जुम्लामा पहिरोबाट एकै परिवारका तीन जनाको मृत्यु

जुम्लाः जुम्लामा बाढी पहिरोले बगाएर एकै घरका आमा छोरासहित तीन जनाको मृत्यु भएको छ । जुम्ला तातोपानी गाउँपालिका – ७ ताम्ती गाउँका तीन जनालाई पहिरोले बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी तथा प्रहरी निरिक्षक युवन चौधरीका अनुसार मृत्यु हुनेमा ६० वर्षिय बिर्खे रावत, ३५ वर्षिय जैसरी रावत र उनका १० बर्षका छोरा सन्देश रावत रहेका छन । बिर्खे रावत जैसरीको जेठाजु हुन् । सन्देश रावत जैसरीको छोरा हुन ।
सेतक चिनी कोरेर पाटनबाट घर फर्किने समयमा ताम्तीको घट्टे खोला तर्ने क्रममा माथिबाट आएको पहिरोले बगाएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए ।
उनले भने,‘ ‘बाढी आएर पानी थुनिएको रहेछ । उनीहरु खोला तर्ने बेला थुनिएको बाढी फुट्ने बेला सँगसँगै भएपछि उनीहरुलाई बगाएको रहेछ ।’ सेतक चिनी कोरेर उनीहरु २८ गते साँझ नै घर फर्किएका थिए ।
राति अबेर सम्म पनि घर नपुगेपपछि घरपरिवारले खोजी कार्य थालेका थिए । तर भेटाएनन । शुक्रबार वडानम्वर सातका वडाध्यक्ष मर्कर रावत र टोप्ला प्रहरी चौकीबाट खटिएको टोलीले बगाएको अवस्थामा भेटाएको थियो ।
यसअघि पहिरोमा परेको भनिएको भएपनि बाढी पहिरो एकैसाथ आएर बगाएको स्थानीयले बताएका छन । जिल्ला प्रहरी कार्यालय जुम्लाका सुचना अधिकारी तथा प्रहरी निरिक्षक चौधरीले खोलाबाट मृतक तीनै जनाको शव निकालेको उनले बताए । घटनास्थलमा प्रहरी पुगेर मुचुल्का गरेको गरेको बताइएको छ ।






