भारतीय सेनाप्रमुख भन्छन् नेपाल, भुटान र बंगलादेश भारतको साथमा

३ फागुन,भारतका सेनाप्रमुख जनरल मनोज मुकुन्द नरवणेले चीनसँग तनाव बढिरहँदा दक्षिण एसियाका तीन मुलुक नेपाल, भुटान र बंगलादेश भारतको पक्षमा रहेको दावी गरेका छन् । बेलाबखत अस्वाभाविक अभिव्यक्ति दिई विवादित हुँदै आएका नरवणेले पछिल्लो पटक चीनसँगको सम्बन्धमा ४ देशबीच तथाकथित समीकरण रहेको बताएका हुन् । असम राइफल्स र यूनाइटेड सर्भिसेज इन्स्टिच्युटको वार्षिक सेमिनार कार्यक्रममा बोलेका नरवणेले चीनकै कारण सीमामा झडप भएको पनि जिकिर गरे । चीनका कारण भारतको भरोसा टुटेको उनले बताए । 
परम्परा अनुसार नै नेपाल अहिले पनि भारतको सहयोगी रहेको, भुटानले चीनसँगको सम्बन्धमा सावधानीपूर्वक कदम उठाएको र बंगलादेशको साथ भारतको बलियो सम्बन्ध रहेको नरवणेले उल्लेख गरेको बीबीसी हिन्दीले लेखेको छ ।






