सुर्खेतमा चिस्यान केन्द्रदेखि गोठ सुधारमा करोडौं लगानी

सुर्खेत । कर्णाली प्रदेश सरकारले किसानलाई कृषि पेशाबाट आत्मनिर्भर बनाउने प्रयास गरेको छ । जसका लागि सरकारले कृषिमा लगानी बढाएको छ । प्रदेश सरकारले कृषिमा आत्मनिर्भर बनाउन सुर्खेतमा कृषक, कृषक समूह, कृषि सहकारीसँग हातमालो गर्दै करोडौं लगानी गरेको हो ।
आर्थिक बर्ष २०७७÷०७८ मा मात्रै पशुपन्छी विकास निर्देशनालय सुर्खेतबाट प्रदेश सरकारले कृषि क्षेत्रमा कुल चार करोड ३६ लाख ७५ हजार रुपैयाँ लगानी गरेको छ । चिस्यान केन्द्रदेखि गोठ सुधार लगायतका कार्यक्रममा उक्त रकम लगानी गरेको हो । जसमध्ये दाना उद्योगमा मात्रै ५० लाख रुपैयाँ लगानी गरिएको छ । कर्णालीको बजार मागलाई धान्ने गरी वीरेन्द्रनगरस्थित धुलियाबीटमा रहेको सनलाइट पशुपन्छी तथा कृषि फर्ममा उक्त रकम लगानी गरिएको हो ।
उद्योगले माछा बाहेकका पशुपन्छीहरुका लागि दाना उत्पादन गर्नेछ । दैनिक ५० क्वीन्टल दाना उत्पादन गर्नेगरी पूर्वाधार निर्माण थालिएको सञ्चालक डम्बर तिवारीले जानकारी दिए । कम्पनीले तीन करोडको लगानीमा दाना उत्पादनका लागि मेसिन खरिद गरेको छ । झण्डै २५ करोडको लगानीमा सुरु भएको कृषि फर्मलाई सरकारले अनुदान कार्यक्रमबाट उक्त रकम लगानी गरेको हो । उद्योगले सुदुरपश्चिमका अछाम र कैलालीसहित कर्णाली प्रदेशमा दानामा आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
त्यस्तै गोठ सुधार कार्यक्रममा १२ लाख लगानी गरिएको छ । वीरेन्द्रनगर–२ को सञ्जिवनी कृषि तथा पशुपालन सहकारी संस्थालाई उक्त रकम दिएको हो । बराहताल–५ सुन्द्वारीका कृषकलाई २५ वटा घाँस काट्ने मेसिन दिएको छ । सुन्द्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूहबाट घाँस काट्ने मेसिन खरिदका लागि पाँच लाख रकम दिएको हो ।
त्यस्तै तरकारी तथा दुध उत्पादन किसानका लागि चिस्यान केन्द्रमा साढे ४५ लाख रकम लगानी गरेको छ । पञ्चपुरी–५ बाबियाचौरको हाम्रो कृषि तथा पशुपालन सहकारी संस्थालाई २३ लाख ५० हजार र गुर्भाकोट–२ मालारानीको हरियाली कृषि बजार सहकारीलाई २३ लाख रकम दिएको निर्देशनालयले जनाएको छ ।
कुन क्षेत्रमा कति लगानी ?
किसानको आयस्तर बढाउन निर्देशनालयले विभिन्न दश वटा क्षेत्रमा लगानी गरेको छ । कुखुरापालनदेखि इलेक्ट्रोनिक घाँस काट्ने मेसिनमा एक करोड ४० लाख रकम लगानी गरेको हो । जसमध्ये पञ्चपुरी–२ को तोक्मामा एकीकृत पशुपन्छी तथा मत्स्यपालन कृषक समूहलाई १९ लाख ७५ हजार र गुर्भाकोट–५ को हरियाली ताजा तरकारी कृषक समूहलाई १९ लाख रकम दिएको हो ।
दुबै स्थानमा १५/१५ वटा खोर निर्माण तथा चल्ला खरिदका लागि उक्त रकम दिएको निर्देशनालयले जनाएको छ । गुर्भाकोट–१३ गुमीको दिदीबहिनी बंगुरपालन कृषक समूह र बराहताल–५ बड्डीचौरको लखन पशुपन्छीपालन कृषक समूहलाई नौ–नौं लाख रुपैयाँ दिइएको छ । एक स्थानीय तह, एक पशु उत्पादन कार्यक्रम अन्तर्गत सात क्षेत्रमा २०–२० लाखका दरले विभिन्न कृषक समूह र सहकारी संस्थालाई रकम दिएको हो ।
सिम्ताको पिपलचौतारी बाख्रापालन समूहलाई बाख्रा, लेकवेशीको साना किसाना कृषि सहकारी संस्था भैंसी, गुर्भाकोटको दिगो परिवर्तन बाख्रापालन समूहलाई बाख्रा, भेरीगंगाको भेरी पशु तथा कृषि उत्पादन प्रशोधन सहकारी संस्थालाई गाई, चिङ्गाडको चिङ्गाड साना किसान सहकारी संस्थालाई भंैसी, चौकुनेको नवलक्ष्मी साना किसान कृषि सहकारी संस्थालाई भैंसी र वीरेन्द्रनगरको रतु भैंसीपालन समूहलाई भैसी खरिदका लागि २०–२० लाखका दरले रकम दिएको हो ।
१५ किसानलाई ५५ लाख रकम
मुख्यमन्त्री रोजगार कार्यक्रमबाट १५ जना किसानलाई मात्रै साढे ५५ लाख रकम दिइएको छ । कृषि व्यवसाय प्रवद्र्धन कार्यक्रमबाट चिङ्गाड–३ का नन्दवीर सार्कीलाई एकलाख ५० हजार, चिङ्गाड–२ का पूर्णबहादुर थापालाई दुई लाख ५० हजार, चिङ्गाड–६ का दिपिका शर्मालाई एक लाख ५० हजार, भेरीगंगा–६ झिग्नीका मेगीकुमारी नेपालीलाई एक लाख, वीरेन्द्रनगर–१४ राम्चेका परेगबहादुर शाहीलाई दुई लाख ५० हजार, गुर्भाकोट–१३ का इमानसिंह वलीलाई पाँच लाख, भेरीगंगा–६ का कविराम खड्कालाई चार लाख ५० हजार, लेकवेशी–९ चौसारेका टिकाराम सुनार र कृष्णप्रसाद ढकाललाई पाँच–पाँच लाख, लेकवेशी–१० का कृष्णराज हमाललाई दुई लाख ५० हजार, वीरेन्द्रनगर–१३ लामिडाँडाका दुर्गा सार्की, पञ्चपुरी–५ का मनबहादुर कामी, वीरेन्द्रनगर–९ तिलपुरका दिनेश खनाल, वीरेन्द्रनगर–११ का धर्मराज विक, भेरीगंगा–७ झिग्नीका कर्णबहादुर मिजार र लेकबेशी–१० दुबिचौरका भिमबहादुर रावतलाई पनि रकम दिइएको छ । उनीहरुलाई कृषि तथा पशुपन्छी फर्मबाट बाख्राका खोर निर्माण तथा सुधारका लागि रकम दिइएको हो ।
बाख्रा र माछापालनमा एक करोड
कर्णाली प्रदेश सरकारले माछा तथा बाख्रापालनका लागि एक करोडभन्दा बढी लगानी गरेको छ । सुर्खेतलाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक माछा तथा बाख्रापालनका लागि कुल एक करोड १५ लाख रुपैयाँ लगानी गरेको हो । जसमध्ये पञ्चपुरीको पञ्चपुरी माछापालन कृषक समूहलाई मात्रै १० लाख रुपैयाँ दिएको छ ।
लेकवेशीको भगवती कृषि तथा मत्स्यपालन फर्म, सिम्ताको आलीमा घलेना माछापालन फर्म, भेरीगंगाको लिला कृषि तथा पोल्ट्रिफर्म, वीरेन्द्रनगर १० को वीरेन्द्रनगर अर्गानिक कृषिफर्म, बराहतालको लोकप्रिय बाख्रा तथा पशुपालन फर्म, बराहतालकै मन्जित कृषि तथा पन्छी फर्म, पञ्चपुरीको प्रशान्त कृषि तथा पशुपालन फर्म, पञ्चपुरीकै एमडिटिके कृषि तथा पशुपन्छी माछापालन फर्म र सोही ठाउँको मिना मत्स्य तथा पशुपालन उद्योगलाई दुई–दुई लाख रकम दिएको हो ।
वीरेन्द्रनगर–९ को न्यूमिलन कृषि तथा माछापालन फर्मलाई पनि एक लाख ५० हजार रकम दिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत सबै फर्ममलाई पोखरी खन्ने र भुरा राख्नका लागि उक्त रकम दिएको हो । लक्षित बर्ग अर्गानिक प्रवद्र्धन कार्यक्रमबाट चौकुने–१० घाटगाउँका गुमानसिंह विक, वीरेन्द्रनगर–१५ पारेगाउँका टिका खत्री, चौकुने–५ मायातालका ध्वजे कामी, गुर्भाकोट–११ का राजन विसी, बराहताल–६ ब्यूरेनीका कविराम कामी, चिङ्गाड–५ का देवीलाल दमाई, सोही ठाउँका अम्बर नेपाली र वीरेन्द्रनगर–१२ भावरटोलका मिना नेपालीलाई बाख्रा खरिद, गोठसुधार, औजार खरिदका लागि नौ लाख ५० हजारका दरले रकम दिइएको हो । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रमबाट भेरीगंगा–१ मा लालिगुराँस स्रोत विकास बाख्रापालन मूल समितिलाई मात्रै ३० लाख रकम र सुर्खेतका विभिन्न १५ जना कृषकलाई इलेक्ट्रिक घाँस काट्ने मेसिन, दुध बोक्ने क्यान र पम्पसेटसमेत दिइएको छ ।






