कोहलपुरमा ‘एक वडा, एक खुला व्यायामशाला’

सरला सुवेदी
बाँके, १४ भदौं ।
स्वास्थ्यप्रतिको जनचेतना अभिवृद्धि र नागरिकलाई शारीरिक तन्दुरुस्त बनाउन कोहलपुर नगरपालिकाले ‘एक वडा, एक खुला व्यायामशाला’ अभियान सुरु गरेको छ । यस अभियान अन्तर्गत वडा नं. २ मा पहिलोपटक खुला व्यायामशाला उद्घाटन गरिएको छ । व्यायामशालामा ट्रेडमिल, पुस–अप स्टेशन, साइकलिङ, घोडा तालिम मेसिनलगायतका उपकरण राखिएका छन् ।

वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायतका अनुसार यस पहलले वडावासीलाई स्वस्थ रहन र सन्तुलित आहारविहार अपनाउन प्रेरित गर्नेछ । “सार्वजनिक स्थानमै व्यायाम गर्ने अवसर पाएपछि नागरिकमा सकारात्मक स्वास्थ्य अभ्यास बढ्ने अपेक्षा गरिएको छ,” उनले बताए ।
पछिल्लो समय व्यस्त जीवनशैली, अस्वस्थ खानपान र शारीरिक गतिविधि कमीका कारण मधुमेह, युरिक एसिडजस्ता नसर्ने रोग बढ्दै गएका छन् । त्यस्तै समस्याबाट जोगिन व्यायाम अत्यावश्यक भएको भन्दै स्थानीय युवा विष्णु विश्वकर्माले खुला व्यायामशालाले समुदायलाई व्यायामप्रति आकर्षित गरिरहेको बताए ।

नगरपालिकाले ल्याएको यो अवधारणाले नियमित व्यायाम गर्ने वातावरण मात्र बनाइरहेको छैन, वातावरणीय स्वच्छता र समग्र समाजको तन्दुरुस्तीमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा लिइएको छ । कोहलपुर नगरपालिकाले क्रमशः सबै वडामा खुला व्यायामशाला विस्तार गर्ने योजना अघि सारेको छ ।






