएसियाका परिवर्तित खेलाडी मिस्लाभले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए। उनी ६७ औं मिनेटम एन्टी रेबिकको स्थानमा मैदान प्रवेश गरेका थिए।
खेलको इन्जुरी समयको दोस्रो मिनेटमा क्रोएसियाका परिवर्तित खेलाडी मारियोले गोल गर्दै खेल ३(३ को बराबरीमा ल्याए। निर्धारित समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। ३० मिनेटको अतिरिक्त समयमा स्पेनले दुई गोल थप्यो।
खेलको १०० औं मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई ४-३ को अग्रता दिलाए। त्यसपछि खेलको १ सय ३ औं मिनेटमा मिकेलले ओल्मोकै पासमा गोल गर्दै स्पेनलाई ५(३ गोलको रोमान्चक जित दिलाए। यससँगै स्पेन क्वाटरफाइनलमा पुग्ने पाँचौं टिम बनेको छ। क्रोएसिया भने अन्तिम १६ बाट बाहिरिएको छ।
अब स्पेनले अन्तिम आठमा स्विट्जरल्यान्डसँग खेल्नेछ।






