कोरोना संक्रमण बढेपछि पुनः चेकजाँचमा कडाइ

सुर्खेत । पछिल्लो दुई सातायता सुर्खेतमा कोरोना संक्रमण ह्वात्तै बढेको छ । यही गतिमा संक्रमण बढ्दै गए फेरि लकडाउन गर्नेबारे विज्ञहरुले सोच्नुपर्ने बताउन थालेका छन् । यही जोखिमलाई मध्यनजर गर्दै सुर्खेतका सरोवारवाला निकायहरु लकडाउनको अवस्था आउन नदिने उपायको खोजीमा जुटेका हुन् ।
जिल्ला प्रशासन कार्यालय, जनस्वास्थ्य कार्यालय, सुर्खेत उद्योग बाणिज्य संघ, यातायात व्यावसायी र सुरक्षा निकायहरु लकडाउन गनुपर्ने अवस्था आउन नदिने उपायको खोजीमा जुटेका छन् । जसका लागि दुई दिनदेखि सरोकारवाला निकायले तपाइको मास्क खोई ? भन्ने अभियान नै सुरु गरेका छन् ।
नागरिकलाई अनिवार्य रुपमा मास्क प्रयोग गराउने र संक्रमणको दर थप फैलिन नदिने उद्देश्यले अभियान सुरु गरिएको हो । सर्बसाधारण नागरिकलाई मास्कको प्रयोग अनिवार्य गराउन मंगलबार र बुधबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जिल्ला जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्ले, जिल्ला प्रहरी कार्यालय, सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीहरुले मास्क अनिवार्य प्रयोग गर्न÷गराउन सचेतानमूलक अभियान गरेका छन् ।
उनीहरुले मंगलबार र बुधबार सडकमा हिँड्ने बटुवा, सवारी चालक, पसलका सञ्चालकहरुलाई माक्स लगाउँदाका फाइदा, कोरोनाबाट हुने जोखिम र निःशुल्क मास्क वितरण गरिएको छन् । संक्रमण बढेपछि तपाईंको मास्क खै ? अभियान संचालन गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । नागरिकहरु मास्क लगाउन अटेर गरेको, भिडभाड हुने ठाउँबाट संक्रमण फैलिएको र संक्रमण नरोकिए पुनः लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै तपाइको मास्क खोही अभियान थालेका रिजालले बताए ।
अहिले संक्रमणदर ५० प्रतिशतभन्दा माथि पुगि सकेको छ । साउन पहिलो सातासम्म ओरालो लागेको सङ्क्रमण दर दोस्रो सातापछि उकालो लागेको बरिष्ठ जनस्वास्थ्य प्रशासक चेतननिधि वाग्लेले बताए । साउन अन्तिम सातादेखि संक्रमण भयाभह हुनसक्ने उनको चेतावनी छ । नजिकिदै गरको चाडपर्वमा भीडभाड बढ्ने र कोरोनाको जोखिम भयावह हुने खतरा छ । वीरेन्द्रनगरमा संक्रमण बढेपछि विहान ९ बजेदेखि बेलुका ६ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न नियम लगाइएको छ ।

मास्क नलगाए एकसय रुपैयाँ जरिवाना
दुई दिनसम्म जनचेतनामूलक अभियान सञ्चालन गरेको जिल्ला प्रशासन कार्यालयले अब अटेरी गर्नेलाई कारबाही गर्ने भएको छ । मास्क लगाउनुपर्छ भन्ने जानकारी हुँदाहुँदै पनि मास्क प्रयोग नगर्ने व्यक्तिलार्ई अब एकसय रुपैयाँ जरिवाना तिराउने प्रशासनले जनाएकोे छ । ‘मास्क प्रयोग गर्नुपर्छ भन्ने सबै नागरिकलाई थाहा छ, तर जान्दाजान्दै अटेरी गर्नेहरु धेरै छन्’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘अब मास्क नलगाई घरबाहिर निस्कनेलाई एकसय रुपैयाँ जरिवाना तिराउँछौ, गल्ती दोहो¥याएमा संक्रामक रोक ऐनअनुसार थप कारबाही गर्छाैँ ।’
संक्रमण बढ्न थालेपछि जनचेतना फैलाउने कार्यलाई तीब्र पारिएको उनको तर्क छ । ‘मुख्य–मुख्य चौकमा पुगेर माइकिङ् गरिएको छ, मास्क पनि बाँढिएको छ, तर पनि अटेरी गर्न छोडिएको छैन’ उनले भने, ‘फेरि लकडाउन गर्नुभन्दा अब जसरी भए पनि मास्क प्रयोग अनिवार्य गरिनुपर्दछ ।’ बुधबारदेखि बढी भीड हुने क्षेत्रहरुमा माइकिङका र मास्क वितरण गरेर जनचेतना फैलाइएको छ । यसअघि जनचेतनामूलक कार्यक्रम गरिसकेका स्थानमा माक्स नलगाउनेलाई कारवाही गरिनेछ ।
‘निषेधाज्ञाको अवस्था आउन नदिआैं’
सुर्खेत उद्योग वाणिज्य संघले पनि फेरि निषेधाज्ञा गर्नुपर्ने अवस्था आउन नदिन स्वास्थ्य सावधानी अपनाउनुपर्ने बताएको छ । बुधबार कोरोना रोकथामका लागि आयोजित सुझाव संकलन कार्यक्रममा व्यवसायीहरुले स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरी उद्योग व्यवसाय खुल्ला गर्ने निष्कर्ष निकालेका छन् ।
संघका विशिष्ठ सदस्य हरिशचन्द्र चलाउनेले संक्रमण बढ्यो भन्दै प्रशासनले निषेधाज्ञा लगाउने भन्दै सुरक्षा मापदण्डको पूर्ण पालना गर्दै बजार खुला राख्नतर्फ पहल गर्न बताए । संघका बरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले वजार छिर्ने नाकाहरुमा मास्क प्रयोग अनिवार्य गराउन प्रहरी प्रशासनलाई सुझाव दिए ।
त्यस्तै प्रदेश अस्पतालका डाक्टर नवराज केसीले जिल्ला तथा प्रदेश छिर्ने नाकाहरुमै चेक जाँच, समुदाय स्तरमा महिला तथा आमा समूहरुलाई सक्रिय बनाउन सकिए कोरोना नियन्त्रण गर्न सहज हुने बताए । उनले बजार क्षेत्र बन्द गर्न नहुनेमा जोड दिदैं व्यावसायीहरुले पनि सुरक्षा मापदण्ड पूर्ण पालना गर्नुपर्ने बताए । संघका अध्यक्ष धनबहादुर रावतले मास्क प्रयोगमा लापरबाही भएकोले सम्पूर्ण व्यवसायीहरुलाई पूर्णरुपमा खोप लगाउनुपर्ने, मास्क अनिवार्य प्रयोग गर्नुपर्ने, ग्राहकहरुलाई पनि मास्क प्रयोगको सुझाव दिनुपर्ने बताएका थिए ।
‘एक जनाले मास्क नलगाउँदा १२ जनालाई सर्छ कोरोना’
यतिबेला निषेधाखा खुकुलो भएपछि अधिकांश नागरिकले मास्क प्रयोग गर्न छोडेका छन् । तर मास्क प्रयोग नगर्दा भने ठूलो जोखिम बढेको छ । मास्कको प्रयोग नगरेकै कारण संक्रमण तीव्र गतिमा फैलिएको चिकित्सकहरुले बताएका छन् छन् ।
‘एउटा संक्रमित व्यक्तिले मास्क नलगाएर भिडभाडमा गयो भने कम्तिमा ६ देखि १२ जनासम्मलाई कोरोना सार्छ’ प्रदेश अस्पताल सुर्खेतका फिजिसियन डाक्टर केएन पौडेल भन्छन्, ‘मास्क प्रयोग नगरेर संक्रणणबाट बच्न सकिन्छ भन्ने भ्रममा नपरौँ, यदी संक्रमणबाट बच्ने भए मास्क लगाएर मात्रै घरबाहिर निस्कने गरौँ ।’ सही तरिकाले मास्क प्रयोग गरे ९० प्रतिशत जोखिमबाट बच्न सकिने डाक्टर पौडेलको भनाइ ।
‘मास्कले संक्रमण रोक्न धेरै सहयोग गर्छ, सही तरिकाले मास्क लगाए मात्रै ८० प्रतिशत जोखिमबाट बच्न सकिन्छ’ उनले भने, ‘तर मास्क नगाएर भिडभाडमा हिँडेपछि ९० प्रतिशत संक्रमणको जोखिम हुन्छ ।’ लक्षण नदेखिएका, कोरोना चेक नगराएका नागरिक पनि भिडभाडमा जाने भन्दै उनले मास्क प्रयोग गर्नु नै संक्रमणबाट बच्ने उत्तम विकल्प भएको बताए । संक्रमित घरमै बसे पनि मास्क प्रयोग नगर्दा ६ जनासम्मलाई संक्रमण फैलिने उनको भनाइ छ ।
फेरि वीरेन्द्रनगरमा कोरोनाको जोखिम बढेको भन्दै उनले निषेधाज्ञा र संक्रमणबाट बच्न मास्कको सही प्रयोग गर्न सुझाव दिए । दुई हप्तादेखि वीरेन्द्रनगरमा ६५ प्रतिशतले संक्रमण फैलिएको छ । प्रदेशभर दैनिक १५ देखि २० जनासम्म संक्रमितहरु अस्पताल भर्ना हुने गरेका छन् ।






