सीमा विवादबारे भारत र चीनबीच वार्ता, विश्वकै चासो

समाचार एजेन्सी, २४ जेष्ठ ।
भारत र चीनबीच सीमा क्षेत्र लद्दाखमा भइरहेको विवादबारे आज (शनिबार) महत्वपूर्ण वार्ता हुँदै छ । दुई देशका लेफ्टिनेन्ट जनरल स्तरका सैनिकबीच लद्दाखमै वार्ता हुने भएको हो। बीबीसी हिन्दीका अनुसार दुई देशबीच यो स्तरमा पहिलोपटक वार्ता हुन लागेको हो । पहिलो चरणको बैठक भारत र चीनबीच वास्तविक नियन्त्रण रेखाको छेउ चुसुल–मोल्दोमा अवस्थित भारतीय सीमा पोइन्टमा हुनेछ ।

भारतका तर्फबाट भारतीय सेनाको १४ औं बाहिनीका कमान्डर लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले वार्तामा नेतृत्व गर्नेछन् । एक महिनायता दुई देशबीच लद्दाखस्थित वास्तविक नियन्त्रण रेखा (लाइन अफ एक्चुअल कन्ट्रोल) मा विवाद भइरहेको छ । त्यसपछि दुवै देशले सीमा क्षेत्रमा सैनिक बल बढाएका छन् ।

विवाद समाधानका लागि दुई देशबीच आज हुन लागेको वार्तालाई विश्व समुदायले नै चासोपूर्वक हेरिरहेका छन् । यो विवाद कति गम्भीर हो भन्ने कुरा पहिलोपटक दुई देशका लेफ्टिनेन्ट जनरल स्तरका सैनिकबीच सीमामै हुन लागेको वार्ताले प्रस्ट पारेको भारतीय सञ्चारमाध्यमले विश्लेषण गरेका छन् ।

वास्तविक नियन्त्रण रेखामा चिनियाँ सेनाले अतिक्रमण गरिरहेको भारतीय सेनाको आरोप छ । केही महिनाअघि दुई देशका सेनाबीच धक्कामुक्की पनि परेको थियो । भारतले लद्दाखमा पूर्वाधार विकास तीव्र पारेपछि चीनले त्यहाँ सैन्य उपस्थिति बढाएको हो। सिक्किम, उत्तराखण्ड र लद्दाखमा भारत र चीनबीच विवाद छ। विवाद चर्किँदै जाँदा युद्धको खतरासमेत भएको थियो । यही समस्या समाधान गर्न दुवै देशबीच आज सैन्य तहमा वार्ता हुन लागेको हो । यसअघि भारत र चीनबीच सीमा विवाद समाधानका लागि १० पटक वार्ता भइसकेको छ। तर विवाद समाधान हुन सकेको छैन ।

तपाईको प्रतिक्रिया