स्वास्थ्य संस्थामा सुत्केरी हुने बढे

सल्यान, १६ कार्तिक ।

जिल्लाका स्वास्थ्य संस्थामा सुत्केरी हुनेको संख्या बढेको छ । आम नागरिक सचेत बन्दै जानु तथा सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत प्रोत्साहन भत्ता दिन थालेपछि सुरक्षित सुत्केरी सेवा लिनेको संख्या बढेको हो ।

विगतमा घरमै सुत्केरी हुनेहरु पछिल्लो समय स्वास्थ्य संस्थाबाट सुरक्षित सेवा लिन थालेका छन् । स्वास्थ्य सेवा कार्यालयको तथ्यांक अनुसार २०७६÷०७७ मा ३ हजार ७ सय ६९ जनाले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा लिएका छन् । जिल्लाभरका विभिन्न प्रसूति सेवा सञ्चालित स्वास्थ्य संस्थाबाट उनीहरुले सेवा लिएका हुन् । जसमा ९२ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको छ । एक वर्षको अवधिमा जिल्ला अस्पताल सल्यानबाट मात्रै १ हजार ४ सय ९९ जनाले प्रसूति सेवा लिएका कार्यालयका सूचना अधिकारी थलराज डिसीले जानकारी दिए ।

नियमित जाँच र सुरक्षित सुत्केरी सेवा लिनेको संख्या बढेसँगै महिलाहरु पनि सुरक्षित हुने गरेका उनको भनाइ छ । घरमै सुत्केरी गराउँदा आमा र बच्चाको ज्यानै जाने खतराबाट सल्यानका महिलाहरु जोगिएका डिसीले बताए । २०७५÷७६ मा जिल्लाभर ३ हजार ६ सय ४ जनाले स्वास्थ्य संस्थामै गएर प्रसूति सेवा लिएका थिए । स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिला सुत्केरी हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलगायत स्वास्थ्य संस्थामा जाने गरेका स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

स्वास्थ्य संस्थामा सुत्केरी हुने बढे

डोल्पामा तत्काल खाद्यान्न ढुवानी गर्न माग

Leave a comment

Your email address will not be published. Required fields are marked *