खुलामञ्च खुला नै राखौं

नेपालीमा एउटा उखान छ, रक्षक नै भक्षक । अर्थात जसले संरक्षण वा जोगाउनुपर्ने हो, यसैले नोक्सान गर्नु हो जोगाउन नसक्नु । यतिबेला वीरेन्द्रनगरमा यस्तै भएको छ । हिजोआज निकै चर्चाको विषय नै बनेको छ । वीरेन्द्रनगरमा रहेको एकमात्र ठूलो क्षमताको खुला चौरलाई घेरबार गरिएको छ ।
जसलाई खुलामञ्च भन्ने गरिएको छ । जिल्ला समन्वय समितिको कार्यालय र घण्टाघर बिचको खुला चौरको संरक्षण गर्ने र जोगाउने मुख्य दायीत्व वीरेन्द्रनगर नगरपालिकाको हो । किनकी वीरेन्द्रनगर उपत्यकाको गुरुयोजना अनुसार यो चौरलाई खुला क्षेत्र बनाउने उल्लेख छ ।
अर्थात यो स्थानलाई कुनै पनि पार्क वा संरचना निर्माण नगरिने उक्त गुरुयोजनाले परिकल्पना गरेको छ । यही कारण आजसम्म यो स्थान खुला नै थियो । जहाँ जिल्लाका मात्र होइन, कर्णाली प्रदेशस्तरकै ठूला मेला, महोत्सव र कार्यक्रमहरु आयोजना गर्न सम्भव थियो । एकैपटक धेरै मानिस अट्ने क्षमता भएका कारण पनि यो स्थानको महत्व आफ्नै छ ।
तर पछिल्लो समय यसलाई मास्ने चेष्टा गरिएको छ । यसको औचित्यता र आवश्यकतालाई कुल्चदै कुरुप बनाउने प्रयास गरिएको छ । अझ भनौं गुरुयोजना नै कुल्चेर अनावश्यक संरचना बनाउन थालिएको छ । जो आवश्यकताको आधारमा भन्दा पनि असारे बजेट सक्नकै लागि अनावश्यक संरचनाहरु बनाउन थालिएको छ । जसको यतिबेला सर्वत्र आलोचना र विरोध भइरहेको छ ।
के खुलामञ्चमा पार्क आवश्यक हो ? वा वीरेन्द्रनगरमा पार्क निर्माणका लागि अरु स्थान नभएकै हुन् ? पार्क निर्माणका लागि गुरुयोजनाले छुट्याएका स्थानको हालत वेहाल छ । जहाँ पार्क बनाउनुपर्ने हो, त्यहाँ अलपत्र छाडिएको छ । तर खुलामञ्चलाई अनावश्यक कुरुप बनाउने काम वीरेन्द्रनगर नगरपालिकाले गरेको छ ।
यो काम तत्काल बन्द हुनु पर्दछ । किनकी वीरेन्द्रनगरको जनघनत्व दिनहुँ बढ्दो छ । सहरिकरणसँगै नगरभित्र खुला स्थानहरु मासिदै गएका छन् । यस्तो अवस्थामा प्राकृतिक विपद् भुकम्प र डुवान पर्दा आवश्यक पर्ने स्थानको अभाव छ । यस्तो अवस्थामा खुलामञ्चको चौरलाई अनावश्यक संरचना बनाएर अतिक्रमण गर्नु उपयुक्त होइन् ।
उपत्यका नगर विकास समितिको नेतृत्व पनि नगरपालिकाले नै सम्हालेको छ । यसकारण पनि नगर विकास मातहतमा रहेको यो जग्गा नगरपालिकाले संरक्षण गर्ने हो । अरुबाट अतिक्रमण भए वा गुरुयोजना विपरित काम भएमा नगरपालिकाले नै त्यसलाई जोगाउने हो ।
हिजो प्रदेश सरकारले नगरभित्रकै एउटा सानो चौरमा मकै लगाउँदा गुरुयोजना मिचिएको भन्दै विज्ञप्ति निकाल्ने नगरपालिकाको नेतृत्व आज आफैले गुरुयोजना कुल्चेर खुलामञ्च मास्ने काम गर्नु कतिको जायज छ ? यहाँ नैतिकताको प्रश्न कहाँ गयो ? यसकारण कुनै पनि वहानामा खुलामञ्चलाई खुला नै राख्नु पर्दछ ।
सर्वसाधारणले त्यहाँ सहज रुपमा पहुँच र प्रवेश गर्न पाउनु पर्दछ । यो सहरको सुन्दरतासँगै आवश्यकता पनि हो । यसतर्फ नगरपालिकाले ध्यान देओस् । पार्क नै बनाउने भए खुलामञ्च बाहेक अरु स्थानमा लगानी गर्दा पनि हुन्छ ।






