कम्युनिष्ट विसर्जन रोक्न नयाँ पार्टी : एकीकृत समाजवादी

काठमाडौं : माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता नचाहेपछि नयाँ पार्टी गठन भएको बताएको छ।
पार्टीलाई विसर्जन हुनबाट जोगाएर नेकपा (एमाले) को पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाल कम्युनिष्ट समाजवादी गठन गर्न अग्रसर भएको पार्टीको घोषणापत्रमा उल्लेख छ।
घोषणापत्रमा लेखिएको छ, ‘हामीले पार्टी एकता जोगाउन निरन्तर प्रयत्न गर्यौँ, तर केपी ओली पक्षले कुनै हालतमा पनि एकता गर्न नचाहेपछि पार्टीलाई विसर्जन हुनबाट जोगाएर एमाले को पुनर्गठन एवम् रूपान्तरण गर्दै नेपाली कम्युनिष्ट समाजवादी गठन गर्न अग्रसर भएका छौँ।’
नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा दुईवटा महाधिवेशनबाट पार्टीको नीति पारित गरेको, तर नेतृत्वमा भने महाधिवेशनबाट पारित नीतिको पक्षमा नरहेको व्यक्तिलाई चयन गर्ने काम भएको घोषणापत्रमा उल्लेख छ।
‘पार्टीको दोस्रो महाधिवेशनले गणतन्त्रात्मक नीति पारित गरेको थियो भने नेतृत्वमा गणतन्त्रात्मक नीतिका विरोधीहरूको टीमलाई छानेको थियो, जसले महाधिवेशनबाट पारित नीति कार्यान्वयन नगरी पार्टीलाई दक्षिणपन्थी दिशामा लगेको थियो र अन्ततः पार्टी विभाजित भएको थियो,’ घोषणापत्रमा उल्लेख छ‚ ‘नवौँ महाधिवेशनमा पनि त्यस्तै भयो।
मुलुकलाई वैज्ञानिक समाजवादको दिशामा अगाडि बढाउने पार्टी नीति पारित गरेको त्यस महाधिवेशनबाट पार्टीको प्रमुख नेतामा त्यस नीतिका विरोधी व्यक्तिलाई चयन गर्यो, जसले महाधिवेशनका निर्णय बोक्दै बोकेनन्।’
एमाले अध्यक्ष ओली महाधिवेशनप्रति इमान्दार नरहेको आरोप पनि एकीकृत समाजवादीले लगाएको छ। महाधिवेशनका निर्णय पालना नगरी आफूखुसी चल्ने काम गरेकाले पार्टीमा गम्भीर मतभेद उत्पन्न हुँदै गएका सो पार्टीको घोषणापत्रमा उल्लेख छ।
एमाले र माओवादी केन्द्रबीच एकता गरी निर्माण भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अध्यक्षका रूपमा रहँदा पनि ओली पार्टीको नीति र विधिअनुसार कहिल्यै नचलेको आरोप समाजवादीले लगाएको छ। प्रधानमन्त्रीसमेत रहेका उनले सरकार पनि पार्टी नीतिअनुसार चलाउन नसकेको दाबी गरिएको छ।
पार्टीभित्रको मतभेद र विवादले गर्दा २०७७ पुस ५ मा असंवैधानिक ढङ्गले प्रतिनिधि सभाको विघटन सिफारिस गरेपछि उक्त विवाद चरमचुलीमा पुगेको र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राजनीतिक रूपले दुई भागमा विभाजित भएको स्मरण गराएको छ।
घोषणापत्रमा एमाले ब्यूँतिएपछि पनि ओलीले नवौँ महाधिवेशनका निर्णयहरू उल्टाउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने जस्ता निर्णय गरी नेकपा (एमाले) लाई विभाजनमा धकेलिरहेको आरोप लगाइएको छ।
२०७७ चैत ४ र ५ मा राष्ट्रिय कार्यकर्ता भेला गरेर गम्भीर एवम् गहन रूपमा छलफल गरी ‘नेकपा एमालेको एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने आह्वान गरेपनि ओली पक्षले एकताका लागि पहल गर्नुको सट्टा निरन्तर रूपमा विभाजनकारी क्रियाकलाप अगाडि बढाइरहेको उल्लेख छ।
साङ्गठानिक हिसाबले विभाजनकारी गतिविधि गरेको मात्र होइन पार्टीले अँगालेका सिद्धान्त एवम् विचार र नवौं महाधिवेशनले तय गरेको कार्यादेशलाई समेत लत्याउने तथा पार्टी विधानको पूरै उल्लंघन गर्ने जस्ता कार्य गरी पार्टीलाई विसर्जनको दिशामा धकेल्ने काम गम्यो घोषणा पत्रमा भनिएको छ।






