साइस्मिक सर्भेपछि पेट्रोलियम अन्वेषणको पहिलो चरण सम्पन्न

सुर्खेत : साइस्मिक सर्भेको काम सकिएसँगै दैलेखमा पेट्रोलिय पदार्थ अन्वेषण अन्तर्गत पहिलो चरणको काम सम्पन्न भएको छ । दैलेख जिल्ला भित्र पर्ने धार्मिक स्थलहरु नाभिस्थान, शिरिस्थान, पादुका लगायतका क्षेत्रलाई आधार बनाई थालिएको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत पहिलो चरणको काम शुक्रबार देखी सकिएको खानी तथा भूर्गभ विभागका अन्वेषण अधिकृत डा. गणेशनाथ त्रिपाठीले जानकारी दिए ।

गत कार्तिक महिनादेखि शुरु गरिएको अन्वेषण अन्तर्गत जियोलोजिकल सर्भे, म्याग्नेट सर्भे, टेल्युरिक सर्भे, जिओकेमिकल सर्भे, स्याम्पलिङ सर्भे र साइस्मिक सर्भेको काम चिनियाँ प्राविधिक टोलीले सम्पन्न गरेको अन्वेषण अधिकृत त्रिपाठीले बताए ।  अन्वेषण अन्तर्गत सबै भन्दा महत्वपूर्ण मानिएको साइस्मिक सर्भे रहेको थियो । अधिकृत त्रिपाठीका अनुसार चिनियाँ प्राविधिक टोली चीन फर्कने र अन्वेषणमा संकलन गरिएका डाटाको तीन महिनासम्म अध्ययन गरी पुनः फर्केर चार किलोमिटर गहिराइसम्म मुख्य ड्रिलिङको काम पनि गरिने छ ।

साथै ड्रिलिङको काम आगामी वर्षको भदौ–असोजबाट शुरु गरिने र प्राविधिक टोलीले चाईना पुगेर कुन ठाउँमा ड्रिलिङ गर्ने भनेर म्यापिङ गर्ने तथा फेरी अर्काे चिनियाँ टोलि ड्रिलिङका लागी पुन ः नेपाल आउने बुझिएको छ । चिनियाँ प्राविधिक टोलीले दैलेखका भैरवी, भगवतिमाई, महाँवु, डुङ्गेश्वर गाउँपालिका र नारायण, दुल्लु तथा चामुण्डा बिन्द्रासैनी नगपालिकाका भू–भागलाई आधार मानी पेट्रोलियम पदार्थ अन्वेषणको काम गर्दै आएको थियो ।

भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएको अवस्थामा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएको बेला दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण गर्ने सहमति भएको थियो । उक्त सहमति अनुसार नेपाल सरकार खानी तथा भूर्गभ विभागका महानिर्देशक सोमनाथ सापकोटा र चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीबीच दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन् गर्ने सम्झौता भएको थियो । सम्झौतामा चीन सरकारले पेट्रोलिम पदार्थ अन्वेषणका लागि दुई अर्ब ४० करोड आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख समेत गरिएको छ ।

साइस्मिक सर्भेपछि पेट्रोलियम अन्वेषणको पहिलो चरण सम्पन्न

YUGAAWHAN NATIONAL DAILY (2076-11-16)

Leave a comment

Your email address will not be published. Required fields are marked *