सम्पादकीयः विद्यालय खोलौं
कर्णालीका हिमाली जिल्लामा फागुनबाट नयाँ शैक्षिक सत्र सुरु हुन्छ । यस हिसावले पनि अब मंसिरमा ती जिल्लामा शैक्षिक सत्र सकिँदैछ । तर यसपाली कोरोनाका कारण विद्यालय नै संचालनमा हुन सकेनन् । कोरोना त्रासका कारण विद्यालय खुल्न नसकेपछि हिमाली क्षेत्रमा शैक्षिक सत्र खेर जाने देखिएको छ । यसले विद्यार्थीको एक बर्ष खेर जाने चिन्ता बढेको छ । मंसिरपछि हिमपात हुने भएकाले पनि त्यहाँ फागुन अगाडि नै शैक्षिक सत्र सक्ने अवस्था छैन । यसले पनि विद्यार्थीले पढ्नै नपाएर परीक्षा दिएर कक्षा चढाउने र एक बर्ष त्यतिकै खेर फाल्ने ? यो दोधार यतिबेला हिमाली जिल्लामा छ । बाँकी जिल्लामा बैशाखबाट शैक्षिक सत्र सुरु हुन्छ । तर ६ महिनादेखि विद्यालय खुल्न सकेका छैनन् । देशमा अहिले लकडाउन हटेको छ । बजार र सबै संस्थाहरु खुला छन् । तर पनि विद्यालयहरु संचालनमा आउन सकेका छैनन् । अहिले पनि विद्यालय संचालन गर्नेबारे ठोस निर्णय भएको छैन । यस्तो अवस्थामा कतै यी जिल्लामा पनि शैक्षिक सत्र खेर जाने त होइन भन्ने चिन्ता बढेको छ ।

कोरोना त्रासले विद्यालयहरु पनि सुरक्षित भएनन् । महामारीविरुद्ध लड्न राज्यका सबै संयन्त्र परिचालन भएका छन् । यद्यपी कोरोनाको संक्रमण दर बढेको छ । तर पनि अहिले देशमा विद्यालय बाहेक सबै खुला छन् । अरु सबै खुला भएको अवस्थामा विद्यालयहरु मात्र बन्द गर्नु कतिको वैज्ञानिक छ ? यसबारे गम्भिर भएर सोच्न जरुरी छ । बालबालिकालाई कोरोना संक्रमणबाट जोगाउन सतर्कता अनिवार्य छ । तर पनि बजार, गाडी र अन्य क्षेत्रहरु खुला रहेको अवस्थामा बालबालिकाहरु घरभित्र मात्र सिमित छैनन् । कुनै न कुनै माध्यमबाट बालबालिकाहरु घरबाहिर वा अन्य सम्पर्कमा पुगेकै छन् । बालबालिकाहरु केवल विद्यालय हाताभित्र मात्र पस्न रोकिएको छ । के विद्यालयभित्र मात्र कोरोना संक्रमणको जोखिम छ ? विद्यालय बाहेकका अन्य क्षेत्रमा जाँदा कोरोना संक्रमण नहुने हो ? यसकारण पनि अब विद्यालयबाट मात्र कोरोना संक्रमण होला जस्तो गरी विद्यालयहरु कहिलेसम्म बन्द गर्ने ? अब यसबारेमा स्थानीय, प्रदेश र केन्द्र सरकारले गम्भिर भएर सोच्नै पर्दछ ।
संक्रमणबाट बच्न आवश्यक स्वास्थ्य सतर्कता अपनाउन आवश्यक छ । बरु विद्यालयहरुमा आवश्यक सतर्कता र सावधानी अपनाऔं । सामाजिक दुरी कायम गराएर, साबुनपानीले अनिवार्य हात धुने व्यवस्था गरेर, कक्षा कोठाहरु सेनिटाइज गरेर, फेस सिल्ड र मास्कको अनिवार्य गराएर विद्यालयहरु किन नखोल्ने ? आज सार्वजनिक यातायात र जहाजमा यही तरिका अपनाएर यात्रा भइरहेको छ । यसकारण कोरोनाबाट डराएर भागिरहने वा विद्यार्थीहरुको भविश्यबारे पनि ध्यान दिने ? पक्कै पनि अब विद्यालयहरु बन्द गर्ने भन्दा पनि स्वास्थ्य मापदण्ड र सावधानीहरु अपनाएर विद्यालयहरु खोल्न आवश्यक छ । आज कतिपय विद्यालयहरु सावधानी अपनाएर संचालन पनि भएका छन् । यसबाट पनि पाठ सिक्न जरुरी छ । शैक्षिक सत्र नै खेर फाल्नेभन्दा पनि सतर्कता अपनाउँदै विद्यालयमा पठनपाठन सुरु गर्नेतर्फ सरोकारवालाहरुले सोच्नै पर्दछ ।






