अमेरिका हिँडेका ८१ नेपाली मोरक्कोबाट फर्काइए

काठमाडौं,२४ जेठ ।
संगठित मानव तस्करको भर परेर अवैध बाटोबाट अमेरिका छिर्ने भन्दै हिँडेका ८१ नेपाली मोरक्कोको कासाब्लाङ्काबाट डिपोर्टमा परेका छन् । एकैचोटि धेरै संख्यामा नेपाली देखिएपछि अध्यागमनले शंका लागेर अनुसन्धान थालेको र डिपोर्टको निर्णय भएको डिपोर्टमा परेमध्येका एक नेपाली सुनाए ।
यतिका धेरै नेपाली एकैचोटि कसरी त्यहाँ पुगे भन्ने खुलिसकेको छैन । सरकारले भिजिट भिसामा दुबई जानेमाथि कडाइ गरिरहेका बेला उनीहरू कसरी त्यहाँ पुगे भन्ने शंकास्पद देखिएको छ ।
स्रोतका अनुसार पछिल्लो समय अवैध रूपमा अमेरिका लैजान दुबईबाट मोरक्कोको कासाब्लाङ्का पु¥याउने र त्यहाँबाट बोलिभिया वा ब्राजिल छिराउने काम भइरहेको छ । कोरोना संक्रमणको तेस्रो लहर रोकिएपछि संगठित मानव तस्करका एजेन्टहरूले यो रुटको प्रयोग बढाएका हुन् ।
पछिल्लो रुटको प्रयोग गरेर यति धेरै नेपाली अमेरिका छिर्न लागेको यस्तो घटना पहिलो पटक सार्वजनिक भएको एक प्रहरी अधिकारीले बताए । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो स्रोतका अनुसार डिपोर्ट भएकामध्ये केही सोमबार रातिसम्म नेपाल आइपुग्ने बुझिएको छ ।
यसअघि पनि नेपालीहरू अवैध रूपमा अमेरिका जाने भन्दै काठमाडौंबाट दिल्ली–इन्डोनेसिया हुँदै इथियोपिया पुगेर अलपत्र भएका वा काठमाडौंबाट भियतनाम, इथियोपिया, मादागास्कर, जोर्डन, दुबई, अजरबैजान पुगेर बन्धक बनेका घटना सार्वजनिक भएका थिए ।
मानव तस्करले मुख्यगरी दिल्लीबाट रुस हुँदै स्पेन–बोलिभिया–इक्वेडर–कोलम्बिया–पानामा–कोस्टारिका–निकारागुवा–होन्डुरस–ग्वाटेमाला–मेक्सिको रुट प्रयोग गरेर अमेरिका छिराउने प्रयास गरेको देखिन्छ । स्रोत ः कान्तिपुर






