घरनजिकै सडक, गाउँमै अस्पताल र बिजुली

मुगु । भादुरे रोकायाले १८ वर्षसम्म राजापुरबाट चिसापानी हुँदै मुगुसम्म दैनिक उपभोग्य सामग्री र लत्ताकपडा बोके । उनैले बोकेर ल्याएको सामग्रीले ६ जना परिवारको वर्षभरिको जोहो चल्थ्यो ।
झन्डै २० दिन लगाएर राजापुरबाट सामान ल्याउने मुगमकार्मारोङ गाउँपालिका–९ का ८३ वर्षीय उनी अहिले सदरमुकाम र जिल्लाबाहिर जाँदा घर नजिकैको छायलबजारबाट गाडी चढ्छन् । भोटको नुन र सहरको चामल ओसार्दै पाँच दशक बिताएका कार्मारोङ–२ का ७७ वर्षीय टाक्पा तामाङले पनि गाउँमा सबैखाले सुविधा पाएका छन् ।

यसअघि विभिन्न कामका लागि सदरमुकाम पुग्ने गाउँपालिकाका बासिन्दाले घरमै सामाजिक सुरक्षा भत्ता र सरकारी सेवा पाइरहेका छन् । छायलबजारसम्म गाडी पुगेपछि सदरमुकामकै भाउमा उपभोग्य सामान पाइन थालेको छ । अधिकांश सरकारी सुविधा वडा कार्यालयबाट पाउन थालेपछि बाहिर जानुपर्ने बाध्यता हटेको रोकायाले बताए ।
‘विकास गाउँमै आयो,’ उनले भने, ‘हामीले निकै दुःखकष्ट भोग्यौं, सहरका सुविधा गाउँमा आएपछि हाम्रा छोरानातिले सुख पाउने भए ।’ जटिल भूगोल सम्झँदा कल्पनै नगरेको विकास गाउँमा आएको उनलाई लाग्छ । गाउँमै बैंक आएपछि आर्थिक कारोबार पनि सहज बनेको पुवाका कार्मा तामाङले बताए ।
उनका अनुसार गाउँका अधिकांशले पुलुस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा खाता खोलेका छन् । ‘पहिले औषधिका नाममा सिटामोल ल्याउन पनि सदरमुकाम पुग्नुपर्थ्यो,’ उनले भने, ‘अहिले गाउँमै उपचार पाइन थालेको छ ।’ गाउँपालिका र हिरिस्डेकको लगानीमा अहिले रिउसमा १० शश्याको अस्पताल सञ्चालनमा आएको छ ।
गाउँपालिकाले कादुरी नामक संस्थाको सहकार्यमा रिउसखोलाबाट एक सय किलोवाट विद्युत् उत्पादन गरेपछि एक वर्षयता पुलु, पुवा, रिउस, भालेलगायत बस्ती झिलिमिली भएका छन् । ‘बिजुलीले गाउँपालिकाको सेवा प्रवाह पनि सहज बनाएको छ,’ गाउँपालिकाका सूचना अधिकारी तीर्थराज शाहीले भने, ‘स्थानीय बासिन्दाले वर्षौंदेखिको अँध्यारोबाट मुक्ति पाएका छन् ।’
जिल्लाका चार स्थानीय तहमध्ये मुगमकार्मारोङ गाउँपालिकाको मात्र आफ्नै भवन छ । गत वर्ष ८५ लाख रुपैयाँमा पुलुमा भवन निर्माण गरी सेवा प्रवाह गरिरहेको शाहीले बताए । उनका अनुसार नौवटै वडा कार्यालय आफ्नै भवनमा सरेका छन् । विपन्न र दलित विद्यार्थीको सुविधाका लागि पुलुमा आवासीय विद्यालय स्थापना गरिएको छ ।
स्थानीय सरकार गठनलगत्तै कार्मारोङले तुइन र काठेपुल विस्थापन अभियान सुरु गरेको थियो । अहिले कर्णाली नदी र डेढ दर्जन खोलामा झोलुंगे पुल निर्माण भएका छन् । ‘पुलले गाउँको दूरी छोटियो,’ पुलुकी मिज्जु तामाङले भनिन्, ‘केटाकेटीले स्कुल जान पाएका छन् ।’ उनी एक वर्षदेखि प्लास्टिक टनेलमा तरकारी खेती गरिरहेकी छन् । बजारको माग र भाउ बढेपछि वर्षमा २ लाख रुपैयाँसम्म आम्दानी हुन थालेको उनले बताइन् ।
दुई वर्षअघिसम्म बाहिरको तरकारीको भर पर्नुपर्ने बाध्यता थियो । गाउँका दुई दर्जन महिलाले व्यावसायिक तरकारी खेती गरिरहेका छन् । गाउँपालिकाका झन्डै एक दर्जन पाटनमा यार्चा पाइन्छ । यार्चा संकलन गर्न जाने स्थानीयका लागि गाउँपालिकाले जीवन बिमा लागू गरेको छ ।
पाटनमा मृत्यु हुने व्यक्तिका परिवारलाई ५ लाख रुपैयाँ बिमामार्फत क्षतिपूर्ति दिइने गरी कार्यक्रम लागू गरिएको हो । भौगोलिक विकटतालाई ख्याल गरी शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्, कृषि, सिँचाइ, खानेपानी, सडकलगायत पूर्वाधार निर्माणमा तीव्रता दिइएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए ।






