नेकपा विभाजनको विवादः कर्णालीमा पार्टीका जिल्ला कार्यालय हत्याउन रस्साकस्सी

सुर्खेत, १५ पुस ।

‘देशभरका पार्टी कार्यालयहरु हाम्रा हुन्, रगत र पसिना बगाएर निर्माण गरेका पार्टी कार्यालयहरुमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालको समूहले आँखा लगाउन पाइँदैन’ सोमबार सुर्खेत आएका प्रधानमन्त्री ओली पक्षका युवा नेता महेश बस्नेतले अर्को समूहलाई चेतावनी दिदै भने । बस्नेतले घण्टाघरमा भाषण गरिरहँदा प्रचण्ड–नेपाल पक्षका नेताहरुलाई चिसो पसिसकेको थियो,‘कतै ओली पक्षले सुर्खेतको पार्टी कार्यालय त कब्जा गर्दैन ?’

बस्नेतले यसअघि विभिन्न जिल्लामा पुगेर पार्टी कार्यालयमा प्रवेश गरेको र सोही रणनीति अनुसार सुर्खेत पार्टी कार्यालय कब्जा गर्छन् कि भन्ने आशंका प्रचण्ड–नेपाल पक्षलाई थियो । तर प्रचण्ड–नेपाल पक्षले सोचेजस्तो गरी ओली समूहले पार्टी कार्यालय कब्जा गरेन । त्यही सन्दर्भलाई संकेत गर्दै मंगलबार विहानै एकजना कार्यकर्ताले सामाजिक सञ्जालमा लेखे,‘सुर्खेतको पार्टी कार्यालय कब्जा गर्ने मुख्य योजना असफल भयो, पर्यटकहरु साथीहरु आउँछन् जान्छन् ।’

मंगलबार सुर्खेतको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँर्कीले पार्टी कार्यालयहरुतर्फ केन्द्रीत गर्दै ओली समूहलाई भनिन्, ‘भौतिक सम्पत्तिले नेताको राजनीति जोगाउँदैन, पार्टी कार्यालयभन्दा लोकतन्त्र र संविधानको रक्षा मुख्य प्राथमिकता हो ।’ झाँर्कीले पार्टी कार्यालय कसले पाउने विषय प्राथमिकतामा नपरेको बताए पनि विभाजनपछि नेकपाका दुबै समूह पार्टी कार्यालयहरु कब्जा गर्ने रणनीतिमा छन् । कर्णालीका १० वटै जिल्लाका पार्टी कार्यालयहरु दुबै पक्षले दाबी गर्दै आएका छन् । दश जिल्लामध्ये सात जिल्लामा प्रचण्ड–नेपाल समूहले पार्टी कार्यालय आफ्नो कब्जामा रहेको दाबी गरेको छ ।

प्रचण्ड–नेपाल समूहले सुर्खेत, रुकुमपश्चिम, जाजरकोट, हुम्ला, जुम्ला, कालिकोट, मुगु र जुम्लाको पार्टी कार्यालय अहिलेसम्म आफ्नो कब्जामा रहेको दाबी गर्दै आएको छ । ओली समूहले भने दैलेख, डोल्पा र सल्यानका पार्टी कार्यालयहरु कब्जा गरेको बताएका छन् । अन्य जिल्लाभन्दा सुर्खेतको पार्टी कार्यालयमा आफूले लिन दुबै पक्षले निकै रस्साकस्सी गर्ने देखिएको छ । व्यापारिक दृष्टिकोणले उपयुक्त र प्रदेश राजधानी भएका कारण पार्टी कार्यालयलाई जस्तोसुकै हर्कत गरेर भए पनि कार्यालय आफूले कब्जा गर्ने दुबै पक्षको रणनीति छ । सटर भाडाबाट मात्रै पार्टीलाई मासिक लाखौँ आम्दानी हुन्छ । हाल पार्टी कार्यालयको तालाचावी प्रचण्ड–नेपाल समूहलेको कब्जामा छ ।

सुर्खेतका जिल्ला कमिटी अध्यक्ष धु्रवकुमार शाही र सचिव कृष्णबहादुर जिसी प्रचण्ड–नेपाल समूहका हुन् । पूर्वएमालेको पार्टी कार्यालय नै सुर्खेत नेकपाको पार्टी कार्यालय बनाइएको छ । पूर्वमाओवादीको पार्टी कार्यालयमा भने नेकपा कर्णाली प्रदेश कमिटीको कार्यालय राखिएको छ । त्यस्तै जुम्लामा नेकपाको पार्टी कार्यालय हाल प्रचण्ड–नेपाल पक्षको कब्जामा छ । जिल्लामा ओली समूह कमजोर रहेका कारण उसले पार्टी कार्यालय दावी गरेको छैन । जुम्लाका जिल्ला अध्यक्ष वीरबहादुर कुँवर र सचिव तीर्थबहादुर बुढा प्रचण्ड–नेपाल समूहकै छन् । हाल नेकपा पार्टी कार्यालय तत्कालीन एमालेको कार्यालय हो । माओवादीको पार्टी कार्यालय भने अहिले पनि नेकपाले नै प्रयोग गर्दै आएको छ ।

त्यस्तै दैलेखको पार्टी कार्यालय कसैले दावी गरेका छैनन् । ओली समूहका ठूला नेताकार्यकर्ता काठमाडौ छन् । नेकपा पार्टी कार्यालय पूर्वएमालेको पार्टी कार्यालय हो । दैलेखका जिल्ला अध्यक्ष रवीन्द्रराज शर्मा ओली समूहका हुन् भने सचिव प्रेम कटुवाल प्रचण्ड–नेपाल समूहका हुन् । रूकुमपश्चिमको पार्टी कार्यालय प्रचण्ड–नेपाल समूहले नै दाबी गर्दै आएको छ । रूकुममा जिल्ला अध्यक्ष गोपाल शर्मा र सचिव विमल पुन प्रचण्ड–नेपाल समूहकै हुन् । त्यहाँ ओली समूह निकै कमजोर छ । त्यस्तै डोल्पाको पार्टी कार्यालय ओली समूहको कब्जामा छ । त्यहाँ जिल्ला अध्यक्ष दत्तबहादुर रोकाय ओली र सचिव मालबहादुर रोकाया प्रचण्ड–नेपाल समूहका हुन् ।

कालिकोटको पार्टी कार्यालयमा पनि निकै रस्साकस्सी छ । त्यहाँ जिल्ला अध्यक्ष धर्मजित शाही प्रचण्ड–नेपाल र सचिव नागिन्द्र शाही ओली समूहका छन् । त्यस्तै मुगुको पार्टी कार्यालय पनि प्रचण्ड–नेपाल समूहकै कब्जामा छ । मुगुका जिल्ला अध्यक्ष सुरविर बुढा प्रचण्ड समूहका हुन् भने यसअघि नेपाल निकट मानिने सविच धर्मजीत शाही पार्टी विभाजनसँगै ओली समूहको केन्द्रीय सदस्य बनि सकेका छन् ।

सल्यानमा दुबै पक्षको ताला

नेकपा सल्यानको पार्टी कार्यालयमा भने दुबै पक्षले आ–आफ्नो दाबी गरेका छन् । पार्टी विभाजन भएको दोस्रो दिनमै दुबै पक्षले पार्टी कार्यालय आ–आफ्नो भएको दाबी गर्दै तालाबन्दी गरेका छन् । पार्टी विभाजन नहुँदै कार्यालय ओली समूहको कब्जामा थियो । जिल्ला अध्यक्ष गोविन्दकुमार पुनले नै कार्यालयको तालाचावी आफ्नो साथमा राख्दै आएका थिए । पार्टी विभाजन भएको दोस्रो दिनमै प्रचण्ड–नेपाल पक्षका सचिव कर्णबहादुर बुढाथोकीको नेतृत्वमा पुगेको समूहले कार्यालय आफ्नो समूहले पाउनुपर्ने दाबी गर्दै तालाबन्दी गरेको हो । पुस ९ गतेदेखि नेकपा पार्टी कार्यालय सल्यानमा दुबै पक्षले तालाबन्दी गरेका छन् । ओली समूहले भने अब पार्टी कार्यालयको ताला तोड्ने जनाएको छ । पूर्व एमालेको पार्टी कार्यालयलाई नेकपाको कार्यालयमा बनाइएको हो । पार्टी एकताअघि पूर्वमाओवादीले भने भाडाको घरमा पार्टी कार्यालय सञ्चालन गर्दै आएको थियो ।

हुम्लाको पार्टी कार्यालय प्रचण्ड–नेपाल समूहको हुने !

नेकपाभित्र देशभरका पार्टी कार्यालयहरु कसले हत्याउने भन्ने होडबाजी चलिरहँदा हुम्लाको नेकपा पार्टी कार्यालय भने प्रचण्ड–नेपाल समूहले पाउने देखिएको छ । प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा प्रचण्ड–नेपाल समूहमा फर्किएसँगै जिल्ला पार्टी कार्यालय उक्त समूहको हुने पक्काजस्तै छ । किनकी हुम्लामा नेकपाको हालको पार्टी कार्यालय सांसद लामाकै घर हो । सांसद लामाले फिर्ता नहुनेगरी आफ्नै घर पार्टी कार्यालयका लागि उपलब्ध गराएका थिए । घर पार्टीलाई उपलब्ध गराएवापत सांसद लामाले सांसद विकास कोषण्को केही रकम आफूले प्रयोग गरेका थिए । माओवादी विद्रोहका सहिदको नाममा नेकपा पार्टी कार्यालयको नाम ‘वक्ता स्मृति भवन’ राखिएको छ । हुम्लामा नेकपाका जिल्ला अध्यक्ष लालकेशर जैसी प्रचण्ड–नेपाल समूहका हुन भने सचिव दल रावल ओली समूहका हुन् ।

जाजरकोटमा पार्टीका कागजात नेताका घरमा

पार्टी विभाजनसँगै नेकपा जाजरकोटका सम्पूर्ण कागजातहरु प्रचण्ड–नेपाल समूहले घरमा लिएका छन् । ओली समूहले जतिबेला पनि कार्यालय कब्जा गर्न सक्नै भन्दै सम्पूर्ण कागजातहरु नेताले घरमा लिएको स्रोतले जनाएको छ । कागजात नेताले घरमा लिएको जानकारीपछि प्रहरीले पार्टी कार्यालयमा गर्दै आएको निगरानी गरेको छैन । यसअघि पार्टी कार्यालय कब्जा गर्ने र दुबै पक्षबीच झडप हुनसक्ने भन्दै जिल्ला प्रहरी कार्यालय जाजरकोटले ६÷७ जना प्रहरीलाई नियमित पार्टी कार्यालयमा खटाएको थियो । जाजरकोटमा जिल्ला नेतृत्वमा प्रचण्ड–नेपाल समूहका छन् । जिल्ला अध्यक्ष ढकवीर राना र सचिव करविर शाही प्रचण्ड–नेपाल समूहका हुन् । पार्टीका कार्यालय सचिवसमेत प्रचण्ड–नेपाल समूहका छन् । जसकाकारण पार्टी कार्यालयका आवश्यक कागजात कब्जामा लिन सफल भएको स्रोतले जनाएको छ । यद्यपी जाजरकोटमा पार्टी कार्यालय कसैले कब्जा गरेका छैनन् । जाजरकोटको पार्टी कार्यालय पूर्वएमालेको पार्टी कार्यालय हो । एकता अघि माओवादीले भने भाडाको घरमा पार्टी कार्यालय संचालन गरेको थियो ।

नेकपा विभाजनको विवादः कर्णालीमा पार्टीका जिल्ला कार्यालय हत्याउन रस्साकस्सी

संसद पुनर्स्थापना हुँदैन : प्रधानमन्त्री

नेकपा विभाजनको विवादः कर्णालीमा पार्टीका जिल्ला कार्यालय हत्याउन रस्साकस्सी

YUGAAWHAN NATIONAL DAILY (2077-09-15)

Leave a comment

Your email address will not be published. Required fields are marked *