नीति तथा कार्यक्रमलाई नै छायामा पार्ने सांसदका बेकामे भाषण

काठमाडाै । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिकाे छलफल प्रतिनिधसभामा मंगलबार तेस्रो दिनमा जारी रह्यो । ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारकाे नीति तथा कार्यक्रमको छलफलमा सांसद्हरूले विषयमा भन्दा धेरै अरू नै विषयमा आरोप-प्रत्यारोप गरेर समय खर्चिए ।

संसदको रोस्टमबाट चुनावी सभाको जस्तो भाषण गर्ने र एकअर्काको उछितो काढ्नेबाहेक गम्भीर छलफल कमै भइरहेकाे छ । अर्को पार्टीलाई बदख्वाई गरेर आफू अब्बल छु भन्ने सावित गराउन नेताहरू लागि परेका छन् ।
सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू नीति तथा कार्यक्रमको सबल र दुर्बल पक्षमा बोल्नेभन्दा आरोप-प्रत्यारोप र घोचपेचमै व्यस्त रहे । जसले गर्दा नीति तथा कार्यक्रममाथिको छलफल कर्मकाण्डी बन्न पुगेको छ ।
प्रमुख प्रतिपक्षी एमाले र सत्ताको नेतृत्व गरिरहेको माओवादीका सांसदहरूको आरोप-प्रत्यारोप नीति तथा कार्यक्रमको छलफल नै छायामा पार्नेगरी भयाे । मंगलबारको छलफलमा भाग लिँदै रास्वपा सांसद विराजभक्त श्रेष्ठले व्यङ्ग्य गरे, ‘सानोमा सर्पले सर्पको खुट्टा देख्छ भनेको सुनेको थिए । त्यस्तै रहेछ । एकले अर्कालाई हिलो छ्याप्ने काम भएको छ । नेताको भाषणभन्दा जनतालाई रासन भए हुन्थ्यो ।’
सांसदहरूले गरेको भाषणप्रति उनले गरेको टिप्पणीले सांसदहरू पनि सांसदको बेकामे भाषणबाट दिक्क छन् भन्ने देखाउँछ । जसपा सांसद रेखा यादव पनि बेकामे आरोप-प्रत्यारोपबाट दिक्क छिन् । ‘शीर्ष नेताहरूको जुहारी देखिन्छ । देश बनाउन जुहारी खेल्नु भएको भए देश रणभूमि बन्दैनथ्यो होला,’ मंगलबारको नीति तथा छलफलमा भाग लिँदै उनले भनिन् ।
सांसदहरूबीच नीति तथा कार्यक्रमभन्दा बाहिर गएर बहस हुने काम आइतबारदेखि जारी छ । छलफलकाे पहिलो दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले भाग लिए । पूर्वप्रधानमन्त्री भएकाले उलाई समयको परिबन्द थिएन । संसदमा ओलीको एकल प्रस्तुति हुँदा औसत समय दुई घण्टा लाग्ने गर्छ । आइतबार पनि ओलीले लामै समय लिए ।
ओलीले सरकारको नीति तथा कार्यक्रमलाई ‘चिट चोर्न नजानेको विद्यार्थीले सारेको चिटजस्तो’ संज्ञा दिए । उनले नीति तथा कायक्रम पुनर्लेखन गर्नसमेत माग गरे । ओलीको मागमा राप्रपा अध्यक्षको पनि समर्थन छ । उनले पनि नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरे । तर उनकाे याे मागमा सत्तारुढ दलका सांसद नेपाली कांग्रेसका सहमहामन्त्री बद्रि पाण्डेले आपत्ति जनाए । उनले संसदीय अभ्यासमा नीति तथा कार्यक्रम पुनर्लेखन गर्ने परम्परा नरहेकाे भन्दै कमा, फुलस्टप पनि परिवर्तन नहुने जवाफ फर्काए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बोल्न तथ्य खोजेर तयारी गरेका ओलीले जेठ ५ को संसद बैठकमा अस्वस्थ भएर संसद आएनन् । सो प्रकरणमा पनि उनले सम्बोधन गरे । पूर्वप्रधानमन्त्री भैसकेकाले सरकारको जसअपजस आउने साङ्गोमा उनको कार्यकाल पनि जोडिएको छ । आफ्नो प्रधानमन्त्री कालमा संसदबाट भागेका ओलीले नीति कार्यक्रम भन्दा पनि आफ्नो कार्यकाल सम्झिए ।
सरकारलाई आरोपको भारी बोकाएका ओलीले निराशाको कुरा मात्र बढी गरे । विपक्षी दलको नेताको हिसाबले रचनात्मक हुनुपर्ने बुँदा बुँदामा सुधार गर्न दबाब दिनुपर्ने ओलीले नीति कार्यक्रम कामै नलाग्ने भन्दै विषयान्तर गरे । ‘प्रधानमन्त्रीज्यू ! नीति कार्यक्रम फिर्ता लिनुस्, फिर्ता लिनुहुन्न भने छक्का हानेर पठाइदिनुपर्छ, रिङ आउट,’ उनले भने ।
उनले यस्तै कार्यक्रमबाट नेपाली कांग्रेस अगाडि बढाउने हो भन्दै प्रश्न गरे। ‘यही हो नेपाली कांग्रेसले देशप्रति गर्ने प्रतिबद्धता ? पाँच–सातवटा मन्त्री भए पुग्यो नेपाली कांग्रेसलाई, देशप्रति कुनै दायित्व छैन?’ ओलीले टिप्पणी गरे । साे क्रममा उनले आफ्नो नेतृत्वको सरकारले ४१ महिनामा गरेको कामको फेररिस्त सुनाएका थिए ।
ओलीले सम्बोधनमार्फत आरोप प्रत्यारोपको लाइन दिएका थिए । सोहीअनुसार एमाले सांसदहरू प्रस्तुत भइरहेका छन् भने ओली र एमाले सांसदहरूको काउन्टरमा सत्ता गठबन्धनका सांसदले जवाफ दिने र त्यसको प्रतिउत्तर एमाले सांसदले दिने क्रम जारी छ ।
यसमा सबैभन्दा अगाडि देखिएका छन् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल । अनि माअोवादी सांसद र कांग्रेस सांसदहरू देखिएका छन् । सोमबार अध्यक्ष नेपालले ओली लक्षित घोचपेच गरे । ‘एकले अर्कालाई घोचपेच गरेर मात्र हुदैँन । आफ्नो पीडा व्यथा पोखेर मात्र हुँदैन । सरकारमा बस्न सकिएन बेग्लै कुरा किन बस्न सिएन त्यसको पछाडि पनि अरुलाई दोष दिएर हुँदैन । बनिसकेको सरकार किन आफ्नो हातबाट फुत्कियो त्यसमा सत्तो सराप गरेर पनि हुदैँन । सबैभन्दा ठूला समस्या के छ भने आफूभित्र के कस्ता कमी कमजोरी रहे त्यसको समीक्षा सबैले गरौं,’ अध्यक्ष नेपालले भने ।
घर घरमा ग्यास र रेल खोई भनेर नेपालले एमाले अध्यक्ष ओलीलाई प्रश्न गर्दे हावादारी कुराले सरकार नचल्ने बताए । ‘अवश्य पनि लाग्छ होला कि आफ्नो समयमा भएका केही राम्रा कुरालाई पनि वास्ता गरिएन ? कति मनमा पीडा पर्दो रहेछ ?’ नेपालले भने, ‘म पनि प्रधानमन्त्री भइसकेको मान्छे । मलाई पनि त लाग्छ होला नि गरिएका कतिपय कामको किन चर्चा गर्दैन ? पर्यो होला त्यस्तै ।’ तर नगरेको वा गलत गरेको कार्यको आलोचना सहन सक्नुपर्ने, आलोचनाका निम्ति पनि तयार हुनुपर्ने उनको भनाइ छ ।
पूर्व प्रधानमन्त्री भैसकेकाहरू पनि सदनमा तुच्छ भाषा प्रयोग गर्न उद्दत छन् । नीति कार्यक्रमभन्दा पनि व्यत्तिगत र पार्टीगत आरोप प्रत्यारोप गर्ने थलो संसदलाई बनाएका छन् । एकीकृत समाजवादी एमालेबाट अलग्गिएको पार्टी हो । माओवादी कुनै समय नेकपामा रहँदा एमालेसहित तीनवटै पार्टी एकै ठाउँमा थिए । अहिले उनीहरू एकले अर्काको दोहोलो काढ्न व्यस्त छन् ।
नेपालले ओलीलाई संसदमा व्यक्तिवाद, सर्वज्ञानी ठान्ने प्रवृत्ति, अरूलाई अवमूल्यन गर्ने, आफ्नो पाराले चल्ने र विरोधाभासपूर्ण व्यवहार रहेको आरोप लगाए ।
ओली नेतृत्वको सरकारको पालामा विभिन्न भ्यु टावर निर्माणले तीव्रता पाएको थियो । यसप्रति कतिपयले गरेको आलोचनाको जवाफ दिँदै एमाले अधयक्ष ओलीले आइतबार भनेका थिए, ‘संसारका आधुनिक शहरमा टवारहरू, मलेसियाको ट्विन टावर, दुबईको टावर, थाइल्यान्डको टावरहरू व्यापारिक केन्द्रका रूपमा बनेका छन् । नेपालमा कुनै व्यापारिक केन्द्रको रूपमा टावर बनायो भने अब उप्रान्त टावर नबनाउने भनेर पानी समातेर कसम खाने कस्तो खालको विकास विरोधी अवधारणा ?’
ओलीप्रति नेपाल गरम सुनिएका थिए । उनले ओलीलाई आफ्नै पालामा कति हावादारी कुराहरू आए समीक्षा गर्न सुझाव दिए । ‘आफ्नो पालामा कति हावादारी योजना आए ? भनियो तिथि मिति तय गरेर यो मितिमा टिकट काट्नुहोस् । ठ्याक्क हवाई रेल चढ्नू । बिजुलीको रेल चलाइनेछ’, अध्यक्ष नेपाललेले ओलीप्रति कटाक्ष गर्दै भने, ‘यस्ता हावादारी कुरा ल्याउनु हुँदैन ।’
ओलीको भाषणप्रति कांग्रेसका सांसद प्रदीप पौडेलले सोमबार व्यङ्ग्य गरे, ‘प्रतिपक्षी दलका नेताको पालाको नीति तथा कार्यक्रम पाँचै वर्ष सुन्नुपर्ला जस्तो छ । मेरो अनुरोध छ, आफ्नो पालाको नीति तथा कार्यक्रम सुनाउन बन्द गरिदिनुहोस् ।’
संघीय संसद् सचिवालयका अनुसार १३१ जना सांसदले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखिसकेका छन् । अधिकांश सांसदले नीति तथा कार्यक्रममाथिको धारणा कम र ज्यादा एकअर्कोप्रतिको कुण्ठा पोखिरहेका छन् ।
एमाले सांसद दयालबहादुर शाहीले ७ वटा मन्त्रीको निम्ति कांग्रेसले गहतको झोलमा जात फालेको बताएका थिए । ‘बूढा महामन्त्रीहरू पद खाँदाखाँदा बुद्धि धमिल्लिनु स्वाभाविकै हो। तर, तेज करार महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री मेरो जिल्लाको हुनुहुन्छ बद्रि पाण्डे तपाईंहरूलाई अलिकता पनि संकोच लागेन ? सत्ता स्वार्थको निम्ति बीपीको सिद्धान्तलाई छाड्ने,’ उनले भनेका थिए ।
त्यसपछि कांग्रेस सांसद ईश्वरी न्यौपानेले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गरेकी थिइन् । त्यसपछि उनकाे भनाइ संसदकाे रेकर्डबाट हटाउन आदेश दिइएकाे थियाे ।
‘जनयुद्ध’ शब्दमा माओवादी सांसद र एमाले सांसदबीच ‘शीतयुद्ध’ चल्यो । एमाले सांसद योगेश भट्टराईले २०७२ पछिका सरकारी दस्तावेजमा कतै ‘जनयुद्ध’ शब्द उल्लेख नभएको तर पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाएको बताए ।
‘विगतमा भएका आन्दोलनको व्याख्या गर्दै जनयुद्ध भन्ने शब्द प्रयोग भएको छ । यो विषयमा संविधानसभामा प्रयाप्त बहस भएको थियो । २०७२ सालको संविधानपछि नेपालका कुनै पनि दस्तावेजमा यो शब्द उल्लेख भएको छैन । पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डजीले यो शब्द राष्ट्रपतिको मुखबाट बाचन गर्न लगाउनु भएको छ,’ उनले भने, ’कांग्रेसले यसलाई स्वीकार्छ भने कांग्रेसकै इन्ड अफ द हिस्ट्री हो,’ भट्टराईले भने ।
यो विषयमा माओवादी सांसद देवेन्द्र पौडेलले प्रतिकार गरे । ‘एकपटक शब्दकोष पल्टाएर हेर्नुस्, त्यो माछा वा भालु युद्ध थियो ? जंगलका अर्नाहरू लडेका थिए ? कि रुख, ढुंगाहरू लडेका थिए ? मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ कि जनयुद्ध भनिन्छ । मानिसका छोराहरू लडेको युद्ध थियो,’ उनले भने ।
माओवादी सांसद माधव सापकोटाले ओलीको भाषणलाई हेडमास्टरले पढाए झैँ ओलीले कुण्ठा पाेख्नु गलत रहेको बताए । त्यसको प्रतिवाद गर्दै एमाले सांसद गोकुल बास्कोटाले एमाले विश्वविद्यालय रहेको बताए ।
‘हेडमास्टर भन्नुभयो, हामी आक्रोशित छैनौँ । तपाईंहरूले दिएको उपाधि पुग्दैन, एमाले विश्वविद्यालय हो,’ उनले भने, ‘केपी ओली यो विश्वविद्यालयको भीसी हो । प्रोफेसर डाक्टर हो, इन्जिनियर हो, सबै हो ।’
कांग्रेस नेता तथा पूर्व सांसद मीन विश्वकर्मा संसदीय अभ्यासमा आरोप प्रत्यारोप स्वाभाविक रहेको बताउँछन् । ‘कहिलेकाँही बहस चर्को सुनिन सक्छ । संसदीय अभ्यासमा आरोप प्रत्यारोप चल्नु स्वाभाविक हो,’ विश्वकर्माले भने ।
पूर्वउपसभामुख शिवमाया तुम्बाहाम्फे अहिलेको परिस्थितिमा आरोप प्रत्यारोप गरेर समय खेर फाल्न नहुने बताउँछिन् । ‘आफ्नो पार्टीको धरणा राख्नुपर्ने र सुझाव दिनुपर्नेमा अन्य कुराहरूमा ध्यान गएको देखिन्छ । नीति तथा कायक्रममा टेकेर बहस गर्नपर्ने आवश्यकता हो,’ उनले भनिन् । नीति तथा कार्यक्रममा माननीयहरूबीच आरोप प्रत्यारोप धेरै भएको पहिलोपटक रहेको उनले बताइन् । ‘पहिला पनि हुन्थ्यो । तर, अहिले जस्तो आरोप प्रत्यारोप धेरै नै भएको देखिन्छ,’ उनले भनिन् । संसदमा असान्दर्भिक बहसहरू भैरहेको उनले बताइन् ।
पूर्वउपसभामुख पूर्णकुमारी सुवेदी पनि अहिलेको समय सत्तापक्ष र प्रतिपक्ष भन्दा पनि सबैको ध्यान अर्थतन्त्र सुधार्न केन्द्रित हुनुपर्ने बताउँछिन् । ‘सत्ता पक्ष र प्रतिपक्षले जुहारी चलाएर आत्मरतिमा रामाउने कुरा होला । अहिले दुवै पक्षले अर्थतन्त्र सुधार्न ध्यान दिनुपर्ने बेला छ । परिणाम दिने नीति, कार्यक्रम बनाउनुपर्छ । सत्तापक्ष र प्रतिपक्ष आलो पालो हुने हो,’ उनले भनिन्, ‘अहिले जनता पनि सचेत छन् । तुच्छ आत्मरतिमा बोलेका हुन् कि परिणाम दिन बोलेका हुन् थाहा पाउँछन् ।’
छरितो योजना बनाएर कार्यान्वयनमा जानुपर्ने उनले बताइन् । ‘सांसदहरूले पनि परम्परागत सोचभन्दा पनि नयाँ सोचअनुसार नीति सुझाव दिनुपर्नेमा त्यस्तो पाइँदैन । नीति तथा कार्यक्रममा नसमेटिएका कुराहरू बजेटमा सम्बोधन गर्न सकिन्छ,’ पूर्वउपसभामुख सुवेदीले भनिन् । (शिलापत्र)






