विद्युतीय तारमा कपडा सुकाउँदा करेन्ट लागेर गर्भवतीको मृत्यु

सुर्खेत । जाजरकोटमा करेन्ट लागेर एक गर्भवतीको मृत्यु भएको छ। विद्युतीय तारमा कपडा सुकाउन खोज्दा नलगाड नगरपालिका–१०, रग्दाकी २३ वर्षीया रमिता धारको मृत्यु भएको हो ।
शनिबार करेन्ट लागेको उनको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। करेन्ट लागेर घाइते भएकी उनलाई स्थानीयले रुकुमपश्चिमको आठबीसकोट नगर अस्पतालमा उपचारका लागि पुर्याएका थिए ।
तर, उपचारकै क्रममा आइतबार बिहान १ बजेतिर मृत्यु भएको थियो। विद्युत्को तारमा करेन्ट हुन्छ भन्ने थाहा नपाएका कारण उनी तारमा कपडा सुकाउन पुगेकी थिइन् ।
करेन्ट लागेर कराएपछि उनलाई बचाउन पुगेका २५ वर्षीया प्रमिला ध्यार र ६५ वर्षीया बेलु ध्यार घाइते भएका थिए। उनीहरू नगर अस्पतालमा उपचारपछि आइतबार बिहान मात्रै डिस्चार्ज भएको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए।






