जुम्लामा मानिसलाई आक्रमण गर्ने भालुलाई गोली हानेर मारियो

सुर्खेत– जुम्लामा स्थानीयलाई आक्रमण गर्ने भालुलाई गोली हानेर मारिएको छ। चन्दननाथ नगरपालिका–४ सिंंगाचौरका स्थानीयको गोठभित्र पसेको भालुलाई सोही ठाउँमा गोली हानेर मारिएको हो।
उद्धार टोलीले नियन्त्रण लिन नसकेपछि गोली हानेर मारिएको प्रहरीले जनाएको छ। ‘सुरक्षित रुपमा नियन्त्रणमा लिन खोजेका थियौं तर हरप्रयास गर्दा पनि सकिएन। उद्धार टोलीलाई नै आक्रमण गर्न थालेपछि गोली हान्नुपर्ने बाध्यता भयो।’
जुम्लाका डीएसपी दानबहादुर थापाले भने, वन कार्यालय र प्रशासन कार्यालयको अनुमतिमा गोली हानेर मारिएको हो।’ भालुलाई नियन्त्रणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालयका कर्मचारीहरु खटिएका थिए।
मारिएको भालुले जुम्लामा तीन जनालाई आक्रमण गरेको थियो। भालुले आज बिहान दैलेख घर भई चन्दननाथ नगरपालिका–५ कार्कीवाडामा मोबाइल पसल गर्दै आएका २९ वर्षीय हिमबहादुर रोकाया, उनकी श्रीमती २६ वर्षिया निर्मला थापा रोकाया र चन्दननाथ ४ सिंगाचौरका आशीष सार्कीलाई आक्रमण गरेर घाइते बनाएको थियो।
भालु गाउँमा पसेर स्थानीयलाई आक्रमण गर्न थालेपछि बिहानदेखि नै प्रहरीले खोजी गरेको थियो। करिब ७ घण्टापछि भालु भेटिए पनि सुरक्षित रुपमा नियन्त्रणमा लिन नसकिएको प्रहरीले जनाएको छ।






