विश्वमा झनै बढ्यो कोरोना, कतै तेस्रो त कतै चौथो लहरको त्रास

चीनको हुवेई प्रान्तको वुहान सहरबाट डेढ वर्षअघि सुरु भएको कोरोना भाइरसको विभिन्न भेरियन्टले विश्वभर ४२ लाख ४६ हजारभन्दा बढी व्यक्तिको ज्यान लिएको छ
विश्वभर कुल संक्रमितको संख्या पनि २० करोडको हाराहारीमा छ। विश्वभर १९ करोड ९५ लाख ६६ हजार ४९ जना कोरोना भाइरस संक्रमित भइसकेका छन्। कोरोना भाइरसको संक्रमितको यो संख्या विश्वको जनसंख्याको २.५ प्रतिशतभन्दा बढी हो।
समय जति बित्यो त्यति नै यो भाइरसको प्रकोप कम हुँदै जाने आकलन सुरुमा गरिएको थियो। पहिलो लहरको समयमा गत वर्ष नै विश्वका वैज्ञानिक तथा जनस्वास्थ्यविद्ले दोस्रो या तेस्रो वेभको कल्पना पनि गरेका थिएनन्। तर परिस्थिति त्यस्तो रहेन। अहिले दक्षिण कोरियामा चौथो वेभ आएको बताइएको छ भने बेलायतमा तेस्रो वेभको कष्ट पुनः सुरु भएको छ।
अनि अमेरिका गएको महिनासम्म कोरोनाबाट लगभग मुक्त हुने हो कि भन्ने दिशातिर गएकोमा अहिले फेरि संक्रमित बढ्न थालेका छन्।
केही समयअघि अमेरिकीलाई मास्क नलगाए पनि हुने भनिएकामा अहिले फेरि विभिन्न राज्यमा मास्क अनिवार्य गर्ने काम भइरहेका छन्। यसरी पछिल्ला केही महिनामा फेरि बढ्दो रूपमा देखिन थालेको यो महामारीको कहरले विश्वको अर्थतन्त्रलगायत मानवीय जीवनशैलीलाई नै नराम्ररी परिवर्तन गरिदिएको छ।
विश्वका देशले उडान प्रतिबन्ध लगाएका छन्। जसका कारण विश्व पर्यटन नराम्ररी प्रभावित छ। त्यस्तै, होटल, एयरलाइन्स तथा अरू पर्यटकीय संरचनाको अवस्था कल्पनाभन्दा बाहिर पुगेको छ।
विश्वका मानिस पर्यटकका रूपमा घरबाहिर या विदेशमा निस्किन नपाएपछि यसबाट असर त पर्ने नै भयो। अहिलेसम्मको अनुसन्धानले देखाएअनुसार यस भाइरसको एउटा मात्र विकल्प खोप हो। हाल विश्वको जनसंख्या सात अर्ब ८७ करोडभन्दा बढी छ।
चार अर्ब १५ करोड आठ लाख १५ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। अरू बाँकी अर्थात् आधा विश्वले त अझै खोप लगाउनै बाँकी छ। खोपको समानुपातिक वितरण हुनसकेको छैन। यसले गर्दा विश्वमा खोपको कतै धेरै मात्रा थुप्रिएको सुनिन्छ भने कतै भने पहिलो मात्रा लगाइसकेका तर दोस्रो मात्रा नपाएर पर्खि बसेका छन्।
यतिमात्र होइन कि धेरैले त पहिलो मात्रा नै पाएका छैनन्। जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४२ लाख ४६ हजार २०२ जनाको कोरोनाजन्य जटिलताबाट मात्र मृत्यु भएको छ।
यसबाट मानिसको मृत्यु हुने क्रम रोकिएको छैन। महामारी नै अझै कहिले रोकिने भन्ने पत्तो छैन। एकपछि अर्कोगरी विभिन्न भेरियन्ट दिनानुदिन थपिँदै गएका बताइन्छ। यस्तो अवस्थामा कुनै एक या दुई देश मात्र होइन कि विश्व नै यो महामारीबाट कसरी बाहिर निस्किने हो भन्ने विषय नै झन भन्दा झन् अन्योलमा पर्दै छ।
विश्वमा यस्ता महामारीजन्य रोग यसअघि पनि नआएको भने होइन। सन् १९१८ मा सुरु भएको इन्फ्लुएन्जा महामारीलाई इतिहासकै गम्भीर महामारीका रूपमा लिइएको छ।
यो महामारी ‘एच १ एन १’ भाइरस् नाम दिइएको इन्फ्लुएन्जा फ्लुबाट ५० करोड व्यक्ति संक्रमित भएका थिए भने यस रोगको संक्रमणको कारण पाँच करोड व्यक्तिको मृत्यु भएको थियो। सो संक्रमित संख्या उक्त समयको विश्वको जनसंख्याको एक तिहाइ थियो।
यस फ्लुले अमेरिकामा मात्र छ लाख ७५ हजारभन्दा बढीको मृत्यु भएको थियो। सन् १९१८ मा सुरु भएको यो प्रकोप सन् १९२० मा मात्र अन्त्य भएको थियो। यो भाइरसको उत्पत्ति कहाँ भएको हो भने प्रष्ट हुन सकेन। सन् १९१८ को वसन्त ऋतुमा पहिलो पटक एक अमेरिकी सैनिकमा उक्त भाइरस फेला परेको थियो।
यस्तै, सन् २००९ मा स्वाइन फ्लु नामक माहामारी सुरु भएको थियो। स्वाइन फ्लु सन् २००९ जनवरीबाट सुरु भई सन् २०१० को अगस्टमा अन्त्य भएको थियो। यस फ्लुको सुरुवात उत्तरी अमेरिकी देश मेक्सिको र भेराक्रुज भएको थियो। यस फ्लुबाट चार लाख ९१ हजार संक्रमण पुष्टि भएको थियो भने दुई लाख ८४ हजारको मृत्यु भएको थियो।
सन् १६६५ मा द ग्रेट प्लेग माहामारी सुरु भएको यो सन् १६६५ बाट १६६६ सम्म महामारीको रूपमा रहेको थियो। यसको सुरुवात संयुक्त अधिराज्य लण्डनबाट भएको थियो। यस प्रकोपबाट ७५ हजार व्यक्तिको मृत्यु भएको थियो। त्यसैगरी पश्चिम अफ्रिकी देशमा भने अर्को एक खतरनाक भाइरस इबोलाको महामारी सुरु भएको थियो।
यस भाइरसको सुरुवात सन् २०१३ को डिसेम्बर २६ बाट भएको थियो। यो माहामारी सन् २०१६ को जनवरी ९ सम्म रहयो। यस प्रकोपबाट ११ हजार ३२३ व्यक्तिको मृत्यु भएको थियो।
जोन्स हप्किन्स विश्वविद्यालयले अगस्त ३ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित २० देशका संक्रमित र यस संक्रमणबाट ज्यान गुमाएका नागरिकको संख्या ग्राफिक्समा प्रस्तुत गरेको छ।
उक्त तथ्यांक नेपाली समयानुसार मंगलबार बिहान १०: ३० बजेको हो। विभिन्न अध्ययनले हाल विश्वमा कोभिड–१९ विरुद्ध खोप लगाएका व्यक्तिको मृत्युदर कम भएको देखाएको छ।
एक डोज मात्र खोप लगाएका व्यक्ति पनि खोप नलगाएका व्यक्तिको तुलनामा मृत्युको मुखबाट बचेका छन्। हाल विश्वका चार अर्ब १५ करोड आठ लाख १५ हजार ७१६ डोज खोप लगाइएको छ।
विश्वमा कोरोना प्रभावित दश देशले कतिकति डोज खोप लगाएका दश देशको तथ्यांक हेर्दा सबैभन्दा माथि चीन नै देखिन्छ।
चीनले अहिलेसम्म एक अर्ब ६८ करोड ८६ लाख ८३ हजार डोज खोप लगाएको देखिएको छ। त्यसैगरी भारतले ४८ करोड ५२ लाख ८६ हजार ८६ डोज, अमेरिकाले ३४ करोड ६१ लाख ९१ हजार ११७ डोज, ब्राजिल १३ करोड ५८ लाख तीन हजार ३३० डोज, जर्मनी नौ करोड २७ लाख ६८ हजार ७८७ डोज, बेलायत आठ करोड ६० लाख ६२ हजार १३५ डोज, जापान आठ करोड ९१ लाख ११ हजार ९८९ डोज, फ्रान्स सात करोड ४८ लाख ५४ हजार ८३४ डोज, टर्की सात करोड ४० लाख ८९ हजार ८३४ डोज र इटालीले छ करोड ९६ लाख ६३ हजार २४३ डोज कोरोनाविरुद्ध खोप लगाएका छन्।रासस
(विभिन्न अन्तरराष्ट्रिय सञ्चारमाध्यमको आधारमा तयार पारिएको समाचार )





