वीरेन्द्रनगरको दीगो फोहोर व्यवस्थापनमा बायो ग्याँस ‘विकल्प’ बन्न सक्छ

पछिल्लो समय बढ्दो सहरी करण र जनघनत्वका कारण वीरेन्द्रनगर नगरपालिकामा फोहोर व्यवस्थापनमा चुनौती थपिँदै गएको छ । बढ्दो फोहोरलाई व्यवस्थितरुपमा बिसर्जन गर्ने संयत्र नहँुदा नगर क्षेत्र विस्तारै कुहिने र नकुहिने फोहोरको डङ्ग्गुर बन्दै गएको छ ।
यिनै समस्या विशेष गरी कुहिने फोहोरको दिर्घकालिन व्यवस्थापनका लागि वीरेन्द्रनगर नगरपालिकाको साझेदारीमा बायो ग्याँस प्लान्ट सञ्चालनमा आएको छ । वीरेन्द्रनगर नगर क्षेत्रबाट निस्कने फोहोरलाई व्यवस्थापन गर्न नगरपालिकाले र वन, वातावरण तथा नविकरणीय उर्जाको क्षेत्रमा काम गर्दै आएको केपि व्यवसायी सेवा प्रालिको साझेदारीमा फोहोरलाई जैविक मल तथा बायो ग्याँस बनाउने उद्देश्यले बायो ग्याँस प्लान्ट सञ्चालन आएको हो ।
वैकल्पिक उर्जाको रुपमा गोबर, कुखुराको सुली, उखुको खोस्टा, भान्साको जैविक फोहोर, हरियो पात लगायतका कच्चा पदार्थ प्रयोग गरी व्यवसायिक रुपमा बायो ग्याँस उत्पादन सुरु गरेको प्रालिले जनाएको छ ।
वीरेन्द्रनगर बजारबाट फोहोर उठाएर जैविक मल तथा बायो ग्याँस बनाउने लक्ष्य राखिएको छ । हाल बजारबाट फोहोर संकलनको काम नगरिएको भएपनि बजार क्षेत्रमा रहेका तरकारी बजारबाट फोहोर संकलन गरिरहेको केपि व्यवसायी सेवा प्रालिका सञ्चालक कृष्णप्रसाद ढकालले जानकारी दिए ।
‘वातावरणलाई सफा राख्नका लागि हामीले बायो ग्याँस प्लान्ट सञ्चालनमा ल्याएका हौं ।’ उनले भने, ‘त्यसका लागि अहिले हामीले बजारको फोहोर उठाउन सकेका छैनौ । अहिले केवल हामीले तरकारी बजारबाट मात्र उठाउने गरेका छौं ।’
वीरेन्द्रनगर बजारमा बढ्दै गएको शहरीकरणका कारणले निस्कने फोहोरलाई उचित व्यवस्थापन गर्नका लागि बायो ग्याँस प्लान्ट सञ्चालनमा ल्याएको र यसले अहिले पूर्ण क्षमतामा काम गर्न नसकेको सञ्चालक ढकालले बताए ।
‘अहिले स साना घरायासी कामका लागि बायो ग्याँस सञ्चालनमा भएका भएपनि हामीले नविकरणिय उर्जा ठुलो मात्रामा उत्पादन गर्ने लक्ष्यसहित पहिलो पटक स्थापना गरेका हौं ।’ उनले भने, ‘ठुलो मात्रामा उत्पादन गरेर जैविक मल, बायो ग्याँसको उत्पादन गरेर उर्जा कार्वनउत्सर्जन कमी ल्याउन खोजेको हौं ।’
जलवायु परिवर्तनको असर र प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ बायो ग्याँस प्लान्ट निर्माण गरेको सञ्चालक ढकालले बताए । बायोे ग्याँसले एलपीजी ग्याँसका कारणले जुन हरित गृह ग्यास उत्सर्जन कम हुने भिडिसेफ नेपाल वातावरण शाखा प्रमुख दमन न्यौपानेले बताए ।
‘कुहिने फोहोर सदुपयोग हुने भयो । झोल मल जैविक मल उपलब्ध हुने भयो । त्यसको प्रयोगले माटो गुणस्तर बृद्धि भइ उत्पादनमा बृद्धी हुने भयो ।’ उनले भने, ‘बायु प्रर्दुशनमा कमी भइ रोग हुनबाट बचाउँछ । यो वातावरणिय रुपमा मानव हितमा काम गर्छ ।’

७२० केजी ग्याँस उत्पादन गर्ने लक्ष्य
प्लान्टमा ३० टन फोहोरबाट दैनिक सात सय २० केजी ग्याँस उत्पादन गर्ने लक्ष्य राखिएकोमा अहिले लक्ष्य अनुसारको ग्याँस उत्पादन गर्न नसकिएको ढकालले बताए । ‘लक्ष्य अनुसार अहिले ग्याँस उत्पादन गर्न सकिएको छैन् ।’ उनले भने, ‘अहिले हामीले प्रालिमा आवश्यकता अनुसार मात्रै उत्पादन गरेका छौं । केही टेप्पोहरुले पनि यसको प्रयोग गरिरहेका छन् ।’
प्रालिमा भित्र रहेको जनशक्ति र अफिसका लागि आवश्यक ग्याँस बाहिरबाट नल्याउने गरेको र अहिले यसै प्लान्ट उत्पादन भइरहेको ग्याँस खाना पकाउन तथा उर्जाका क्षेत्रमा प्रयोग भइरहेको सञ्चालक ढकालले बताए । ‘यहाँ प्रयोग हुने टेप्पो र केही बाहिरका टेप्पोमा ग्याँस प्रयोगमा हुदैँ आएको छ ।’ उनले भने, ‘अहिले हामीले बाहिरको एलपी ग्याँसको प्रयोग गरेका छैनौं ।’
पेट्रोलभन्दा सस्तो
बजारमा अहिले पेट्रोलको मूल्य १७० रुपैयाँ छ । तर, ग्याँसको मूल्य १३० रुपैयाँ रहेको सञ्चालक ढकालले बताए । ‘ग्याँसले प्रतिकिलो ३२ देखि ३५ किलोमिटर कुद्न सक्छ । तर, पेट्रोलबाट प्रतिलिटर १६ देखि १८ किलोमिटर बढी कुद्छ ।’ उनले भने, ‘यस आधारमा हेर्दा ग्याँसमा १ किलोमिटरको ४ रुपैयाँ ५२ पैसा पर्छ । पेट्रोलमा भने ९ रुपैयाँ ७७ पैसा प्रति किलोमिटर बन्छ ।’
अहिले कम्पनी सञ्चालन आएको क्षेत्र आसपासका क्षेत्रका केही टेप्पोहरुले ग्याँसको प्रयोग गर्दै आएको आफुले थाहा पाएको स्थानीय कुबेर थापाले बताए । ‘स्थानीय केही टेप्पोहरुले यहाँ उत्पादन भएका ग्याँस प्रयोग हुँदै आएको थाहा पाएको छु ।’ उनले भने, ‘उनीहरुको अनुसार यहाँ उत्पादन हुने ग्याँसको मूल्य लागत पेट्रोलभन्दा सस्तो हुने गरेको थाहा पाएको छुँ ।’
बायो ग्याँसका लागि भैंसीपालन
बायो ग्याँस प्लान्ट सञ्चालनका लागि प्रा.लि. भैसीपालन गरेको छ । बायो ग्याँसलाई आवश्यक पर्ने कच्चा पदार्थका लागि भैसीपालन गर्न थालेको ढकालले बताए । ‘बायो ग्याँसका लागि आवश्यक पर्ने गोबरका लागि भैसीपालन पनि गरेका छौं ।’ उनले भने, ‘अन्य आवश्यक पर्ने गोबर बाहिरबाट ल्याउने गरेका छौं ।’
भैसीपालनबाट दुुध उत्पादन तथा बायो ग्याँसलाई आवश्यक पर्ने गोवर दुवै उत्पादन भइरहेको सञ्चालक ढकालले बताए । ‘भैसीपालनबाट दोहोरो फाइदा लिइरहेका छौं ।’ उनले भने, ‘भैसीपालन र बायो ग्याँसका लागि दुई बिगाहा जमिन भाडामा लिएका छौं ।’ अहिले भाडामा लिएको जमिनमा बायो ग्याँस प्लान्ट, प्लान्टबाट उत्पादन हुने बायो ग्याँसबाट उत्पादन हुने मल, ग्याँसका लागि अन्य साधन पनि राखिएका छन् ।
१३ जनालाई रोजगारी
के.पि.व्यवसायी सेवा प्रालिले बायो ग्याँस प्लान्टबाट १३ जनालाई रोजगारी समेत दिएको छ । १० जना पुरुष र तीन जना महिलालाई रोजगारी दिइएको हो । सञ्चालनमा आएको के.पि.व्यवसायी सेवा प्रा.लि.ले १३ जनालाई रोजगारी पाएको सञ्चालक ढकालले जानकारी दिए ।
स्थानीयको भने स्थानीयले रोजगारी पाउने गरि व्यवस्था गर्न माग गरेका छन् । स्थानीय रणबहादुर चौधरीले स्थानीयको आयस्रोत तथा रोजगारी कमी भएका कारणले स्थानीयलाई रोजगारी दिन आवश्यक रहेको र त्यसका लागि सञ्चालकसँग कुरा भइरेको बताए ।
दीगो फोहोर व्यवस्थापनका लागि छलफल
वीरेन्द्रनगर नगर क्षेत्रभित्र उत्पादन हुने फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि छलफल गरिएको छ । शुक्रबार वीरेन्द्रनगरमा आयोजित जैविक विविधता र वातावरणका विषयमा सरोकारवाला निकायसँग छलफल गरिएको हो । छलफलका सहभागीहरुले नगर क्षेत्रभित्र उत्पादन हुने फोहोरको उचित व्यवस्थापनका लागि प्रभावकारी योजना नहुँदा चुनौती थपिदै गएको बताए ।
वीरेन्द्रनगर नगरपालिका–८, का वडाध्यक्ष टिकाराम शर्माले वडासँग प्रर्याप्त स्रोत, साधन नहुनुले दिनानुदिन फोहोरमैला व्यवस्थापन मुख्य चुनौती बन्दै जान थालेको बताए । वीरेन्द्रनगरको मात्र नभई समग्र कर्णालीको समस्या भएको उल्लेख गर्दै यहाँको दीगो फोहोर व्यवस्थापन प्रदेश सरकारको नीतिमा नपुर्नु दुखद् रहेको वडाध्यक्ष शर्माको भनाई थियो ।
वडातहमा फोहोरमैला व्यवस्थापनमा भूमिका खेलको भएपनि उपल्ला निकायले प्रभावकारी योजनासहित स्रोतको व्यवस्थापन नगरिदिदा बदनाम हुने अवस्था आएको उनको भनाई थियो । वडाले पाएको अधिकार अनुरुप फोहोर व्यवस्थापनमा तल्लोस्तरसम्म स्रोत नपुगेसम्म समस्या समाधान नहुने भन्दै वडाध्यक्ष शर्माले वडाले फोहोर व्यवस्थापन गर्न नसक्ने बताए ।
फोहोर मैला व्यवस्थापनमा भएका विद्यमान व्यवस्थाहरुको प्रभावकारी कार्यान्वय नहुनुले पनि फोहोर व्यवस्थापनमा चुनौती रहेको उनले बताए । यस्तै, वडा नम्बर १ का अध्यक्ष दिनेश खत्रीले नगर क्षेत्रबाट उत्पादन भएको फोहोरका कारण वडावासीले सास्ती भोग्नु परेको बताए । फोहोर विर्सजन क्षेत्रमा जानेक्रममा गाडीहरुले सुरक्षाका उपाय नअपनाउने र जथाभावी ल्याण्डफिल्ड साइडमा फोहोर बिसर्जन गरिँदा स्थानीय दुर्गन्धको मार खेप्न बाध्य भएको उनको भनाई थियो ।
फोहोर संकलनको जिम्मा पाएका ठेकेदारको लापरवाहीले झन् समसया भएको उनले बताए । त्यस्तै, वीरेन्द्रनगर नगरपालिकाको वातावरण शाखाका प्रमुख यामलाल गिरीले नगर क्षेत्रभित्र कुहिने भन्दा पनि नकुहिने फोहोरको व्यवस्थापनमा चुनौती रहेको उल्लेख गर्दै नागरिकमा चेतनाभन्दा पनि व्यवहारमा परिवर्तन आउन नसक्दा समस्या भएको बताए ।
विशेष गरी नागरिकहरुले घरबाट फोहोर निकाल्दा कुहिने र नकुहिने फोहोर अलग नगर्दा समस्या रहेको उनको भनाई थियो । नगरपालिकाले फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि विभिन्न योजनाहरु अगाडि सारेको उल्लेख गर्दै उनले वीरेन्द्रनगरलाई स्वच्छ राख्न सबैको हातेमालो आवश्यक रहेको बताए ।
त्यस्तै, पारिस्थिकीय प्रणाली तथा वन्यजन्तु माथि हुने जोखिम घटाइ प्रकृति संरक्षण र सुरक्षित भविष्यसहितको समृद्धि सुनिश्चित गर्न कर्णालीमा युएसएड जल जंगल परियोजना लागु भएको जल जंगल परियोजनाका प्रतिनिधि विनोद शाहीले बताए । सुर्खेतमा जैविक विविधता र वातावरण संरक्षण र दीगो फोहोर व्यवस्थापनका लागि आगामी दिनमा वीरेन्द्रनगरसँग मिलेर काम गर्ने गरी परियोजना तयार भइरहेको उनले बताए ।
वीरेन्द्रनगरमा फोहोर व्यवस्थापनको मोडल बनाएर प्रभावकारी कार्यान्वयनको पाटोमा लैजान सके मात्रै नगर क्षेत्रलाई सफा राख्न सकिने छलफलका सहभागीहरुले जोड दिएका थिए । छलफलमा नगरपालिकाका १२ वटै वडाका वडाध्यक्ष तथा सरसफाईका क्षेत्रमा काम गर्ने संस्थाहरुको सहभागिता रहेको थियो ।







