जेनजी आन्दोलनमा बाँकेमा तीन सयभन्दा बढी सवारी साधन नष्ट

बाँके, ३ असोज ।
भदौं २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा बाँके जिल्लाका विभिन्न सरकारी तथा स्थानीय तहका कार्यालयमा आगजनी र तोडफोड हुँदा तीन सयभन्दा बढी सवारी साधन पूर्ण रूपमा नष्ट भएका छन् । नेपालगन्ज भन्सार कार्यालयमा मात्रै दुई सयभन्दा बढी कार, भ्यान र मोटरसाइकल जलेर ध्वस्त भएका छन् । भन्सार प्रमुख जनार्दन पौडेलका अनुसार लिलामीका लागि राखिएका र कार्यालयका कर्मचारीका नाममा दर्ता भएका सवारी साधन नष्ट हुँदा करिब सात करोड रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकामा समेत एक एम्बुलेन्ससहित ३० वटा सवारी साधन जलेको प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए । त्यस्तै, कोहलपुर नगरपालिकामा १५ वटा सवारी साधन नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जनाए । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा पनि नौ वटा सवारी साधन ध्वस्त भएको सूचना अधिकारी बलबहादुर बिष्टले बताए ।

यसैगरी जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, नापी कार्यालय, प्रहरी कार्यालय जयसपुर, कृषि ज्ञान केन्द्र बाँके, राजस्व अनुसन्धान कार्यालय कोहलपुर र इलाका प्रशासन कार्यालय कोहलपुरमा रहेका सवारी साधन पनि क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार क्षतिको तथ्यांक अझै संकलन भइरहेको भए पनि क्षति अत्यधिक भएको स्पष्ट भइसकेको छ ।






