शिलान्यास भएको पाँच वर्ष वित्दा पनि बनेन पक्की पुल

सुर्खेत । सुर्खेतको लेकवेशी नगरपालिका वडा नं. ५ की मनिता बुढा गत साउनको दोस्रो सातातिर छोरी लिएर नजिकैको रामघाट बजारको साइत गरिन् । तर बजार पुग्न झोलुङ्गे पुल तर्नुको विकल्प थिएन । जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुलमा हिँड्दै गर्दा पुलको पाता उप्किएको ठाउँबाट छोरीको खट्टा चिप्लियो ।
खुट्टा छि¥यो । हत्तपत्त उनले छोरीको खुट्टालाई माथितिर तानिन् । उनी ठूलो दुर्घटनाबाट बचिन । ‘छोरी अघिअघि थिइ, म पछिपछि’ उनले भनिन्, ‘पुलको पाता उप्केजस्तो रैछ, त्यहीँबाट छोरीको खुट्टा छि¥यो, धौ–धौं निकालेँ ।’ भेरीगंगा नगरपालिकाको रामघाट र लेकवेशी नगरपालिकाको दशरथपुर जोड्ने भेरी नदी माथिको झोलुङ्गे पुलमा आम नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
मर्मत सुधारको पर्खाइमा रहेको यो पुलका पाता उप्किएको छन् । नट खुस्केका कारण पुललाई अड्याउने लठ्ठा नै चुडिएका छन् । छेउका जाली पनि च्यातिएको छ । पटक–पटक सरियाले ओल्डीङ्ग गरेर अड्याईएको पुल धराप जस्तै छ ।
२०६० सालतिर तत्कालीन विद्रोही माओवादीले यो पुलको खम्बा नै काटेर ढालेपछि पुर्ननिर्माण त भयो । तर पुलको अवस्था अहिले पनि कमजोर छ । कमजोर झोलुङ्गे पुलमा सयौँ मोटरसाइकल ओहोरदोहोर गरिरहन्छन् ।

तीन वटा स्थानीय तहका नागरिकहरु मात्रै नभएर सुर्खेतकै पूर्वी भेगको ‘सेन्टर प्वाइन्ट’ भएकाले दैनिक चहलपहल भईरहन्छ । ‘नागरिक मात्रै होइन्, दैनिक सयौँ मोटरसाईकल ओहोरदोहोर हुन्छ’ स्थानीय धर्मराज चपाई भन्छन्, ‘संकटकालको बेला पुल ढालेदेखि निकै कमजोर छ, त्यसैमाथि समय समयमा मर्मत सुधार हुनुपर्नै हो ।
त्यो हुनसकेको छैन्, यस्तै जोखिमपूर्ण यात्रा गर्छाै । ’ बालबालिका र वृद्धावृद्धा त पुल हल्लिएर हिँड्नै नसक्ने अवस्थाको बनेको छ । तत्काल पुल मर्मत सम्भार नगरे कुनै न कुनैबेला ठूलो दुर्घटना भएर नागरिकको ज्यानै जाने खतरा छ । यदी जीर्ण अवस्थाको पुल मर्मत सम्भार नगर्ने हो भने पुलको विकल्प खोज्नुपर्ने स्थानीयको माग छ ।
अझै बनेन पक्की पुल
यो स्थानमा झोलुङ्गे पुलको आडैमा २०७३ माघमा पक्की पुलको शिलान्यास गरिएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकै सरकारका भौतिक विकास तथा यातायात मन्त्री रमेश लेखक र पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता पूर्णबहादुर खड्काले पक्की पुलको शिलान्यास गर्दै ‘यस क्षेत्रको विकासले फड्को मार्ने र नागरिकले सुरक्षित यात्रासंगै सुखको अनुभूति गर्ने’ उद्घोष गरे ।
तर नेताहरुले भाषणामा भने जस्तै भएन । नागरिकले कष्टकर यात्रा गर्दै आएका छन् । तर तामझामका साथ शिलान्यास गरिएको पुल पाँच बर्ष वितिसक्दा पनि निर्माण सुरु भएको छैन ।
‘बाजागाजा सहित शिलान्यास गर्दा त नेताहरुले अहिल्यै बनाउने जस्तो गरेर भाषण सुनाएर गए’ स्थानीय खडानन्द तिवारी भन्छन्,‘पुल शिलान्यास गरेदेखि कोही नेताहरु देखा परेका पनि छैनन्, पुल बनाउने पहल पनि गरेका छैनन्, पहल गरेको भए त अहिलेसम्म केही न केही काम सुरु हुनुपर्ने हो ।’
प्रचण्डकै नेतृत्वको सरकारले शिलनयास गरेको र नेता खड्कासमेत शिलान्यासमा उपस्थित बनेको हुँदा अहिले पनि सोही गठबन्धनको सरकार रहेकाले यस क्षेत्रका नागरिकले पक्कि पुल निर्माण हुनेमा झिनो आशा भने मारेका छैनन् ।
अदालतमा मुद्दा
पुल निर्माण गर्ने जग (फाउण्डेशन) कमजोर देखिएपछि डिजाइन रिभ्यु गर्न लगाएको निर्माण कम्पनीले पछिल्लो समय पुलको काम नगर्ने भएको छ । डिजाइन रिभ्यु गर्नै पुल बन्नुपर्ने समय अर्थात तीन वर्ष बढी लाग्यो ।
‘फाउण्डेशन कमजोर देखिएपछि निर्माण कम्पनीले डिजाइन रिभ्युको माग गरेअनुसार डिजाइन रिभ्यु त भयो, तर पछि निर्माण कम्पनीले काम नगर्ने भयो’ सडक डिभिजन कार्यालयका प्रमुख विजयकुमार थापाले भने, ‘अहिले ठेक्का तोडेको अवस्था छ, तर, निर्माण कम्पनी तीन करोड रुपैयाँ दाबीसहित उच्च अदालतमा मुद्धा हालेको हँुदा अहिले पुलको काम अघि बढाउने या नबढाउने भन्ने कुरा अदालतको निर्णयपछि मात्रै निक्र्याैल हुन्छ ।’
पुल निर्माणका लागि कार्यालयले २०७३ माघ ९ गते आशिष जेभी निर्माण कम्पनीसँग २० करोडभन्दा बढी लागतमा सम्झौता गरेको थियो । सम्झौता अनुसार ०७६ माघ १० भित्र सक्नुपर्ने थियो । तर पुलको डिजाइनमै फल्ड भेटिएपछि कामको प्रगति शुन्य छ ।
डिजाईन रिभ्यु पश्चात् समय सिमालाई देखाउँदै घाटा लाग्ने भन्दै पन्छिएको बुझिएको छ । उत्तिबेला नै निर्माण कम्पनीले पेश्की वापत दुई करोड नौ लाख रुपैयाँ लिएको थियो । तर डिजाइा रिभ्युपछि काम नगर्ने निर्माण कम्पनीलाई ब्याजसहित पाँच करोड रुपैयाँ ‘क्लेम’ गर्न सडक डिभिजन कार्यालयले पत्र काटेको छ । पत्रको बेवास्ता गर्दै निर्माण कम्पनीले उल्टै तीन करोड क्षतिपूर्तिको ‘क्लेम’ गर्न अदालत पुगेको हो ।्
दुई मिनेटको बाटोमा डेढ घण्टा !
दशरथपुरबाट रामघाट पुग्न नदी पार गरेर करिव दुई मिनेटमा पुग्न सकिन्छ । तर सवारी साधन (मोटरसाइकल बाहेक) लिएर जानुपरे झण्डै डेढ घण्टा लाग्छ । पक्कि पुल नभएकै कारण रामघाट–दशरथपुर, दशरथपुर–रामघाट पुग्न मेहलकुना भएर जानुपर्ने बाध्यता छ ।
आपतकालीन अवस्थामा विरामीलाई बोकेर झोलुङ्गे पुल तराउनुपर्छ । यदि, एम्बुलेन्समा लैजाने हो भने डेढ घण्टाको घुमाउरो यात्रा गर्नुको विकल्प छैन । जसले गर्दा तत्काल अस्पताल पुर्याउनुपर्ने विरामीले उपचार नपाएर मृत्युको मुखमा पुग्नुपर्ने बाध्यता यस क्षेत्रका नागरिक बेहोर्दै आएका छन् ।
‘दशरथपुरको हेल्थपोष्टले बच्चा अप्ठ्यारो अवस्थामा छ भनेर प्रदेश अस्पतालमा रिफर ग¥यो’ प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुरमा सुत्केरी गराउन आएका स्थानीय गंगा थापाले भने, ‘डाइरेक्ट दशरथपुरमै एम्बुलेन्स बोलाउने हो, समय धेरै लाग्ने, त्यसो भएर स्ट्रेचरमा बोकेर रामघाटसम्म विरामीलाई ल्यायौँ, वीरेन्द्रनगरबाट एम्बुलेन्स तत्काल रामघाट बोलाएर प्रदेश अस्पताल पु¥यायौँ ।’
यस्तै समस्या सर्वसाधारण नागरिकले मात्रै होइन् स्थानीय तहका जनप्रनितिनिधि, प्रदेशका सांसद, मन्त्री, संघका सांसद मन्त्री सवैले बेहोरिरहेका छन् । सांसद, मन्त्री सवार झण्डावाला गाडी समेत रामघाट थन्क्याएर पैदल दशरथपुर पुग्नुपर्ने हुन्छ ।






