ट्वीटरमा नयाँ फिचर, मनपर्ने ट्वीटेलाई नगद सहयोग गर्न पाइने

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्नो प्लेटफर्ममा नयाँ फिचर शुरु गरेको छ । ‘टिप जार’ भनिएको उक्त फिचरमार्फत ट्वीटर प्रयोगकर्ताले आफूलाई मनपर्ने कुनै ट्वीटर प्रयोगकर्तालाई नगद टिप दिन सक्नेछन् ।

ट्वीटरको प्लेटफर्ममा अनुपम सिर्जनाहरु पस्किएर संवादलाई जीवन्त राख्नेहरुलाई सहयोग गर्नका लागि नयाँ फिचर सजिलो माध्यम बन्ने ट्वीटरले जनाएको छ ।

तत्कालका लागि ट्वीटरले निश्चित पत्रकार, विज्ञ, गैरनाफामूलक प्रयोगकर्तालगायतका लागि यो टिप प्राप्त गर्न पाउने फिचर शुरु गरेको छ । यद्यपि ट्वीटरको टिप जार फिचरले प्रयोगकर्ताका इमेल ठेगाना लगायतका सूचनाहरु एक्सपोज गरिदिएको भन्दै ट्वीटरको आलोचना भएको छ ।

टिप जार फिचरअन्तर्गत प्रयोगकर्ताको प्रोफाइलमा एउटा सानो आइकन थपिएको छ । तत्कालका लागि यो फिचर मोबाइल प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । मोबाइलको ट्वीटर एपमा युजर प्रोफाइलको ड्रपडाउन मेन्यूमा उक्त टिप जार फिचर रहेको छ, जहाँ अनलाइनमार्फत पैसा पठाउने पेपल, भेन्मो तथा क्यास एपलगायतका भुक्तानी प्रदायकहरुको लिंक दिइएको छ ।

यसका साथै टिप जार फिचरमार्फत संगीत क्षेत्रमा लोकप्रिय प्लेटफर्म ‘ब्याण्डक्याम्प’ तथा डिजिटल सर्जकका लागि लोकप्रिय प्लेटफर्म ‘प्याट्रिओन’मा समेत भुक्तानी गर्न सकिनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *