‘धर्तीकै कुरूप महिला’ को उपमा पाएकी मेरी एनको कथा

एजेन्सी । चार छोराछोरीकी यी आमाले आफूलाई विधवा अवस्थामा पाइन् । त्यसैले उनीहरूको लालन–पालनका लागि जे गर्न पनि मेरी एन विभान तयार थिइन् । हुँदाहुँदा ‘विश्वकै कुरूप महिला’को उपमा पनि उनलाई स्वीकार्य भयो ।

सन् १८७४ डिसेम्बरमा जन्मिएकी मेरी एन युवा अवस्थामा अन्य सामान्य महिलाजस्तै थिइन् । पूर्वी लन्डनस्थित गरिब परिवारमा जन्मिएका आठ छोराछोरीमध्ये उनी एक थिइन् । तर यो गरिबीले उनलाई सपना पछ्याउँदै नर्स बन्न रोकेन ।

२९ वर्षमा उनले थोमस विभानसँग बिहे गरिन् । यो दम्पतीका चार छोराछोरी भए । तर एक्रोमेगुली डिसअर्डरबाट ग्रस्त भएपछि मेरी एनको शरीर अस्वाभाविक रूपमा परिवर्तन हुन थाल्यो । शरीरले धेरै मात्रामा ग्रोथ हार्मोन उत्पादन गर्न थालेपछि यो डिसअर्डर सिर्जना हुन्छ ।

यो कठोर अवस्थामा मानिसका हात र खुट्टा अस्वाभाविक रूपमा ठूला हुन्छन् । यसले अनुहारको आकार पनि परिवर्तन गरिदिन्छ । मेरी एनको अनुहार ठूलो र भद्दा देखिन थाल्यो । यो निकै पीडादायी अवस्था थियो । हड्डी र टिस्युहरू दुवै तीव्र रूपमा बढिरहेका थिए ।

आजका दिनमा एक्रोमेगुलीको उपचार वा नियन्त्रण गर्न सकिन्छ । तर २०औँ शताब्दीको सुरुवातमा यस्तो उपचार सम्भव थिएन ।

सडकमा मेरी एन उभिँदा मानिसहरूले नानाथरी टिप्पणी र मजाक गर्न थाले । कम्तीमा घरभित्र उनी त्यतिबेलासम्म सुरक्षित थिइन्, जतिबेलासम्म पति थोमस जीवित थिए । बिहेको ११ वर्षपछि थोमसको मृत्यु भयो र मेरी सहाराविहीन बनिन् ।

भद्दा शरीरकै कारण जागिरसमेत नपाउँदा छोराछोरी पाल्ने चिन्ताले सताइरहेको थियो ।

यही समय उनले पत्रिकामा एउटा विज्ञापन देखिन् । त्यसले उनको जीवन परिवर्तन गर्नेवाला थियो । ‘कुरूप महिला चाहियो, राम्रो रकम सुनिश्चित छ र सफल आवेदनका लागि तत्कालको फोटो पठाउनुस् ।’

अमेरिकन सर्कस बर्नम एन्ड बेलीका युरोपेली एजेन्ट क्लाउडे बाट्र्रामले यो विज्ञापन गरेका थिए । सर्कसमा देखाउने मानिस युरोपमा नभेटिएपछि उनको आशा मर्दै थियो । यो विज्ञापन त्यस्तो ‘नयाँ प्रतिभा’ खोज्ने उनको लगभग अन्तिम प्रयास थियो, जसलाई हेरेर बेलायत र अन्यत्र पनि मानिसहरू हाँस्न सकून् ।

 

मेरी एनले फोटो पठाइन् र बाट्र्रामको ध्यान खिचिन् 

‘सुरुमा उनले प्रदर्शनीमा बस्ने उपाय आफूलाई मन नपरेको बताएकी थिइन् । उनी लजालु थिइन् र आफ्ना छोराछोरीसँग छुट्न चाहन्न थिइन्,’ एनबारे बाट्र्रामले भनेका थिए, ‘मैले प्रति साता १० पाउन्ड आम्दानी मिल्नेछ, भ्रमण खर्च मिल्नेछ र पोस्टकार्डहरू बेचेर आएको पैसा पनि तिमीलाई नै हुनेछ भनेको थिए । जसकारण उनले आफ्नो छोराछोरीलाई पढाउन सकून् । अन्ततः उनले मानिन् ।’

दक्षिण पूर्वी लन्डनस्थित ह्याम्पसायरमा उनको कार्यक्रम यति धेरै चल्यो कि त्यसबाट सर्कसका मालिक तथा चटके पिटी बार्नम निकै प्रभावित भए । द ग्रेटेस्ट सोम्यानमा हग ज्याकम्यानको भूमिका निभाएर चर्चामा आएका यी सो म्यानले एनीलाई पानीजहाजमा चढाएर १९२० मा अमेरिका लगे ।

अमेरिका पुग्नासाथ न्युयोर्कका हरेक पत्रिकाको कभरमा उनले आफ्नो फोटो छापिएको पाइन् । त्यसमा ‘धर्तीकै कुरूप महिला’ भनेर लेखिएको थियो ।

एनबारे धेरै प्रचार भइसकेको थियो र उनले अपेक्षालाई पनि मर्न दिइनन् । बरु सोको स्टार बनिन् । दाह्री भएका महिला, टाउको जोडिएका जुम्ल्याहा, होचा मानिस, अजङ्गका मानिस र अपाङ्गता भएका मानिसभन्दा उनले धेरैको ध्यान खिचिन् ।

 

उनलाई हेरेर हाँस्नेहरूको कमी थिएन । उनलाई त्यस्ता कपडाहरू लगाउन लगाइन्थ्यो जसले धेरैभन्दा धेरै भद्दा र कुरूप देखाओस् । त्यसले भीडमा बसेकाहरूलाई तर्साउन र मनोरञ्जन दिन सकोस् ।

दुई वर्षसम्म उनलाई धेरैले मजाकमा उडाए, अपमान र बेइज्जती गरे । यो कार्य गरेबापत उनले २० हजार पाउन्ड कमाइन् । आजको मितिमा यो ५ लाख पाउन्ड बराबर हुन्छ ।

यो रकम छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन पर्याप्त थियो । आफ्ना छोराछोरीलाई अत्यन्तै मिस गर्ने यी महिलाले उनीहरूलाई पत्र भने लेखिरहन्थिन् ।

अन्ततः उनले छोराछोरीको जीवनका लागि जे आवश्यक थियो, त्यो हासिल गरिन् । सम्पत्ति कमाइन् र राम्रो जीवन दिइन् । यसैका लागि त बेइज्जती खप्न उनी तयार भएकी थिइन् ।

१९२५ मा उनी पेरिसमा एउटा कार्यक्रममा सहभागी हुन युरोप फर्किएकी थिइन् । त्यसपछि बाँकी समय कोनी आइल्यान्ड ड्रिमल्यान्ड सोमै व्यस्त भइन् । जीवनको उत्तराद्र्धमा यी महिलामा रक्सी पिउने आदत विकास भएको थियो पनि भनिन्छ ।

तत्कालीन समयका चर्चित न्युरो सर्जन हार्भे कुसिङले यी महिलालाई मजाकमा उडाउँदा आफू धेरै दुखित हुने गरेको गुनासो टाइम म्यागेजिनमार्फत गरेका थिए । १९२७ मा उनले म्यागेजिनमा लेखेको पत्रमा उल्लेख छ, ‘रिङलिङ ब्रदर्सको साइड सोमा हात नभएका व्यक्ति र मोटी महिलाको बीचमा सेतो ह्याट, उनीका पञ्जा र माथिसम्म तुना भएका ९हाइलेस० जुत्ता लगाएर बस्ने यी महिलासँग त्यस्तो कथा छ, जो मजाकभन्दा परको विषय हो ।’

उनले लेखेका थिए, ‘उनी पहिले राम्रो देखिने महिला थिइन् र एक्रोमेगुली नामक रोगको शिकार भइन् । एउटा चिकित्सकका रूपमा रोगको वियोगमाथि समयले खेलेको यस्तो खेल मलाई राम्रो लागेन ।’

१९३३ मा ५९ वर्षको उमेरमा एनको निधन भयो । आफूलाई इङ्ल्यान्डमै अन्त्येष्टि गरियोस् भन्ने एनको इच्छा थियो । उनका छोराछोरीले दक्षिण लन्डनस्थित लेडीवेल एन्ड ब्रोक्ली चिहानमा शवको अन्त्येष्टि गरे ।

‘धर्तीकै कुरूप महिला’ को उपमा पाएकी मेरी एनको कथा

यो अनौठो काउलीको बारेमा वैज्ञानिकले पत्ता लगाए

‘धर्तीकै कुरूप महिला’ को उपमा पाएकी मेरी एनको कथा

मेडिकल माफियालाई काखी च्यापे आन्दोलन गर्ने डा.

Leave a comment

Your email address will not be published. Required fields are marked *