दुधेबालक बोकेर अधिकार माग्दै सडकमा

दैलेख, ३ फागुन । राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालले दलित अधिकार प्राप्तिका लागि शनिबार दैलेखमा आयोजना गरेको विरोध सभामा महिलाहरू दुधेबालक बोकेर सडकमा आएका छन् । विश्वमा धेरैखाले परिवर्तन भए पनि नेपालमा दलितप्रति गरिने व्यवहारमा अझै परिवर्तन नआएको र अधिकारहरू सुनिश्चित गर्न साथै जातीय विभेद गर्नेलाई कडा कारबाही माग गर्दै उनीहरू सडकमा उत्रिएका हुन् । 
दलित समुदायलाई जागरण गर्ने र अधिकार प्राप्तिका लागि सम्पूर्ण दलित एकै ठाउँमा आएको राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालका केन्द्रीय संयोजक खगेन्द्र सुनारले बताए । उनले राज्यका हरेक निकायमा दलितको उपस्थिति सम्मानजनक हुनुपर्ने, जातीय विभेद अन्त्य हुनुपर्नेलगायत माग राख्दै प्रदर्शन गरिएको बताएका छन् । सभा दैलेख बजारको गणेश चोकबाट सुरु भई स्थानीय टुँडिखेलमा पुगेको थियो ।






