एपीएफ अपराजित

२७ माघ, एपीएफले क्लबले राष्ट्रिय महिला लिग फुटबलमा अपराजित यात्रालाई कायम राखेको छ । अपराजित यात्रा कायम राख्ने क्रममा एपीएफले सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४–० ले पराजित गरेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिकसहित ८ गोल गरिन् । यस्तै अनिता बस्नेत र अनिता केसीले समान २÷२ गोल गरिन् । कप्तान अनु लामा र रबिना गोलेले नाममा एक एक गोल रह्यो । प्रतियोगिताकै सबैभन्दा कमजोर टिम चौदण्डीविरुद्ध एपीएफले दुबै हाफमा समान ७÷७ गोल गर्यो । खेलको चौंथो मिनेटमा सावित्राले गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् । 
उनले अनिता केसीको पासमा सहज गोल गरिन् । खेलको १८ औं मिनेटमा सावित्राले एकल प्रयासमा व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफ २–० ले अघि रह्यो । २४ औं मिनेटमा अनिता केसीले सिक्स यार्ड बक्सबाट गोल गर्दा एपीएफको अग्रता तेब्बर बन्यो । सावित्राले ३७ औं मिनेटमा व्यक्तिगत तेस्रो गोल पुरा गर्दै ह्याट्रिक पुरा गरिन् । सावित्राको ह्याट्रिकसंगै एपीएफले ४–० को अग्रता बनायो । खेलको ३९ औं अनिताले सावित्राको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ५–० को अग्रता दिलाईन् । खेलको ४३ औं मिनेटमा सावित्राले एकल प्रयासमा व्यक्तिगत चौंथो र टिमका लागि छैटौं गोल गरिन् । खेलको ४५ मिनेटमा अनिता बस्नेतले गोल गर्दा एपीएफले पहिलो हाफमा ७–० को अग्रता बनायो । दोस्रो हाफमा समेत एपीएफले लगातार गोल गर्यो ।
सावित्राले खेलको ५३ र ५६ औं मिनेटमा गोल गरेपछि एपीएफ ९–० ले अघि रह्यो । यस दुई गोलसंगै सावित्राले दोहोरो ह्याट्रिक पुरा गरिन् । खेलको ६५ औं मिनेटमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई १०–० को अग्रता दिलाईन् । खेलको ७२ औं मिनेटमा सावित्राले व्यक्तिगत सातौं गोल गरिन् । सावित्राको गोलसंगै एपीएफ ११–० ले अघि बढ्यो । खेलको ७५ औं मिनेटमा परिवर्तित खेलाडी अनुले गोल गरेपछि एपीएफको अग्रता १२–० को बन्यो । खेलको ७९ औं मिनेटमा परिवर्तित खेलाडी रबिनाले गोल गर्दै एपीएफलाई १३–० को अग्रता दिलाईन् । त्यसपछि खेलको ८६ औं मिनेटमा सावित्राले व्यक्तिगत आठौं गोल गर्दा एपीएफ १४–० ले विजयी भयो ।






