यौनिकताका कुराले किन तरंग ?

डा. मीना पौडेल । काठमाडौंबाहिर कस्तो छ, त्यो त भन्न सकिन्न । तर केन्द्रीय राजधानीमा बेलाबेला तरंग ल्याउन केही न केही प्रश्न छन् । जुन या त महिला र उनका लैंगिक पहिचान वा तिनका यौनिकतासँग जोडिएका हुन्छन् ।

उसो त बेलाबेला सीमान्तकृत समुदाय र तिनका पहिचानका कुराले पनि तरंग ल्याउँछ । सायद विविध आडम्बर र साँघुरो सोचका पर्खालभित्र खुम्चिएको र जबर्जस्ती चुपचाप हिँड्ने बानी परेको समाज भएर हो कि सानातिना÷सामान्य कुराले पनि तरंगित हुने गर्छ । धेरै टाढा नगई १–२ वर्षकै घटना स्मरण गर्ने हो भने पनि ती प्रायः यौनिकता र लैंगिकतासँगै सम्बन्धित छन् महिलाका ढाड या पेटका कुरा !

आखिर किन ? ढाड र पेट शरीरका अंग न हुन्, चाहे ती जुनसुकै लिंगका मानिस हुन् । तरंगित समाज प्रश्न उठाउन जति हतार गर्छ र उठाउँछ, त्यसको समयसुहाउँदो जवाफ दिन त चाहन्न नै; जवाफ सुन्न÷मनन गर्न पनि चाहँदैन ।

किनकि ती तरंगसँग जोडिएका आयाम ती समुदायसँग लगेर जोडिन्छ, जो सामाजिक संरचनाको छिद्रमा दबाइएका हुन्छन् । दबाउन प्रयोग गरिने हतियारमध्ये सबैभन्दा बलियो र विषालु हतियार हो– यौनिकता । त्यसो त यो हतियार हाम्रो जस्तो साँघुरो समाजमा मात्र होइन, संसारका विकसित र उन्नत भनिएका देश र समाजमा पनि प्रयोग गरिन्छ । तरिका र मात्रा मात्र फरक हो ।

महत्वपूर्ण र विषालु हतियार भएर होला, यौनिकता र लैंगिकता समाज विज्ञानका महिलावादी (महिला–पुरुष) अनुसन्धानकर्ता र प्राज्ञको विषयको केन्द्रमा सधैं रहन्छन । तर यौनिकता र लैंगिकतालाई समाजको धरातलीय परिवेशमा विश्लेषण तथा यसको अन्तरसम्बन्धको व्याख्या कसरी गर्ने भन्ने विषयमा फरकफरक धारणा पाइन्छन् ।

एउटा कुरामा सबै खाले महिलावादी (पुरुष–महिला) सहमत देखिन्छन् लैंगिकता वा यौनिकता दुवैका बहस÷विश्लेषण÷व्याख्यामा ‘यौन’ लाई केन्द्रमा राख्छन् । विभेद त बजारले अन्य विविध माध्यमबाट पनि गरिरहेकै हुन्छ, तर यहाँ उठाइएको सन्दर्भ यौनिकता भएका कारण यही पक्षलाई जोड दिन खोजिएको हो; लौगिंकतासँग अन्तरसम्बन्ध खोतल्ने प्रयास गरिएको हो, यो ठीक कि बेठीक भनी विश्लेषण गर्ने चेष्टा गरिएको होइन ।

हिजो धर्मका आडमा बनाइएको विभेदकारी÷पक्षपाती संस्कृति, जसलाई समाजिक मूल्य–मान्यता भनेर जबर्जस्ती थोपरियो र लैंगिकताका आधारमा व्यक्तित्व निर्माणका मापदण्ड निर्धारण गरिए । अनि जन्मिनासाथ ती कुरा लिंगका आधारमा लादिए । यसका लागि इज्जतको डण्डा चलाइयो ।

समाजले तोकेका मापदण्ड पालना नगरे घरपरिवार, समाज र कतिपय सन्दर्भमा देशकै इज्जत फालेको भनेर विभिन्न लाञ्छना लगाउन थालियो। छोरीले जन्मघरको, बुहारीले जन्मघर–कर्मघर दुवैको तथा महिलाले समाज–देशको इज्जत राख्नुपर्ने दायित्व तोकियो । त्यस्ता विभेदकारी मूल्य–मान्यतालाई सामाजिक संस्कार ठानेर संरक्षण गर्ने सोच नै वास्तवमा संक्रमणकालीन समाजको समस्याको जरो हो ।

एकातिर हामीलाई राजनीतिक प्रणालीले तय गरेको बेलगाम बजार पनि चाहिएको छ, किनकि त्यसले हामीलाई आधुनिक बनाउँछ भन्ने सोच छ, अर्कातिर आधुनिकताका नाममा त्यो बजार यौनिकतालाई प्रयोगका क्रममा कस्ता संस्कार प्रर्वद्धन गर्ने, कस्ता लुगा र अन्य सामग्री उत्पादन गर्ने र कसलाई कसरी प्रयोग गरी कति नाफा कमाउने भन्ने रणनीति बनाउन व्यस्त छ ।

अनि हामीलाई चाहिए पनि नचाहिए पनि बजारले उत्पादन÷आयात गरेका लुगा तथा अन्य सामग्री प्रयोग गर्नुको विकल्प छैन । यो सांस्कृतिक संक्रमणको जालोमा बेरिएका हामी आज प्रश्न गरिरहेका छौं– तिमी घर, समाज र देशको इज्जत राख्ने छोरी–बुहारी भएर किन छोटा लुगा लगाएर हिड्छौं ? किन ढाड देखाउने चोली लगाउँछौं ? अनि खिसिटिउरी गर्छौं, फलानाले त गर्भ भएको पेट देखाइन् । तर हामी नवउदारवादका नाममा हाम्रा जीवनशैली, संस्कृति र आवश्यकतामा मनलागी गर्ने नाफाखोर बजारलाई कहिले प्रश्न गर्छाैं ? गर्दैनौं ।

एउटा धरातलीय उदाहरण हो, साउनमा हरियो चुरा÷लुगा लगाउने प्रचलन । यसको वैज्ञानिक आधार के ? यो रहरले कसलाई नाफा भएको छ ? यसले महिलोको लैंगिक विकास, सशक्तीकरण वा स्वतन्त्रतामा के योगदान गरेको छ वा गर्नेवाला छ ? अथवा, यौनिकता बुझ्ने÷व्याख्या गर्ने त्रुटिपूर्ण सामाजिक–सांस्कृतिक मनोविज्ञानलाई सकारात्मक बाटोतर्फ मोड्न के मद्दत गरेको छ ? अझ हरिया चिज लगाउने साउनभन्दा घातक र विषालु छ– महिलाले ‘पाप पखाल्ने’ महिना भदौ।

तीजको व्रत र पञ्चमी नुहाइधुवाइ महिलाको स्वास्थ्यसँग सम्बन्धित हुन् कि यौनिकताप्रतिको गलत बुझाइ र सांस्कृतिक भ्रम ! अनि यो सब गर्नुपर्ने सांस्कृतिक दायित्व हिजो महिलालाई मात्र किन÷कसले थोपर्यो ? र, आज आधुनिकताका नाममा यी भ्रमको नयाँ संस्करणबाट कसले नाफा कमाइरहेको छ ? आखिर कुरा त फेरि पनि निर्णयमा हावी को छ र इमान्दार नियम पालनकर्ता को हो भन्नेसँग जोडिन्छ । हाम्रो धरातलीय परिवेशमा समाजका सबै निकाय, चाहे त्यो परिवार–छरछिमेक हुन् वा समुदाय, वा नाफामुखी बजार, सांस्कृतिक मूल्य–मान्यता प्रवर्द्धन गर्ने सञ्चार–संरचना हुन् अथवा राज्य–संरचना– कुन लैंगिक पहिचानवालाको निर्णयमा चल्छन् भन्ने कुरा त भनिरहनु नपर्ला ।

के कस्ता नीति बनाउने, राजनीतिक पद्धति निर्माण र सञ्चालन कसरी गर्ने, नाफामुखी बजारको हालीमुहाली नागरिकका निजी र सार्वजनिक जीवनमा कति हदसम्म बेलगाम छाडिदिने, आधुनिकताका नाममा रूढि र विषालु परम्परालाई रूपान्तरण गर्ने भन्दा झन् जटिल संस्करणमार्फत निश्चित वर्ग र लैंगिक पहिचान भएकामा थोपर्ने भन्ने त हिजोको सामन्ती पितृसत्ताको आधुनिक रूप पुँजीवादी पितृसत्ता नै हो भन्नेमा दुविधा छैन ।

त्यही पितृसत्ता जसले हिजो टाउकादेखि पैतालासम्म ढाकिएर हिँड, नत्र तिमीहरूको यौनिकतामा धावा बोलिन्छ भनेर उर्दी जारी गथ्र्यो, आज त्यही पितृसत्ताले आधुनिक संस्करणमार्फत विपरीत लिंगीलाई ढाड देखाएर हिँड, छोटा लुगा लगाऊ, पेट देखाऊ, छाती प्रदर्शन गर भनेर फर्मान जारी गर्छ । हिजो विभेदकारी र विषालु संस्कारमार्फत सामाजिक–सांस्कृतिक शक्ति आर्जन गरी परिवार, समाज र राज्य–संरचनामा हैकम जमाउनु थियो, आज आधुनिकताका बहानामा परिवार, समाज, राज्य–संरचना, सांस्कृतिक, राजनीतिक र आर्थिक शक्ति झन् सुदृढ पार्नुछ ।

अनि त उसले लैंगिक पहिचान र यौनिकताका आधारमा नाफाको व्यापार वृद्धि गर्न महिलालाई प्रयोग गर्छ । उदेक लाग्दो त के छ भने हामी महिला, बजारका इमान्दार उपभोक्ता भई गर्व गर्छौं; संस्कृति–परम्परा आधुनिक भए भनेर सिंगारिन्छौं, नांगिन्छौं, भावनात्मक रूपमा बेचिन्छौं र ठान्छौं, हामी आधुनिक जीवनशैली बाँचिरहेका छौं ! तर हामी आफ्नो यौनिकता र लैंगिक पहिचानमा भइरहेको व्यापारको भेउ पाउँदैनौं ।

हुन त बजारिया आधुनिकीकरणको दौडधुप ठूला सहरहरूमा बढी पाइएका छन्, जहाँ घरानियाँ व्यापारी र उस्तै तप्काका उपभोक्ता हुन्छन् । तर भूमण्डलीकरणको यो युगमा यसका अनेक रूप समाजका कुना काप्चासम्मै पुगेकाले थोरबहुत सबै खालै वर्ग र समुदाय प्रभावित नहुने कुरै भएन । अहम् प्रश्न के हो भने बजारको गतिसँगै नयाँ–नयाँ संस्करणमा गरिने यौनिकताको व्यापारमा हामी कहिलेसम्म प्रयोग भइरहने? सामाजिक चेतद्वारा बजारलाई कहिले प्रश्न गर्ने र सकारात्मक रूपान्तरणमा सघाउ पुर्याउने ? (नेपालखबरबाट)

यौनिकताका कुराले किन तरंग ?

जनप्रतिनिधिको गरिमा

यौनिकताका कुराले किन तरंग ?

विश्वमा झनै बढ्यो कोरोना, कतै तेस्रो त

Leave a comment

Your email address will not be published. Required fields are marked *