निकुञ्जमा सिकार गर्न छिरेका ४ जना हतियारसहित पक्राउ

बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार गर्न छिरेका ४ जना सिकारी प्रकाउ परेका छन्। सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जको कर्मचारीसहितको संयुक्त पट्रोल टोलीले मंसिर २१ गते प्रकाउ गरेको हो।
पक्राउ पर्नेहरूमा बर्दिया भेरीगंगा नगरपालिका(५, हात्तीखाल बस्ने ३७ वर्षीय लक्ष्मण गिरी, ६२ वर्षीय भद्र बहादुर वली, ५६ वर्षीय ठगबहादुर थापा र २२ वर्षीय ललित घर्ती छन्।
उनीहरूको साथबाट तीन नाल भरुवा बन्दुक, ४१ थान गोली, सय ग्राम छर्रा, तीन सय ग्राम बारुद, चारवटा हँसिया, साइकलको ३७ थान छर्रा, एउटा रेती र पाँचवटा सलाई बरामद गरिएको छ। पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय, बर्दियामा बुझाइएको नेपाली सेनाले जानकारी दिएको छ।






