जर्मनीद्वारा नेपाललाई ४१ लाख खोप हस्तान्तरण

काठमाडौं : जर्मन सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको ४१ लाख खोपको मात्रा हस्तान्तरण गरेको छ ।

मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत डा. स्टेफन रसेकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त खोप हस्तान्तरण गरेका हुन् ।

मन्त्री खतिवडालाई उनले कोभ्याक्स सुविधाअन्तर्गत ४१ लाख ४२ हजार २५० खोपको मात्रा हस्तान्तरण गरेका हुन् । तीमध्ये २१ लाख ७६ हजार ६५० मात्रा जोन्सन एण्ड जोन्सन र १९ लाख ६५ हजार ६०० मात्रा मोडर्ना रहेका छन् ।

मन्त्री खतिवडाले जर्मनीले उपलब्ध गराएको खोपले सरकारको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए। उनले यसबाट नेपाल र जर्मनी सरकारबीचको द्विपक्षीय सम्बन्धमा आज अर्को इँटा थपिएको बताए ।

‘कोभिड–१९ को परीक्षणसम्बन्धी सूचना व्यवस्थापन, स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापनमा उपलब्ध गराइएको सहायता समेत सह्रानीय छ’, मन्त्री खतिवडाले भने, ‘जर्मन सरकारका तर्फबाट प्राप्त अन्य स्वास्थ्य उपकरण र सामग्री उपयोगी छ ।’

नेपालमा स्वास्थ्य बीमाको सुरुआत र संस्थागत गर्न, अस्पताल तथा स्वास्थ्य संस्था निर्माण गर्न, स्वास्थ्य सूचना प्रणाली संस्थागत गर्न तथा समग्र स्वास्थ्य प्रणाली सदृढीकरणका लागि जर्मन सरकारले पुर्‍याएको सहयोग स्वागतयोग्य रहेको उनले बताए ।

भूकम्पपछिको पुनःनिर्माणअन्तर्गत जर्मनी सरकारको सहयोगमा गोरखा, जिरी र रामेछापमा अस्पताल निर्माण सम्पन्न भई हस्तान्तरण गरिसकेको मन्त्री खतिवडाले जानकारी दिए ।

यस्तै रिकभरी–२ कार्यक्रमअन्तर्गत दोलखाको भीमेश्वर स्वास्थ्य चौकी, भक्तपुरको झौखेल स्वास्थ्य चौकी, साँखु प्राथमिक अस्पताल र बझाङको मेलबिसौनी स्वास्थ्य चौकी निर्माणका लागि प्रारम्भिक चरणको काम भइरहेको छ ।

यस्तै डडेल्धुरा अस्पतालको मातृ तथा बाल स्वास्थ्य भवन र स्टाफ भवन निर्माणको काम भइरहेको, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालअन्तर्गत तारकेश्वर र चन्द्रागिरि नगरपालिकामा स्याटेलाइट अस्पताल बनाउने काम अघि बढेको छ।

जर्मन सरकारले कोभिड–१९ को सुरुवातदेखि सरकारलाई १० मिलियन यूरो बराबरको अनुदान रकम उपलब्ध गराएको थियो।

त्यसअवसरमा नेपालका लागि कार्यवाहक राजदूत डा। रसेकले जर्मन सरकारले नेपाललाई स्वास्थ्य र शिक्षामा सहयोग गर्दै आएको भन्दै खोपले नेपाली जनतालाई कोभिड–१९ को महामारीबाट जोगाउने बताए।

मन्त्रालयका प्रवक्ता डा। सङ्गीता कौशल मिश्रले मोडर्ना खोप यही पुस ४ गतेदेखि १२ वर्षदेखि १७ वर्ष उमेर समूहका किशोरकिशोरलाई लगाइने बताइन्। उनका अनुसार सरकारले ५७ जिल्लामा विद्यालयमा गई उक्त उमेर समूहका बालबालिकालाई खोप प्रदान गर्नेछ।

यस्तै जोन्सन एण्ड जोन्सन भने विदेश जाने र लक्षित अन्य व्यक्तिलाई लगाइनेछ।

Leave a comment

Your email address will not be published. Required fields are marked *