निषेधाज्ञा खुकुलो भएसँगै फेरि बढ्न थाल्यो कोरोना संक्रमण

सुर्खेत । कोरोना संक्रमण कम भएपछि स्थानीय प्रशासनले दुई हप्ता यता निषेधाज्ञा पनि खुकुलो बनायो । महामारी केही कम भएपछि यही असार १८ गतेदेखि सुर्खेतमा जोर बिजोर प्रणालीमा सार्वजनिक यातायात पनि खोलियो ।
अनि २४ गतेदेखि जोर बिजोर प्रणाली नै हटाइएको छ । आज (शनिबार) देखि त सार्वजनिक सभा, सम्मेलन र कार्यक्रम बाहेक प्रायः सबै सेवा र क्षेत्रहरु खुला गरिएका छन् । सार्वजनिक यातायात क्षेत्रदेखि सबै प्रकारका उद्योग व्यवसाय खुला छन् । कार्यालय, विभिन्न संघसंस्था र सार्वजनिक स्थानमा सामाजिक दुरी कायम छैन ।
बजारमा नागरिकको चहलपहल हेर्दा लाग्छ कोरोनाको त्रासलाई बिर्सीसकेका छन् । जनजीवनलाई पुरानै लयमा फर्काउने प्रयासमा भइरहदा कोरोना नियन्त्रणमा भने फेरि चुनौती थपिएको छ । निषेधाज्ञा खुकुलो भएको दुई हप्ता नपुग्दै फेरि संक्रमण दर बढ्न थालेको हो । पछिल्लो समय जटिल प्रकृतिका संक्रमित पनि थपिदै गएका छन् ।
पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा कोरोना संक्रमण पुनः बढ्न थालेको छ । असार १८ गते यता प्रदेशभर कुल आठ दिनमा ६ सय १२ जना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क अनुसार असार १८ गते ९६ जना, १९ गते ४५ जना, २० गते ४६ जना र २१ गते ९३ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै २२ गते ८३ जना, २३ गते ६८ जना, २४ गते एकसय ३३ जना र २५ गते ५३ जना नयाँ संक्रमित थपिएका छन् । निषेधाज्ञा खुकुलो भए पनि संक्रमणको दर नघटेको तथ्याङ्कले पुष्टि गरेको छ । संक्रमणदर मात्रै होइन, जटिल प्रकृतिका विरामी पनि बढ्न थालेका छन् । लगभग रित्तो हुने अवस्थामा पुगेका अस्प्तालका बेडहरु पुनः भरिन थालेका छन् ।

स्वास्थ्यकर्मीहरुले भने निषेधाज्ञा खुकुलो भएकै कारण संक्रमण दर बढेको बताउँछन् । ‘कोरोनाको दोस्रो लहर सकिएकै थिएन, निषेधाज्ञा खुकुलो भयो’ प्रदेश अस्पताल सुर्खेतका डा. नवराज केसीले भने, ‘निषेधाज्ञा खुकुलो भएपछि जनताले स्वास्थ्य सुरक्षा मापदण्डको पालना नगरेपछि संक्रमण दर घटेन ।’ सावधानी नअपनाए संक्रमण फेरि फेरि पुरानै अवस्थामा पुग्ने उनको चेतावनी छ ।
संक्रमणको अझै डरलाग्दो गरी बढ्ने भन्दै उनले सावधानी अपनाउनुपनै उत्तम विकल्प हुने बताउँछन् । शहरमा निषेधाज्ञा खुकुलो हुनु र गाउँमा रोपाइँ र सामूहिक रुपमा गरिने मेलापातका कारण संक्रमण बढेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका कोरोना फोकलर्शन नोधनारायण चौधरीले बताउँछन् ।
‘अहिले रोपाइँको मौसम हो, रोपाइँका लागि बाहिरी जिल्ला र भारतमा रहेका स्थानीयहरु पनि गाउँ फर्केका छन्’ उनी भन्छन्, ‘बाहिरबाट आएकाहरुसँग घुलमिल भएर रोपाइँ गर्दा पनि संक्रमण फैलिएको हो ।’ उसो त गाउँमा पनि संक्रमण रोकिएको छैन ।
‘संक्रमण घटेको छैन, दैनिक १०÷१५ जना संक्रमित थपिरहेका छन्’ जाजरकोटका कोरोना फेकलर्शन कृष्ण खत्रीले भने, ‘निषेधाज्ञा हुँदा र अहिलेमा संक्रमणदर एउटै छ ।’ संक्रमण फैलिएपछि गाउँमा एन्टिजेन विधिबाट कोरोना परीक्षणलाई बढाइएको उनले बताए ।
अस्पताल र आइसोलेसनमा भर्ना हुन थाले संक्रमित
संक्रमणदर बढेसँगै अस्पताल र आइसोलेसनमा जटिल प्रकृतिका विरामी भरिन थालेका छन् । शुक्रबार साँझसम्म प्रदेशका विभिन्न आइसोलेसन र अस्पतालमा दुईसय चार जना उपचाररत छन् ।
जसमध्ये प्रदेश अस्पताल सुर्खेतमा नौ जना, कट्कुवा अस्पतालमा सात जना, प्रदेश आर्युवेद अस्पतालमा चार जना, जिल्ला अस्पताल सिमकोटमा २१ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४८ जना, दैलेख जिल्ला अस्पतालमा १९ जना, कालिकोटको कोरोना अस्पतालमा १५ जना संक्रमित उपचाररत छन् ।
त्यस्तै कालिकोटको नरहरीनाथको प्राथमिक स्वास्थ्य केन्द्रमा तीन जना संक्रमित छन् । कालिकोटकै रास्कोट आधारभूत अस्पतालमा तीन जना, महावै आइसोलेसन सेन्टरमा चार जना, जाजरकोट अस्पतालमा आठजना र नगलाड आइसोलेसनमा ११ जना, बारेकोट अस्पतालमा आठजना संक्रमित उपचाररत रहेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
त्यस्तै सल्यान अस्पताल र बागचौर आइसोलेसनमा चार–चारजना, कपुरकोट आइसोलेसनमा दुई जना र छत्रेश्वरीको आइसोलेसन सेन्टरमा एक जना संक्रमति छन् । रुकुमपश्चिमको जिल्ला अस्पतालमा ५, चौरजहारी अस्पतालमा तीन, आठविस अस्पतालमा दुई, जुम्लाको गुठीचौर आइसोलेनमा १२ र तातोपानी आइलेसन सेन्टरमा दुई जना उपचाररत छन् ।
कोरोनाले दादुराविरुद्धको खोप अभियान प्रभावित
जाजरकोटमा कोरोनाका कारण खोप अभियान प्रभावित भएको छ । कोरोनाविरुद्धको खोप अभियानका कारण दादुराविरुद्धको खोप अभियान प्रभावित भएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । त्यहाँ नियमित रुपमा लगाइने ७, १४ र २१ गतेको दादुराविरुद्धको खोप अभियान प्रभावित भएको हो ।
यसअघि खोप अभाव भएका कारण अब २८ गते एकै पटक सबै बालबालिकालाई खोप दिइने खोप फोकलपर्शन शान्तबहादुर बुढाले जनाए । ‘कोरोनाका कारण समयमै खोप आपूर्ति नहुँदा केही कार्यतालिका प्रभावित भएको थियो’ उनले भने, ‘अहिले खोप आइपुगेको छ, अब छुटेका सबै बालबालिकालाई २८ गते खोप लगाउँछौँ ।’
स्वास्थ्यकर्मीहरु कोरोनाविरुद्धको खोप अभियानका लागि गाउँगाउँमा खटिएका कारण स्टोरमा दादुरोको खोप झिकाउन ढिलाई भएको थियो । जाजरकोटमा पनि आपूर्ति व्यवस्थापन महाशाखा नेपालगञ्जलाई खोपका सप्लाई हुँदै आएको छ । ९ महिना पुरा भएका बालबालिकालाई हरेक महिनाको ७, १४, २१ र २८ गते नियमित रुपमा खोप लगाइन्छ ।
नाममात्रको निषेधाज्ञा
सुर्खेतमा जारी निषेधाज्ञा असार ३१ गतेसम्मका लागि लम्बाइएको छ । जारी आदेश अनुसार सुर्खेतमा असार ३१ गते राति १२ बजे सम्मका लागि लम्बाइएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जनाए । तर लम्बाइएको निषेधाज्ञा भने नाममात्रको हुनेछ । निषेधाज्ञामा तालिम, गोष्ठी, सभा र सम्मेलन जस्ता जमघटका बाहेक अन्य सबै सेवाहरु सञ्चालन खुला गरिएको छ ।
होटल तथा रेष्टुरेन्टहरुलाई भने क्षमताको ५० प्रतिशत खोल्न र स्वास्थ्य मापदण्ड अनपनाएर डेलिभरीसहित व्यवसाय सञ्चालन गर्न अनुमति दिइएको छ । अन्य व्यापार व्यवसाय, निजी तथा सार्वजनिक यातायात लगायतका सेवाहरु भने यसअघि नै सञ्चालन भइसकेका छन् ।






