आलु भन्दै प्याज ल्याउने एक सब्जीमण्डीलाई पाँच लाख जरिवाना

नेपालगन्ज भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर प्याज ल्याएर नेपाल भित्र्याउने वीरेन्द्रनगर सुर्खेतको पूजा सब्जीमण्डीलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुरले पाँच लाख भन्दा बढी जरिवाना तिराएको छ ।
भन्सारबाट आलुको प्रज्ञापन पत्र बनाएर आएको ट्रकमा अनुसन्धान गर्दा प्याज ल्याएको पाएपछि कारबाही गरेको राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख अनुसन्धान अधिकृत सुरेशराज जोशीले जानकारी दिए ।
प्रज्ञापन पत्रमा उल्लेख नभएको ७१ बोरामा दुई हजार आठ सय ४० केजी प्याज फेला परेको हुँदा पाँच लाख ३७ हजार तीन सय ४१ रुपियाँ जरिवाना तिराइएको छ । उनले भारतबाट आएर सुर्खेत जान थालेको यूपी ४० टी ७४७४ नम्बरको तरकारीको सो गाडीलाई सशस्त्र प्रहरी बल नम्बर ३० गण बाँकेको टोलीले नेपालगन्जको चौलिका चेकपोस्टबाट नियन्त्रणमा लिएर राजस्व अनुसन्धानमा बुझाएको बताए ।
सो गाडीमा प्रज्ञापन पत्रमा उल्लेख नभएको ७१ बोरा प्याज फेला परेकोले सो को जरिवाना बापत लाग्ने रकम पाँच लाख ३७ हजार तीन सय ४१ रुपियाँ पूजा सब्जी मन्डी वीरेन्द्रनगरले तिरेपछि मात्र गाडी र प्याज दुवै छोडिएको राजस्व अनुसन्धान कार्यालय कोहलपुरले जनाएको छ ।






