स्वास्थ्य क्षेत्रको मुहार बदल्दै पूर्वाधारमा लगानी गर्ने अवसर

सुर्खेत, १९ भदौ ।
कोरोना महामारी सुरु हुनुभन्दा अघि प्रदेश अस्पताल सुर्खेतमा पाँच वटा मात्र आईसीयू र तीन वटा मात्र भेन्टिलेटर थिए । तर हाल कोरोना महामारीसँगै यो अस्पतालमा २० वटा आईसीयू र सात बेड भेन्टिलेटर सेवा थप गरिएको छ । योसँगै अब अस्पतालमा आईसीयूको संख्या २५ र भेन्टिलेटरको संख्या १० पुरयाइएको छ ।
त्यस्तै कोरोनाभन्दा अघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लमा तीन वटा आईसीयू र पाँच बेड मात्र भेन्टिलेटरको सेवा थियो । कोरोना महामारीसँगै हाल प्रतिष्ठानमा आईसीयूको संख्या १० बेड र ६ बेड भेन्टिलेटर पुरयाइएको छ । यो साविक कर्णालीमा हालसम्मकै उपलब्धी हो ।
त्यस्तै कोरोना महामारीअघि जुम्ला र सुर्खेतबाहेक कर्णालीका अन्य जिल्लामा आईसीयू र भेन्टिलेटर सेवा नै थिएन । हाल डोल्पाबाहेक अन्य सबै जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर सेवा थप गरिएको छ । स्थापना भएको वर्षाैं वित्दा पनि आईसीयू र भेन्टिलेटर नपुगेका अस्पतालहरुमा कोरोनाले पाँच महिनाको अवधिमा आईसीयू र भेन्टिलेटर सेवा थप गर्ने अवसर सिर्जना गरेको छ ।
महामारीका कारण नोक्सान पुगे पनि यदि कोरोना महामारी नएको भए कर्णालीमा रहेका अस्पतालहरुको हालत उस्तै रहन सक्थ्यो । तर कोरोना महामारी कर्णाली प्रदेशको स्वास्थ्य पूर्वाधार उपकरण विस्तारमा महत्वपूर्ण अवसर बनेको छ । स्वास्थ्य क्षेत्रमा भौतिक पूर्वाधारदेखि जनशक्ति व्यवस्थानसम्म कर्णालीको अवस्था नाजुक नै थियो ।
यहाँका नागरिकले सिटामोलसमेत नपाउने अवस्था थियो । आवश्यक उपकरण र भरपर्दो उपचारको अभावमा विरामीहरु अकालमा ज्यान गुमाउन बाध्य थिए । सक्नेले प्रदेश बाहिर उपचार गरे पनि नसक्नेका लागि ज्यान गुमाउनुको विकल्प नै थिएन । तर कोरोना महामारीसँगै यहाँको स्वास्थ्य क्षेत्रमा विशिष्टकृत पूर्वाधारहरुको बन्दबस्तो भएको छ ।
विगतमा स्वास्थ्य क्षेत्रको बदलिदो स्वरुपले विस्तारै परिवर्तन हुन थालेको छ । जनशक्ति व्यवस्थापनदेखि स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माण र औषधि उपकरणहरु थपिन थालेका छन् । अत्याधुनिक उपचार प्रणाली मानिने आईसीयू र भेन्टिलेटरहरु थपिएका छन् । सुर्खेतस्थित प्रदेशअस्पतालदेखि दुर्गमका स्वास्थ्य संस्थाको मुहार फेरिन थालेको छ ।
अहिले हरेक जिल्लामा आईसीयू र भेन्टिलेटर थप भएका छन् । आईसीयू र भेन्टिलेटर सञ्चालनका लागि आवश्यक पर्ने अक्सिजन प्लान्ट विस्तार भएको छ । स्वास्थ्य क्षेत्रमा बदलिदो स्वरुपले यहाँका आम नागरिकका छटपछी अन्त्य हुने भएको छ । आईसीयू र भेन्टिलेटरको अभावमा मृत्युको बाटो रोज्नुपर्ने विरामीका लागि थोरै भए पनि राहत मिल्ने भएको छ ।
कोरोना महामारी सँगै कर्णाली प्रदेशका जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य चौकीको भौतिक पूर्वाधार र उपचार प्रणालीमा उल्लेखनिय परिवर्तन आएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभर २७ वटा क्षेत्रमा विशेषज्ञ उपचार सेवा सुरु गरिएको छ । जिल्ला अस्पतालसहित दश जिल्लाका २७ वटा स्वास्थ्य संस्थालाई रणनीतिक अस्पतालका रुपमा अगाडि सारिएको छ ।
प्रदेशभर ६२ बेड आईसीयू
हाल कर्णाली प्रदेशभर कुल ६२ बेड आईसीयू र २६ बेड भेन्टिलेटर सेवा सुरु भएको छ । सिटामोल समेत नपाउने अवस्थामा भेन्टिलेटर र आईसीयू सेवा सुरु हुनु कर्णालीका लागि एतिहासिक उपलब्धि नै हो । ‘कोरोना अघि कर्णालीमा १७ बेट आईसीयू र १० बेड मात्र भेन्टिलेटर थिए’ निर्देशक भण्डारीले भनिन्, ‘कोरोना महामारी चुनौती मात्र होइन, कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रलाई सुधार्ने अवसर पनि बन्यो ।’ आईसीयू र भेन्टिलेटर पुगेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई अब तालिम दिएर सेवा सुरु गर्ने तयारी गरिएको उनको भनाइ छ ।
डोल्पाबाहेक सबै जिल्लामा आईसीयू र भेन्टिलेटर सेवा
कोरोना महामारीअघि कर्णाली प्रदेशका दुई वटा अस्पतालमा मात्रै विशिष्टकृत सेवा अर्थात आईसीयू सेवा थियो । दश जिल्लामध्ये सुर्खेतको प्रदेश अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै सिमित बेड संख्यामा आईसीयू र भेन्टिलेटर थिए । तर कोरोना महामारी सुरुभएसँगै डोल्पाबाहेक अन्य सबै जिल्लामा आईसीयू सेवा पुगेको छ ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीले दिएको जानकारी अनुसार डोल्पाबाहेक अन्य सबै जिल्लामा भेन्टिलेटर र आईसीयू सेवा सुरु भएको छ । भण्डारीका अनुसार डोल्पामा पनि छिट्टै आईसीयू र भेन्टिलेटर सेवा सञ्चालन गर्ने तयारीे छ । तथ्याङ्क अनुसार मुगुमा दुईवटा आईसीयू र एउटा भेन्टिलेटर, हुम्लामा पाँच बेड आईसीयू र दुई बेड भेन्टिलेटर, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० वटा आईसीयू र ६ बेड भेन्टिलेटर रहेका छन् ।
त्यस्तै कालिकोटमा पाँच बेड आईसीयू र दुई बेड भेन्टिलेटर, दैलेखमा पाँच बेड आईसीयू र दुई बेड भेन्टिलेटर, जाजरकोटमा दुई बेड आईसीयू र एक बेड भेन्टिलेटर र रुकुमपश्चिममा दुई बेड आईसीयू र एक बेड भेन्टिलेटर सेवा थपिएको छ । सल्यानमा दुई बेड आईसीयू र एक बेड भेन्टिलेटर, सुर्खेतको प्रदेश अस्पतालमा २५ बेड आईसीयू र ६ बेड भेन्टिलेटर सेवा र रुकुमको चौरजहारी सामुदायिक अस्पतालमा चार बेड आईसीयू सेवा सञ्चालनमा ल्याइएको छ ।
अक्सिजन प्लान्ट पनि सुरु हुँदै
कोरोना महामारीपछि आफ्नो स्वरुप बदल्न थालेको प्रदेश अस्पतालले अर्काे महत्वपूर्ण प्रोजेक्ट अर्थात योजना अघि सारेको छ । कर्णाली प्रदेशका सबै जिल्लामा अक्सिजन पुरयाउने गरी सुर्खेतमा ठूलो क्षमताको अक्सिजना प्लान्ट सुरु गर्न लागिएको हो । प्रदेश अस्पताल सुर्खेतका सूचना अघिकारी विनोद बस्नेतका अनुसार दैनिक ७० सिलिन्डर अक्सिजन उत्पादन गर्ने गरी अक्सिजन प्लान्ट सुरु गर्न थालिएको छ ।
यसअघि प्रदेश अस्पतालमा दैनिक १० देखि १२ सिलिन्डर उत्पादन गर्ने अक्सिजन उत्पादन हुन्थ्यो । हाल त्यसको क्षमता बृद्धि गरेर ७० सिलिन्डर अक्सिजन उत्पादन गर्नेगरी काम थालिएको छ । अबको तीन महिनाभित्र अक्सिजन उत्पादन गर्नेगरी काम अघि बढेको सूचना अधिकारी बस्नेतले जनाए । अक्सिजन प्लान्ट सुरु गर्नका लागि विदेशबाट ठूलो क्षमताको मेसिन ल्याइएको छ । तर कोरोनाका कारण जडान गर्ने प्राविधिक आइपुगेको छैनन् ।
केहीदिनमै मेसिन राख्ने भवन निर्माण थालेर तीन महिनाभित्रै अक्सिजन उत्पादन सुरु गरिने छ । झण्डै तीन करोडको लगानीमा अक्सिजना प्लान्ट सुरु हुन थालेको हो । कर्णाली प्रदेशका दश जिल्लामध्ये जुम्ला र सुर्खेत मात्रै अक्सिजन प्लान्ट छ । प्रदेश अस्पतालले सुरु गर्न लागेको ठूलो क्षमताको अक्सिजन प्लान्टले कर्णाली प्रदेशका सबै जिल्लाको अक्सिजन पुरयाउने लक्ष्य राखेको छ ।






