जनहितकारी साकोसको आ.व. २०८२/०८३ को वार्षिक समीक्षा बैठक सम्पन्न

सुर्खेत, ३१ साउन ।

जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुर्खेतको वार्षिक समीक्षा बैठक वीरेन्द्रनगर–४, कालागाउँस्थित संस्थाको सभाहलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष नवराज कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। संस्थाका सचिव यामराज गिरीले सञ्चालन गर्नुभएको कार्यक्रम राष्ट्रिय गान तथा दीप प्रज्वलनबाट उद्घाटन गरिएको थियो।

कार्यक्रममा अध्यक्ष कंडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने नायब प्रमुख कार्यकारी अधिकृत मित्रेन्द्रनाथ योगीले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमसम्बन्धी वार्षिक समीक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदनमा सदस्य विस्तार तथा व्यावसायिक क्षमता विकास, शेयर पूँजी तथा बचत संकलन, शिक्षा तथा तालिम, सूचना तथा प्रविधि, भौतिक तथा जनशक्ति व्यवस्थापन, सदस्य सेवा तथा सामाजिक उत्तरदायित्व, संस्थागत सुशासन तथा व्यावसायिक गुणस्तर विकास, सम्बन्ध तथा समन्वय तथा वार्षिक साधारण सभा र स्थापना दिवसलगायतका कार्यक्रमको कार्यान्वयन अवस्थाको समीक्षा गरिएको थियो। आर्थिक वर्ष २०८२/०८३ का लागि तय गरिएका केही कार्यक्रम सञ्चालन हुन नसके पनि अधिकांश कार्यक्रम सम्पन्न भएको र केही सम्पन्न हुने चरणमा रहेको जानकारी गराउँदै आगामी वर्ष चालु वर्षका सकारात्मक तथा प्रभावकारी कार्यक्रमलाई अनुशरण गरी संस्थागत विकास र सदस्य हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।

यसैगरी प्रमुख कार्यकारी अधिकृत कृष्ण रावलले वार्षिक कार्यसम्पादन समीक्षा तथा आगामी वर्षको रणनीतिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो। उहाँले आर्थिक वर्ष २०८२/०८३ को लक्ष्य प्राप्ति तथा संस्थाको समग्र वित्तीय अवस्थाका साथै प्रमुख कार्यकारी अधिकृतको नियुक्तिपश्चात व्यवस्थापन समूह तथा कर्मचारीबाट भएका प्रयास र उपलब्धिहरूबारे जानकारी गराउनुभएको थियो। प्रस्तुतिमा आर्थिक वर्ष २०८३/०८४ का वार्षिक वित्तीय लक्ष्य तथा कार्यक्रम, संस्थाको वर्तमान अवस्थाको SWOT Analysis तथा रणनीतिक मूल्याङ्कन गर्दै संस्थाका सबल पक्ष, सुधार गर्नुपर्ने पक्ष, अवसर, चुनौती तथा जोखिम पहिचान गरिएको थियो। साथै आगामी वर्षको रणनीतिक योजना, कार्यदिशा तथा विस्तृत वार्षिक रणनीतिक कार्ययोजना प्रस्तुत गरिएको थियो।

बैठकको दोस्रो सत्रमा लेखा तथा प्रशासन विभाग प्रमुख बसन्त बहादुर बुढाले वार्षिक बजेट समीक्षा तथा वित्तीय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०८२/०८३ मा शेयर सदस्यतर्फ ८२ प्रतिशत, शेयर पूँजीतर्फ ८७ प्रतिशत, बचत तथा निक्षेपतर्फ ९९ प्रतिशत, ऋण लगानीतर्फ ८८ प्रतिशत र ऋण जोखिम व्यवस्थापनतर्फ १०६ प्रतिशत लक्ष्य उपलब्धि हासिल भएको छ। त्यसैगरी कुल सम्पत्तितर्फ ९८ प्रतिशत, कुल आम्दानीतर्फ ७२ प्रतिशत, कुल खर्चतर्फ ७८ प्रतिशत र करअघिको नाफातर्फ ३८ प्रतिशत उपलब्धि हासिल भएको वित्तीय प्रतिवेदनमा उल्लेख गरिएको छ।

बैठकमा आम्दानी तथा खर्च, ऋणको गुणस्तर तथा जोखिम व्यवस्था, वित्तीय दक्षता तथा प्रमुख वित्तीय अनुपातका साथै विभिन्न सेवा केन्द्रको वित्तीय अवस्था, आम्दानी, खर्च, अन्तर–सेवा केन्द्र कारोबार र भाखा नाघेको ऋणको अवस्थासमेत समीक्षा गरिएको थियो। विशेषगरी बचत तथा निक्षेप, कुल सम्पत्ति र ऋण जोखिम व्यवस्थापनतर्फ हासिल भएको प्रगतिलाई सकारात्मक उपलब्धिका रूपमा लिइएको थियो।

समीक्षा बैठकमा संस्थाले आगामी दिनमा सामना गर्नुपर्ने चुनौती तथा त्यसका समाधानका उपायबारे छलफल गर्दै आर्थिक वर्ष २०८३/०८४ मा वित्तीय सुदृढीकरण, शेयर पूँजी तथा बचत वृद्धि, ऋणको गुणस्तर सुधार, जोखिम व्यवस्थापन, सदस्य सेवा विस्तार, संस्थागत सुशासन र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्ने कार्यदिशा तय गरिएको छ। बैठकले आर्थिक वर्ष २०८२/०८३ को समग्र कार्यसम्पादन तथा वित्तीय अवस्थाको समीक्षा गर्दै आगामी वर्षका लागि स्पष्ट वित्तीय लक्ष्य, रणनीतिक योजना र कार्यदिशा तय गरेको संस्थाले जनाएको छ।

जनहितकारी साकोसको आ.व. २०८२/०८३ को वार्षिक समीक्षा बैठक सम्पन्न

जनहितकारी साकोसको आ.व. २०८२/०८३ को वार्षिक समीक्षा

Leave a comment

Your email address will not be published. Required fields are marked *