धुलियाबिट–बोटेचौर सडक खण्ड तिहार लगत्तै कालोपत्रे गर्ने तयारी

सुर्खेत, १८ असोज । सुर्खेत खण्डमा पर्ने मदन भण्डारी राजमार्गको धुलियाबिट– भेडाबारी–बोटेचौर सडक खण्डा कालोपत्रे (स्तरोन्नति) हुने भएको छ । तिहार लगत्तै स्तरोन्नति गर्ने आयोजनाले जनाएको छ । ‘ठेक्का प्रक्रिया टुंगिएको छ’ मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयका इन्जिनियर शिव तिमिल्सेनाले भने, ‘तिहार लगत्तै स्तरोन्नतिको काम सुरु हुन्छ ।’
कालीका केएसजेभीले यो राजमार्ग अन्तगृत धुलियाबिट– बोटेचौर खण्डमा स्तरोन्नति गर्ने जिम्मा पाएको छ । स्तरोन्नतिका लागि निर्माण कम्पनीले हाल लेआउट सर्भेको काम गरिरहेको छ । दशैसम्म सर्भे सक्ने र तिहार लगत्तै स्तरोन्नति गर्ने आयोजनाको तयारी छ । बहुबर्षिय आयोजना अन्तर्गत स्तरोन्नति थालिने भएका हो ।
धुलियाबिटदेखि बोटेचौरसम्म ३५ किलोमिटर सडक खण्डको स्तरोन्नति गर्न लागिएको हो । नौ मिटर चौडाइसम्म कालोपत्रे गरिने छ । हाल सडक औसत चार मिटर चौडाइ छ । अब स्तरोन्नति गर्दा झण्डै ५२ प्रतिशत सडक चौडा हुनेछ ।
यो आयोजना कार्यान्वयन गर्दा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ र १३, लेकबेशी नगरपालिकाको वडा नं. १, २, ३, ४, ६, ७, ९ र १० र गुर्भाकोट नगरपालिका वडा नं. १०, १२, १३ र १४ प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । यो सडक स्तरोन्नति भएको खण्डमा पूर्वका नागरिकलाई वीरेन्द्रनगर आउजाउ गर्न सहज हुनेछ । २०३६ सालमा ट्¥याक खुलेको धुलियाबिट–भेडाबारी सडक खण्ड ४२ वर्षपछि कालोपत्रे हुन लागेको हो ।
पूर्वी क्षेत्रका नागरिकको आर्थिक समृद्धिसँग जोडिएको भेडाबारी सडक खण्ड स्तरोन्नति भएमा ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ । सडक स्तरोन्नतिका लागि अघिल्लो आर्थिक बर्षको कात्तिक महिनामा कार्ड कन्सल्ट प्रालिले आयोजनाको डीपीआर तयार गरेको थियो । स्तरोन्नतिका लागि दुई अर्ब बजेट खर्च हुनेछ ।
पश्चिम खण्डको डिपीआर तयार
मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको पश्चिम खण्डको स्तरोन्नतिका लागि डीपीआर तयार भएको छ । सिल्टर सिआरसी र जिओकम जेभी कन्सलटेन्सीले डीपीआर तयार पारेका हुन् । पश्चिम खण्डको पञ्चपुरीको खम्बागाडे– पलैटे–बराईचे हुँदै बाबियाचौर जोड्नुपर्ने कि खम्बागाडे– शिवधाम हुँदै बाबियाचौर जोड्नुपर्ने भन्ने विषयमा विवाद भएको थियो । विवाद् मिलाउन दुबै खण्डको सडक स्तरोन्नति गर्ने सहमति गरिएको थियो ।
सहमति अनुसार मदन भण्डारी राजमार्गलाई खम्बागाडे– पलैटे–बराईचे हुँदै बाबियाचौर लिईने छ भने खम्बागाडे– बाबियाचौर–विद्यापुर खण्डलाई पनि राष्ट्रिय राजमार्ग सरहकै रुपमा स्तरोन्नति गरिने छ । जम्मा २० किलोमिटर लम्बाइ रहेको खम्बागाडे–बाबियाचौर– विद्यापुर सडकलाई ५० मिटर चौडाइको बनाइने छ । सुर्खेतको पूर्व र पश्चिम खण्डमा एकैपटक डीपीआर निर्माण थालिएको थियो । तर सर्वेक्षणमै स्थानीयले अबरोध गरेका कारण पश्चिम खण्डमा डीपीआर निर्माणमा ढिलाइ भएको थियो ।
‘पश्चिम क्षेत्रको बल्ल– बल्ल डीपीआर बनेको छ’ आयोजनाका इन्जिनियर तिमिल्सेनाले भने, ‘कन्सलटेन्सीले तयार पारेको डीपीआर अध्ययन भइरहेके छ ।’ डीपीआर अध्ययन पुराभएपछि मन्त्रिपरिषद्ले स्विकृति दिनुपर्ने हुन्छ । डीपीआर स्विकृति हुने वित्तिकै पश्चिममा पनि ठेक्का प्रक्रिया अगाडि बढ्छ । पश्चिम खण्डमा पनि चालु आर्थिक बर्षभित्रै ठेक्का प्रक्रिया थालेर सडक स्तरोन्नति गर्ने आयोजनाको तयारी छ ।
डीपीआर अनुसार सडक स्तरोन्नतिसँगै पश्चिम खण्डमा धेरै ठाउँमा पुलहरु निर्माण गर्नुपर्ने छ । जसमध्ये तीनवटा स्थानमा तत्काल पुलहरु निर्माण गर्नुपर्ने छ । पुल निर्माण गर्दा धेरै समय लाग्ने भएका कारण हाल आयोजनाले पुल निर्माणको लागि प्राविधि अध्ययत लगायतका कामहरु गरिरहेको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत सुर्खेतको पश्चिम खण्डमा ९४ किलोमिटर सडक पर्दछ । राजमार्गले बराहताल गाउँपालिकाको बड्डिचौर हुँदै वेनिघाट जोड्छ । डीपीआर स्वीकृत भएपछि ट् र्याक खुलेको २७ बर्षपछि पश्चिम सडक खण्ड स्तरोन्नति हुनेछ । बड्डीचौर–बेनिघाट सडक खण्ड २०५१ सालमा ट्याक खुलेको थियो ।






