सिमान्तीकरणको चपेटामा हिमाली आदिवासी


डोल्मा शेर्पा

नेपाली समाजमा झै आदिवासी जनजातिहरुमा पनि विविधता रहेको पाइन्छ । यस्तो विविधता हिमाली आदिवासी जनजातिमा पनि कायम रहेको छ ।
‘हिमाली क्षेत्रमा करिब १८ वटा जातिहरु छन । अरुले हेर्दा एकै किसिमको लागे पनि हामी फरक हौ ।’ नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष चिङछिपा ल्होमीले भन्नु भयो– तराई तिरका धिमाल, मेच, राजबंंशी, किसान, उरावलगयतका समुदायलाई एकै हो भन्ने धारणा रहे जस्तै हामी हिमालमा बस्ने बख्खु लगाउनेहरु एकै ठान्छन् । तर हामी एकै होइनौ । हाम्रो परिचय र पहिचान फरक छ ।
हिमाली आदिवासीहरुमा सबैभन्दा धेरै जनसंख्या भएको जाति शेर्पा हो । हिमाली क्षेत्रमा आदिवासीहरुमा शेर्पा लगायत नेपाल सरकारले सूचिकरण गरेको १८ आदिवासी जनजाति रहेका छन् ।
पश्चिमी हिमाली क्षेत्रमा बसोबास गर्ने व्याँसी, होस वा डोल्पो, पूर्बी क्षेत्रका तोप्केगोला होस वा वालुङ सबैको फरक भूभाग, फरक थातथलो रहेको छ । यसरी नै बाह्रगाउँले, भोटे, छैरोतन्, लार्के, ल्होपा, ल्होमी सिंङ्सावा, मार्फाली, मुगाली, सियार, थकाली, ताङ्वे, थुदाम, तीन गाउँले, तोप्केगोला आदि जाति हिमाली क्षेत्रका बासिन्दा हुन् ।
‘हिमाली सबै आदिवासीहरुको मातृभाषा मुख्य स्रोत तिब्बती भोटबम्रेली परिवारबाट आएको हो । तर हाम्रो एकअर्काको भाषा चाहि एकदमै फरक छ त्यहि भएर पनि हाम्रो एउटा छुट्टै जाति पहिचान हुन गएको छ ।’ नेपाल आदिवासी जनजाति महासंघकी उपाध्यक्ष ल्होमीले थप्नु भयो –हाम्रो भेषभुषामा पनि बख्खु देखि गरगहनामा फरक छ । संस्कृतिहरु पनि फरक छन् । विवाह, मृत्युसंस्कार तथा न्वारानमा गरिने संस्कारहरु पनि १८ आदिवासीमा फरक छ ।
ल्होमी सिंसवाहरु संखुवासभा जिल्लाको हिमाली उच्च भूभभागमा बसोबास गर्ने जाति भएको जानकारी दिदै ल्होमीले आफनो जातिको गौरुङ ङोरिम्बा भन्ने परम्परागत प्रथाजन्य संस्था कायम रहेको दावी गर्नू भयो । उहाँका अनुसार ल्होमी बहुल क्षेत्रमा वर्षमा एक पटक गौरुङ ङोरिम्बा छान्ने गरिन्छ । यो प्रथाजनित संस्था हो । यस संस्थाले सूचना तथा सामाजिक सुव्यबस्थाको काम गर्ने उहाँको भनाइ छ ।

हामी भोटे हौ

हिमाली आदिवासीहरुमा भोटे जाति पनि सूचिकृत रेहको छ । तर आफनो नागरिकतामा गुरुङ तथा कसै कसै कसैको लामा लेखिएकोले भ्रममा परेको नेपाल भोटे जनजाति सेवा समितिका अध्यक्ष गंभीर सिङं गुरुङको अनुभव छ ।
‘भाषा फरक, रीतिरिवाज, संस्कृति तथा ऐतिहासिकताका आधारमा मात्र आदिवासीको सुचिकृत हुन्छ । हिमाली भेगमा बसोबास गर्ने भोटे पनि सूचिकृत भएकाले ५९ आदिवासी मध्येका एक हौ ।’ नेपाल भोटे जनजाति सेवा समितिका अध्यक्ष गुरुङले थप्नु भयो –हामी गुरुङ लामा, कार्की जे लेखे पनि हामी सुद्ध भोट ेनै हो । नागरितामा हामीलाई गुरुङ लेखि दिएको मात्र हो । तर हामी भोटे हौ ।
उहाँले नागरिकतामा भोटे जाति लेखि दिन पनि सरकारलाई आग्रह गदर्नू भयो । नेपाल आदिवासी जनजाति महासंघ मार्फत यो बिषयमा पटकपटक सरकारलाई आग्रह गरेको भए पनि प्रकृया अगाडि नबडेको उहाँको दावी छ ।

.पशुपालन र व्यापार गर्ने मूल पेसा अपनाएका भोटेहरुको बसोबास अछाम, डोटीलगायतमा रहेको छ । भोटेहरुले बोकटी, कुँवर, कार्की जात लेखेर नागरिकता पाएका छन् । कुनै कालक्रममा भोटे शव्द अपमानित ठानेको भए पनि अहिले आदिवासीमा सूचिकृत भए पछि गौरवको अनूभूति गर्ने गरेको भोटे अगुवाहरुको कथन छ ।

फरक आध्यात्मिक परम्परा

हिमाली आदिवासीहरुमा सियार समुदाय अर्को जाति हो । गोरखा जिल्लाको चुम उपत्यका उनीहरुको परम्परागत थातथलो हो । चुम उपत्यकालाई नै सियार समुदायको उद्गम थलो मानिन्छ । सियार समुदाय चिनको तिब्बतको सिमानामा बसोबास गर्ने जातिका रुपमा पनि चिन्न सकिन्छ । गोरखा जिल्लाबाट ५० किमि टाडा पर्ने चुम उपत्यका अति दुर्गम क्षेत्रमा पर्छ ।
‘सियार जाति सबैजना बौद्धमार्गी हुन् । यहाँको आफ्नै परम्परा पनि रहेको छ ।’ सियार समाज कल्याण केन्द्रका अध्यक्ष निमा लामाले भन्नु भयो –हाम्रो परम्परा र संस्कृति विशेष खालको छ । पानी नपरेको अवस्थामा प्रकृतिको पुजा गरेर पानी पार्ने प्रचलन छ । कुनै बेला पानी धेरै परेको खण्डमा पुजा गरेर मौसम सफा गर्ने तान्त्रिक विधि गाउँघरमा अझै कायमै छ । कोरोना महामारी समयमा पनि हाम्रो गुम्बामा शान्ति पुजा र प्रकृतिक पुजाहरु गरिएको थियो ।

पूर्बको ताप्लेजुङ जिल्लाको उत्तरी भेगमा बसोबास गर्ने वालुङहरु पनि हिमाली आदिवासीहरुमा फरक पहिचान कायम भएको छ ।
‘भौगोलिक दृष्टिकोणले पनि वालुङ आदिवासी जनजातिहरु पृथक तरिकाले बसोबास गरिरहेका छौ ।’ वालुङ सेवा समाजका अध्यक्ष सोनाम लामाले भन्नु भयो–जस्तै हाम्रो वालुङ बस्तीमा पनि हामी वालुङ बाहेक अरु समुदायको उपस्थिति न्युन छ । हामी कोही नयाँ मान्छे आएको खण्डमा उसलाई फरक तरिकाले स्वगत गर्ने गर्छौ ।

हिमालय पर्बत श्र.खलासंगै जिविका चलाइरहेका हिमाली आदिवासी जनजाति नेपालको उत्तरी सीमाको रखवारी गर्दे त्यहाँको प्राकृतिक सम्पदा, विशिष्ट ज्ञान प्रणालीलाई बचाएका छन् । उनीहरुको फरक प्रथा, परम्परा र प्रथाजन्य मान्यताका आधारमा जिविकालाई सहज बनाएका छन् । यी जातिहरुको राज्यमा समाबेशीकरण तथा उनीहरुको साँस्कृतिक संरक्षणको पाटोमा भने कम ध्ष्यान दिने गरेको गुनासो छ । आदिवासी भनेर मात्र हुँदैन सीमान्त भूमिमा बस्ने सिमान्तीकरणको चपेटामा बस्ने आदिवासीहरुमा राज्यको उपस्थिति न्यून भएर नै राज्यको सेवाबाट बन्चित बनेका छन् । (साभारः इन्डिजिनियस फिचर सेवा)

सिमान्तीकरणको चपेटामा हिमाली आदिवासी

बनगाडमा विद्यालय कर्मचारीको अध्यक्षमा पुन

सिमान्तीकरणको चपेटामा हिमाली आदिवासी

YUGAAWHAN NATIONAL DAILY (2078-9-01)

Leave a comment

Your email address will not be published. Required fields are marked *