कर्णालीमा विकास माग्दै काठमाण्डौंमा पञ्चेबाजा बजाइने


जुम्ला : जुम्लाबाट निर्वाचित प्रतिनिधिसभाका सांसद गजेन्द्रबहादुर महतले कर्णालीको विकासप्रति राज्यको ध्यान पु¥याउन संघीय राजधानी काठमाडौंमा पञ्चेबाला बजाउने भएका छन् । जुम्लामा विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुगे पनि सदरमुकाम खलंगा बजार आसपासका गाउँमा मात्र पुगेको छ ।
अझै यहाँका धेरै गाउँबस्तीमा विद्युत्को प्रसारण लाइन पुग्ने सकेको छैन। ‘देशमा राजनीतिक दलका नेता परिवर्तन भए तर कर्णाली राजमार्गको स्तरोन्नति कहिले भएनन् । यी सबै समस्य बोकेर सरकारसामु दबाबमूलक कार्यक्रम घोषणा गरेका हौँ’, महतले भने । साविकको कर्णालीबाट हरेक सवालमा राज्य बेखबर भएकाले संघको राजधानीमै खबरदारी गर्नुपरेको उनको भनाइ छ ।
सांसद महत यो पटक फरक शैलीको आन्दोलनको स्वरूप लिएर काठमाडौँ पुगेका छन् । स्थानीय पञ्चैबाजा र झाँकी लिएर नेपाल विद्युत् प्राधिकरण एवं सडक विभागको कार्यालयमा प्रदर्शन र मागपत्र पेस गरिने उनले जानकारी दिए । आउँदो २१ र २२ मंसिरमा स्थानीय बाजागाजासहित झाँकी नाच्दै ¥याली निकालिने भएकाले काठमाडौंमा रहेका सबै जुम्लाबासीलाई रत्नपार्कमा उपस्थित हुन उनले अपिल गरेका छन् । ‘अब शान्तिपूर्ण झाँकी ¥यालीसहित कर्णालीले आफ्ना माग राख्नेछ ।
२१ मंसिरमा नेपाल विद्युत् प्राधिकरणको भवन अगाडि झाँकी प्रदर्शन गर्दै मागपत्र पेस गर्ने कार्यतालिका छ’, उनले भने । जुम्लामा राष्ट्रिय प्रसारण लाइन जोडिइसकेको छ । तर, गाउँ– गाउँसम्म बिजुली पुग्न सकेको छैन । घरघरमा बिजुलीको लाइन विस्तार गर्न, बिजुलीका मिटर, पोल, तार र ट्रान्सफर्मर व्यवस्थापन गर्न माग गरिने सांसद महतले बताए ।
२२ मंसिरमा सडक विभाग पाटनढोकाअघि झाँकी प्रदर्शनसहित मागपत्र पेस हुनेछ । सुर्खेत–जुम्ला कर्णाली राजमार्ग स्तरोन्नति र नाग्म, सिँजा हुँदै गमगडी जाने सडकको स्तरोन्नति यथाशीघ्र थालनी गर्न माग गरिने सांसद महतले जानकारी दिए ।






