पर्खाल निर्माणको काम रोक्न अदालतको अन्तरिम आदेश

सुर्खेत । काँक्रेविहार संरक्षित वन क्षेत्रको निर्माणाधीन ‘कम्पाउण्ड वाल’ (पर्खाल)को काम रोक्न उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गरेको छ । अदालतका न्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले मंगलबार आदेश दिएको हो । डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार वन क्षेत्रको साँध सीमामा पर्खाल नलागाई ५–७ मिटर जग्गा बाहिर छोडेर पर्खाल निर्माण गरेको समाचार प्रकाशन भएपछि अधिवक्ता शेरबहादुर खत्रीले रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनको पक्षमा विद्वान वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर, अधिवक्ता विद्याभूषण मानन्धर र निवेदक अधिवक्ता शेरबहादुर खत्रीले बहस गरेका थिए ।

निवेदकका पक्षमा अधिवक्ताहरुले गरेको बहसका आधारमा हाल निर्माणाधीन कार्य रिट निवेदनको टुंगो नलाग्दासम्म उच्च अदालत नियमावली, २०७३ को नियम ४२ ९१० बमोजिम काँक्रेविहार संरक्षित वन क्षेत्रभित्रको जग्गा छोडी ‘कम्पाउण्ड वाल’ (पर्खाल) निर्माण गर्ने कार्य नगर्नु, नगराउनु भनी अन्तरिम आदेश जारि गरिएको हो ।
रिट निवेदकको पक्षमा बहस गर्ने वरिष्ठ अधिवक्ता भूषणकुमार मानन्धर र अधिवक्ता विद्याभूषण मानन्धर वीरेन्द्रनगर नगरपालिका –९ का स्थानीय समेत हुन् ।






