आइस्क्रिम बेचेर चल्दैछ ४ दाजुभाइको घर र भविष्य

गोल्डेन बुढा
जुम्ला । ‘देशमा नै केही गर्न सकिन्छ’ भन्ने प्रेरणादायी उदाहरण बनेका छन् जुम्लाको तिला गाउँपालिका–१ रारा गाउँका एकै घरका चार दाजुभाइ । नयाँ वर्षसँगै उनीहरू आफ्नो सानो तर सङ्घर्षपूर्ण व्यवसायमार्फत आत्मनिर्भर बन्ने बाटोमा रोजेका छन् । धनु, मृत्यु, नन्दु र विरेन्द्र रावत नामका यी चार दाजुभाइ अहिले सदरमुकाम खलंगामा ठेलामा आइस्क्रिम, कुल्फी, बरफ, चकलेट, कनेटो र बिड्बा बिक्री गर्दै आइरहेका छन् । उनीहरूले ‘पूजा आइस्क्रिम’ नामक ब्रान्ड बनाएर व्यवसायलाई पहिचान दिएका छन् ।
नन्दुका अनुसार चार वटा ठेलामार्फत बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म बजारका विभिन्न स्थानमा घुमी सेवा दिइन्छ । उनले भने “एक जनाले बसपार्कमा, एक जनाले विमानस्थल क्षेत्रमा, एक जनाले बहुमुखी क्याम्पस आसपास र अर्कोले बजारभित्र ठेला चलाउँछौं ।” व्यवसाय सुरु गरेको एक वर्ष मात्र भएको भए पनि उनीहरूले मासिक ६० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । यो आम्दानी घर खर्च मात्रै नभई बालबालिकाको पढाइ, लत्ताकपडा, औषधोपचार र केही बचत पनि भइरहेको उनीहरूले बताएका छन् । उनीहरूले स्थानीय गाईभैंसीको दूध सङ्कलन गरी आवश्यक सामग्री आफै तयार गर्छन् । रातभर खटिएर कुल्फी, बरफ र अन्य परिकार बनाउने उनीहरूको दैनिकी बिहानको घामसँगै ठेलासहित बजारमा देखिन्छ । “काम गर्ने आत्मबल र इच्छाशक्ति भए देशमै केहीगर्न सकिन्छ,” मृत्यु रावतले भन्छन् “सामान्य व्यापार हो तर आम्दानी राम्रै छ । सन्तानको भविष्य सुनिश्चित गर्न हामीलाई अब कसैको भर पर्नु परेको छैन ।”
व्यवसायका लागि आवश्यक दुईवटा मेसिन र तीनवटा फ्रिज पनि उनीहरूले आफ्नै आम्दानीबाट जुटाएका छन् । “वास्तवमा कामको कमी छैन, सम्भावनाको अभाव छैन। आफ्नै गाउँमै बसेर पसिनाको मूल्य लिन सकिन्छ ।” उनी भन्छन मृत्युकै भनाइमा सहमत छन् विरेन्द्र पनि । “ठेला व्यापारलाई धेरैले सानो मान्लान्, तर यहीबाट हामी परिवार पालिरहेका छौं,” विरेन्द्र सुनाए, “न कमाइमा कमी छ, न इज्जतमा । हामीलाई कसैसँग हात फैलाउन परेको छैन ।”
जुम्ला सदरमुकामका गल्लीगल्लीमा हिँड्दै दैनिक तीन सयभन्दा बढी ग्राहकलाई सेवा दिइरहेका यी चार दाजुभाइको सङ्घर्षपूर्ण यात्रा यहाँका अन्य स्थानीका लागि प्रेरणा बनिरहेको छ । देशमै बसेर आत्मसम्मानसाथ बाँच्न सकिन्छ भन्ने बलियो सन्देशसहित । अहिले पनि जुम्लाका युवा रोजगारीका लागि भारत जाने गर्दछन् ।
स्थानीयस्तरमा रोजगारी नभएकै कारण भारत जानुपर्ने अवस्थ छ । युवाहरु भारतको उत्तराञ्चल, हिमाञ्चल लगायतका क्षेत्रमा रोजगारी र व्यापारका लागि जाने गरेका छन् ।यता जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांक हेर्दा बैदेशिक रोजगारीमा जानेको संख्या वर्षेनिक बढ्दै गएको देखिन्छ ।
पाँच वर्षमा तिन हजार ७ सय ५६ जनाले राहदानी लिएको देखिन्छ ।आर्थिक वर्ष२०७७÷०७८ देखि २०८१÷०८२ को असोज मसान्तसम्म कुल ३ हजार ७ सय ५६ जनाले राहदानी बनाएका हुन् । चालू आर्थिक वर्ष २०८१÷०८२ को असोज मसान्तसम्म मात्रै ६ सय ३२ जनाले राहदानी लिएका छन् । जसमध्ये १ सय ५७ महिना र ४ सय ७५ पुरूष छन् ।
आर्थिक वर्ष २०८०÷०८१ मा ७ सय ८३ जना छन् । जसमा १ सय ४२ जना महिला र ६ सय ४१ जना पुरूष छन् । यस्तै आर्थिक वर्ष २०७९÷०८० मा १ हजार ४ सय ५ छन् । महिला संख्या २ सय ४० र पुरूष १ हजार १ सय ६५ छन।यस्तै आर्थिक वर्ष २०७८÷०७९ मा ६ सय जनाले राहदानी लिएको तथ्यांकले देखाउँछ।जसमध्ये महिला २ सय ४६ र पुरूष ३ सय ३ सय ५४ छन् र आर्थिक वर्ष २०७७÷०७८ मा ३ सय ३६ जनाले राहदानी लिएको तथ्यांक सार्वजनिक गरिएकोमा छ । जसमा १ सय महिला र २ सय ३६ पुरूष छन् ।






