जनप्रतिनिधिको गरिमा

जनप्रनिनिधि स्थानीय सरकारका नेतृत्वकर्ता हुन् । अर्थात स्थानीय सरकार संचालन गर्ने जनताले पठाएको प्रतिनिधि नै जनप्रनिधि हुन् । जनताको मतबाट निर्वाचित भएका उनीहरुले जनअपेक्षा अनुसार काम गर्नुपर्ने हुन्छ । यही बाचा गरेर नै उनीहरु निर्वाचित पनि भए ।
तर सरकार संचालन गर्ने महत्वपूर्ण जिम्मेवारी पाएका जनप्रनिनिधिहरुले के आफ्नो पदको गरिमा जोगाएका छन् त ? अथवा पद र संस्थाको मान, प्रतिष्ठा र इजजत जोगाउन जनप्रतिनिधिहरु सफल भएका छन् त ? आज यो प्रश्न मुख्यगरी उठ्न थालेको छ । कारण पछिल्लो समय जनप्रतिनिधिहरु विभिन्न अपाराधिक घटना र क्रियाकलापमा मुछिन थालेका छन् ।
सामान्य चोरी र डकैतीका घटनादेखि व्यक्ति हत्यासम्मका घटनामा जनप्रतिनिधिहरुको नाम जोडिन थालेपछि नागरिकमा जनप्रतिनिधिप्रतिको विश्वासा र भरोसा टुट्न थालेको छ । ठूलो महत्वाकाँक्षा र अपेक्षा जनप्रतिनिधिप्रति थियो । त्यो अपेक्षा वितेका चार वर्षमा जनप्रतिनिधिले कति पूरा गरे वा गरेनन् ? यसको अलग्गै समिक्षा होला ।
तर यो अवधिमा जनप्रतिनिधिहरु जसरी अपराधमा मुछिएका छन्, यसले राम्रो सन्देश दिएको छैन । जनप्रनिनिधि वास्तवमा नागरिकका अभिभावक हुन् । समाजमा शान्ति कायम गर्न, अपराध रोक्न र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिन स्थानीय सरकारको पहिलो जिम्मेवारी हो । सबैभन्दा नजिकको सरकार भएकाले पनि स्थानीय तहका जनप्रतिनिधिबाट यो अपेक्षा बढी नै हुन्छ ।
तर जसले समाजमा अपराध नियन्त्रणमा आवश्यक नीति र नेतृत्व सम्हाल्नुपर्ने हो, आज उनीहरु नै विभिन्न घटनामा मुछिन थालेका छन् । केही जनप्रतिनिधिको अपराध कर्मका कारण समग्र जनप्रतिनिधिप्रति नै गलत धारणा विकास हुन थालेको छ । केही गलत र अपराधिक मानसिकताका जनप्रतिनिधिहरुका कारण स्थानीय सरकार नै वदनाम भएका छन् ।
कर्णालीका केही जनप्रतिनिधिहरु जनमतको अपमान गर्दै मूर्ति चोरी, अनियमितता, कुटपीट र हत्याका घटनामा संलग्न भएका छन् । जसले समाजमा र स्थानीय स्तरमा कानुनको कार्यान्वयन र पालना गराउनुपर्ने हो, आज उनीहरुले नै कानुन हातमा लिएर गलत हर्कत गरिरहेका धेरै घटना छन् ।
जनप्रतिनिधिले आफ्नो गरिमा आफै जोगाउनु पर्दछ । संघीयताको कार्यान्वयन र यसको सफलता पनि स्थानीय तहसँग जोडिएको छ । आज स्थानीय तहले दिने प्रभावकारी सेवा र जनप्रतिनिधिहरुको बौद्धिकताले संघीयतको जग बसाल्ने हो । तर योृ बिचमा केही जनप्रतिनिधिहरुबाट जुन काम भएका छन्, त्यसले निराशा पैदा गरेको छ ।
नागरिकमा जनप्रतिनिधिको विश्वास र भरोसा टुट्न थालेको छ । यसकारण जनप्रतिनिधिहरुले आफ्नो जिम्मेवारी, आफू कार्यरत संस्थाको प्रतिष्ठा र आफ्नो पदको गरिमा जोगाउन बेलैमा सचेत हुनु पर्दछ । पदीय मर्यादा अनुसार जनभावना अनुसार काम गर्नु पर्दछ ।
समाजमा व्याप्त अपराध, कुसंस्कार र गलत कामको जालो तोड्न जनप्रतिनिधिहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नु आवश्यक छ । निर्वाचनमा आफैले गरेका बाचा पूरा गर्दै नागरिकको चाहना अनुसार काम गर्न सकेमा मात्र जनप्रतिनिधिले जनमतको सम्मान गरेको ठहरिनेछ । यसका लागि जनप्रतिनिधिले आफ्नो गरिमा आफै जोगाउनु पर्दछ ।






