सडकसँग जोडिए दुर्गम बस्ती नागरिकको जीवनस्तरमा सुधार

सुर्खेत, ९ असोज । कुनैबेला यातायातको सुविधा नहुँदा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु रोग, भोक र अभावको पर्यायबाचीका रुपमा चिनिन्थे । तर हिजोआज यस क्षेत्रका पहाडी जिल्लाहरुको पहिचान बदलिएको छ । पश्चिम पहाडले पनि विस्तारै विकास र समृद्धिको खाका कोर्न थालेको छ ।

सडक सुविधा नभएकै कारण वषौंसम्म कष्टकर जीवन विताउन बाध्य यहाँका नागरिकको जीवनस्तरमा सुधारका संकेत देखिएका छन् । दुर्गम र विकट मानिने गाउँहरु अहिले बजारमा परिणत भएका छन् । दुर्गम बस्तीमा मोटर गुड्न थालेका छन् । छाक टार्न धौधौ हुने किसानले पनि आफ्नो उत्पादन बिक्री हुन थालेपछि अचेल व्यवसायीक रुपमा खेती गर्न थालेका छन् ।

पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग निर्माण भएपछि दुर्गम गाउँमा पनि मोटर गुड्न थालेका हुन् । यो लोकमार्गको निर्माणसँगै कर्णाली र सुदूरपश्चिमको पहाडमा विकासको ढोका नै खुलेको छ । यहाँका दुर्गम तथा विकट बस्तीहरु मध्यपहाडी लोकमार्गमा जोडिएका छन् ।
दुर्गम बस्तीहरु लोकमार्गमा जोडिएसँगै अभावमा रुमलिएको देशको पश्चिम पहाड पनि समृद्धितर्फ लम्किन थालेको हो । मध्यपहाडी लोकमार्गले कर्णालीका पहाडी जिल्लाहरु रुकुमपश्चिम, जाजरकोट र दैलेखका दुर्गम बस्तीलाई जोडेको छ ।

साथै सुदूरपश्चिमका अछाम, डोटी, डढेलधुरा र बैतडी हुँदै भारतको सिमाना झुलाघाटसम्म पुगेको यो लोकमार्गका कारण सर्वसाधारणको जीवनस्तरमा नै सुधार आएको छ । लोकमार्गको अधिकांश क्षेत्रमा ग्राभेलिङको काम सकिएको छ । धेरै स्थानमा कालोपत्रे र स्तरोन्नतीको काम पनि सकिएको छ ।
यसकारण पनि लोकमार्गमा सवारी साधन गुड्न थालेका छन् । लोकमार्गको निर्माणसँगै दुर्गम बस्ती जोड्ने दर्जनौं सहायक सडकहरु पनि खनिएका छन् ।

यसले दुर्गममा सडक संजाल विस्तार, पैदल हिँड्नुपर्ने बाध्यताको अन्त्य, बिरामी हुँदा एम्बुलेन्सको सुविधा र कृषि उत्पादनले पनि बजार पाउन थालेका दैलेख वेस्ताडाका पूर्ण नेपालीको भनाइ छ ।
आर्थिक बर्ष २०७९÷२०८० सम्म निर्माण सक्ने लक्ष्य लिएको यो आयोजनाले रुकुमपूर्वदेखि अछामसम्मको खण्डमा हालसम्म चार अर्ब ४३ करोड खर्च भईसकेको जनाएको छ । हाल विभिन्न ठाउँमा ग्राभेल गर्ने, मेसिनरी वाल र ग्याबिन जाली भर्ने, सडक चौडा बनाउने, नाला निर्माण लगायत काम भइरहेको छ ।

सरकारी सुविधा विस्तार

लोकमार्ग संचालनमा आएसँगै सडक छेउमा मानिसको बस्ती बाक्लिदै गएको छ । लोकमार्ग अन्तर्गत दिन प्रतिदिन सहर विस्तार हुन थालेपछि सेवा र सुविधा पाउने अपेक्षासहित मानिसहरु बस्ती सर्नेक्रम पनि बढेको हो । अर्कोतर्फ जग्गाको मूल्य पनि बढ्दै गएको छ । लोकमार्ग छेउमा सहर स्थापना भएपछि सरकारी संयन्त्रहरु पनि पुगेका छन् । यसले स्थानीयलाई सरकारी सेवा लिन घण्टौसम्म हिँड्नुपर्ने बाध्यता टरेको रुकुम चौरजहारीका वीरबहादुर वलीले बताए ।

सरकारी र अन्य सेवा लिन जिल्ला सदरमुकाम नै पुग्नुपर्ने बाध्यता हाल टरेको छ । लोकमार्गमा विकास भएका सहरमा बैंक पुगेका छन् । बिजुली र खानेपानीको सुविधा पनि पुगेको छ । सुरक्षाका लागि प्रहरी चौकी र उपचारका लागि सरकारी तथा नीजि क्षेत्रबाट अस्पताल र मेडिकलहरु स्थापना भएका छन् । यसले नागरिकलाई बिरामी हुँदा उपचारका साथै सुविधा र सेवा उपलब्ध भइरहेको छ । यस्तै बस्ती बाक्लो भएपछि सडक छेउमा विद्यालय र क्याम्पसहरु पनि खुलेका छन् । लोकमार्गका कारण किसानले उत्पादन गरेको स्थानीय कृषिजन्य बस्तुहरुले बजार पाउन थालेका छन् भने दैनिक उपभोग्य बस्तुको आपुर्तिमा पनि सहजता भएको छ ।

बजारमा परिणत हुँदै गाउँ

सडकको पहुँच विस्तार भएसँगै पश्चिम पहाडका दर्जनौं गाउँहरु बजारमा परिणत हुन थालेका छन् । यस्तै लोकमार्ग छेउमा अहिले दर्जनौं नयाँ सहर विकास भएका छन् । यो लोकमार्गको छेउमा विस्तार भएका सहरका कारण स्थानीयमा विकासको आशा पलाएको छ भने उनीहरुको आर्थिक अवस्थामा पनि सुधार भइरहेको छ ।

लोकमार्ग संचालनमा आएपछि दैलेखको राकममा नयाँ सहर विस्तार भएको छ । राकममा दैलेख, कालिकोट र अछामबाट मानिसहरु बस्ती आएका छन् । राकम यो कर्णालीकै नमूना सहरका रुपमा स्थापित हुने क्रममा छ । रुकुमपश्चिममा पनि नयाँ सहर जन्मिएको छ ।
जिल्लाको चौरजहारीमा सहर स्थापना भएको हो । यसअघि गाउँको रुपमा रहेको चौरजहारीमा मध्यपहाडी लोकमार्ग खुलेपछि बजार फस्टाएको छ । यो सहरमा रुुकुम, जाजरकोट, रोल्पा र सल्यानबाटसमेत मानिसहरु व्यापारका लागि पुगेका छन् ।

दैलेखको वेस्तडा सानो गाउँ थियो । तर लोकमार्ग खुलेपछि यहाँ बजारमा परिणत भएको छ । बजार विस्तारसँगै स्थानीयको आयआर्जनमा पनि बृद्धि भएको दैलेखका हंसबहादुर शाहीले बताए ।
यही लोकमार्ग अन्तरगर्त जाजरकोट र दैलेखको सिमा क्षेत्र सुयडा, बेस्तडा, सान्ताडा, चगत्रा बगर, लैनचौर र जम्बुकाँधमा पनि बजार विस्तार भएका छन् ।

सडकसँग जोडिए दुर्गम बस्ती नागरिकको जीवनस्तरमा सुधार

सागरभित्र सास फेर्दै निर्दोष जीवन

सडकसँग जोडिए दुर्गम बस्ती नागरिकको जीवनस्तरमा सुधार

अरिङ्गालको टोकाईबाट एक जनाको मृत्यू

Leave a comment

Your email address will not be published. Required fields are marked *