जुम्लामा कलात्मक गणेश मन्दिर निर्माण, धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा

गोल्डेन बुढा
जुम्ला ,२९ असोज ।
जुम्ला सदरमुकाम खलंगाको मुटुमा कलात्मक गणेश मन्दिर निर्माण सकिएको छ। चन्दननाथ नगरपालिका–५ स्थित जिल्ला प्रशासन कार्यालयको अगाडि निर्मित मन्दिर ललितपुर महानगरपालिकाको सहयोगमा बनाइएको हो। धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ललितपुरले जुम्लालाई सहयोग गर्दै २० लाख रुपैयाँ अनुदान प्रदान गरेको थियो।कलात्मक मन्दिरको मंगलबार विधिवत् पूजा गर्दै उद्घाटन ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले गरेका थिए।
उनले जुम्लालाई धार्मिक र पर्यटकीय नगरीका रूपमा विकास गर्न महानगरले साथ दिएको बताए। “जुम्ला भाषा र संस्कृतिको जननी हो,” महर्जनले उद्घाटन समारोहमा भने, “अब गणेश मन्दिर पनि चन्दननाथ र भैरवनाथ मन्दिरझैं पर्यटकीय गन्तव्य बन्नेछ।”ललितपुर र जुम्लाको चन्दननाथ नगरपालिकाबीच ‘भगेनी सम्बन्ध’ रहेकाले धार्मिक, सांस्कृतिक र पर्यटकीय विकासमा सहकार्य भइरहेको महर्जनले स्पष्ट पारे। उनका अनुसार मन्दिर निर्माणमा ललितपुरमै दक्ष शिल्पकार झिकाइएका थिए।मन्दिर निर्माण समिति अध्यक्ष नवराज श्रेष्ठका अनुसार साढे चार महिनाको परिश्रमपछि मन्दिर निर्माण सम्पन्न भएको हो। मन्दिरमा जुम्लाकै ढुंगा प्रयोग गरेर स्थानीय शिल्प परम्परा अनुसार गणेश भगवानको मूर्ति स्थापना गरिएको छ।चन्दननाथ नगरप्रमुख राजुसिंह कठायतले धार्मिक पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि स्रोत साधनको अभावले पूर्वाधार निर्माणमा अपेक्षित गति नआएको बताए। “पर्यटकलाई आकर्षित गर्ने खालका संरचना बनाउने प्रयास जारी छ,” कठायतले भने, “तर आर्थिक अभावले काममा गति दिन गाह्रो भइरहेको छ।”सदरमुकामको मुख्य बजारमै कलात्मक मन्दिर निर्माण भएपछि बजारको सौन्दर्य थपिएको छ। स्थानीय भक्तजन तथा व्यापारीहरूले मन्दिरले धार्मिक चेतना मात्र होइन, आर्थिक गतिविधिमा समेत योगदान दिने विश्वास व्यक्त गरेका छन्।

चन्दननाथ र भैरवनाथ मन्दिरसँगै गणेश मन्दिरको समावेशले जुम्लाको धार्मिक पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थपिएको छ। स्थानीयवासीहरू अब जुम्लालाई धार्मिक गन्तव्यको रूपमा स्थापित गर्ने सपना बोकेर अगाडि बढिरहेका छन्।






