कर्णालीमा सडक दुर्घटना न्यूनिकरणमा चुनौती एक ट्राफिक प्रहरीको भागमा  ४५ किलोमिटर सडक

ओम शाही

सुर्खेत, ९ साउन ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तथ्यांक अनुसार कर्णाली प्रदेशभर नौ हजार ६ सय ८७.६२ किलोमिटर दुरीमा सडक निर्माण गरिएका छन् । जसमा एक हजार तीन सय ८४.४१ किलोमिटर पक्की सडक बनाइएको छ । यस्तै, एक हजार एक सय ९४.६५ किलोमिटर ग्राभेल, सात हजार एक सय आठ किलोमिटर कच्चि सडक खनिएका छन् । 

ट्राफिक प्रहरीका अनुसार कर्णालीमा गत आर्थिक वर्ष २०८२/०८३ सम्म आइपुग्दा ४० हजार नौ सय ५६ सवारी दर्ता भएका छन् । विडम्बना कर्णालीमा निर्माण भएका सडक र गुड्ने गाडी र जनसंख्याको तुलनामा ट्राफिक प्रहरीको जनशक्ति भने निकै कम छ । तथ्यांक अनुसार कर्णालीमा दुई सय १५ जना ट्राफिक प्रहरीको दरवन्दी छ । 

सडकको कुल दुरी र ट्राफिक प्रहरीको जनशक्ति हेर्ने हो भने एक जनाले ४५ किलोमिटर सडक हेर्नुपर्ने बाध्यता छ । त्यस्तै, सवारी संख्याका आधारमा विश्ष्लेषण गर्ने हो भने एक ट्राफिक प्रहरी बराबर एक सय ९० सवारी साधनलाई हेर्नुपर्ने हुन्छ । 

कर्णालीको कुल १६ लाख ९४ हजार आठ सय ८९ जनसंख्याको अनुपातमा एउटा ट्राफिक प्रहरीले सात हजार आठ सय ८३ नागरिकलाई सेवा दिनुपरेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजाल बताउँछन् । 

उनका अनुसार कर्णालीमा हरेक दिन औषतमा झण्डै ३.२४ वटा सडक दुर्घटना हुने गर्छन । जसमा ०.३६ को ज्यान जाने गरेको छ भने ६.३ प्रतिशत दैनिक घाइते हुने गरेको तथ्यांकले देखाउँछ । कर्णालीमा दैनिक औसतमा एक सय एक सवारी साधन दर्ता हुने गरेको रिजालले बताए ।

दुर्घटनामा वृद्धि, तीन प्रतिशतले घट्यो मृत्यु दर

कर्णाली प्रदेशभर दुई आर्थिक वर्षको अवधिमा सुवारी दुर्घटनामा २३ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाउँछ । यस अवधिमा घाइतेको संख्या १३ प्रतिशतले वृद्धि हुँदा मृत्यु दर तीन प्रतिशतले घटेको छ । 

प्रहरी उपरीक्षक रिजालका अनुसार सामान्य दुर्घटनाको पनि तथ्यांक राखिने भएकाले दुर्घटनाको ग्राफ बढी देखिएको हो । उनका अनुसार मृत्यु, घाइते हुनेको दर र राजश्व संकलनमा कमी आएमात्रै सडक सुरिक्षत भएको मानिन्छ । 

उनले सवारी दुर्घटना वृद्धि हुनुको कारण सवारीको संख्या बढ्नु, ग्रामिण साँघुरा, जिर्ण तथा जोखिमयुक्त कच्चि सडक खण्डहरुमा सवारी साधनको पहुँच, प्रयाप्त ट्राफिक जनशक्तिको अभाव र सडक सुरक्षा पूर्वाधारको कमी, प्राविधिक रुपमा कमजोर सवारी साधन मुख्य रहेको उनले बताए ।

तथ्यांक अनुसार प्रदेशभर आर्थिक वर्ष २०८१/०८२ मा एक हजार ८६ सवारी दुर्घटना भएका छन् । जसमा एक सय ३१ जनाले ज्यान गुमाउँदा दुई हजार आठ जना घाइते भएका छन् । त्यस्तै, गत आर्थिक वर्ष २०८२/०८३ मा सवारी दुर्घटना बढेर एक हजार एक सय ९४ पुगेको छ । 

यस आर्थिक वर्षमा मृत्यु दर ३ प्रतिशतले घट्दा दुर्घटनामा परी घाइते हुनेको संख्या भने २३ प्रतिशतले वृद्धि भएको तथ्यांकले देखाउँछ । अघिल्लो आर्थिक वर्षमा एक सय ३५ जनाले सडक दुर्घटनामा ज्यान गुमाउँदा दुई हजार तीन सय सात जना घाइते भएका छन् । 

सुर्खेतमा सबैभन्दा बढी दुर्घटना  

ट्राफिक प्रहरीको तथ्यांक अनुसार जिल्लागत सबैभन्दा बढी सडक दुर्घटना सुर्खेतमा हुने गरेको देखिन्छ । सबैभन्दा कम मुगु जिल्लामा सवारी दुर्घटना हुने गरेका छन् । सुर्खेतमा एक वर्षको अवधिमा ६ सय ९० सडक दुर्घटना हुँदा मुगुमा यसको संख्या १७ छ । 

जिल्लागत तथ्यांक अनुसार गत वर्ष दैलेखमा ८५, रुकुम पश्चिममा एक सय ३९, जाजरकोटमा ५६, सल्यानमा ७५, कालीकोटमा ४२, जुम्लामा ४६, मुगुमा १७, डोल्पामा २८ र हुम्लामा १९ वटा सडक दुर्घटना भएका छन् ।  

सुर्खेतमा सवारी दुर्घटना बढी हुनुको कारण सवारी साधन र यात्रुको चाप बढी हुनु हो । साथै राष्‍िट्रय राजमार्ग तथा मुख्य व्यापारिक मार्ग विस्तार हुनु, सवारी संख्यामा वृद्धि, तीव्र सहरीकरण तथा गति र ट्राफिक नियम उल्लंघन रहेको ट्राफिक प्रमुख रिजाले बताए । उनका अनुसार मुगुमा कम दुर्घटन हुनुको कारण सवारी साधन र जनसंख्याको चाप कम, सीमित सडक सञ्जाल र व्यापारिक तथा सहरी गतिविधि कम हुनु हो । 

दुर्घटनाको कारण तीव्र गति

कर्णालीका सडकमा दुर्घटना हुनुको मुख्य कारण तीव्र गति हो । गत वर्ष तीव्र गतिकै कारण ६२ प्रतिशत सडक दुर्घटना भएका छन् । यस्तै, ब्रेक फेल दुई प्रतिशत, यन्त्रिक कारण १० प्रतिशत, माद्यक पदार्थ सेवनबाट एक प्रतिशत, पैदल यात्रुका कारण चार प्रतिशत, ओभरटेकका कारण १० प्रतिशत, चालकको असक्षमताका कारण पाँच प्रतिशत मौसमका कारण एक र अन्य कारण १० प्रतिशत सडक दुर्घटना हुने गरेको प्रहरीको तथ्यांक छ । 

प्रमुख रिजालका अनुसार ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरणमा विभिन्न रणनैतिक योजनाहरु अघि सारिरहेको छ । तर, कर्णालीको भूगोल, सवारी साधनको संख्यामा वृद्धि, जनशक्ति अभाव, ट्राफिक नियमको उल्लघंन, आधुनिक प्रविधि र आवश्यक पूर्वाधारको अभावले सडक दुर्घटना न्यूनिकरणमा निकै चुनौती रहेको उनले बताए । 

६ करोड राजश्व संकलन 

ट्राफिक प्रहरीले दुई आर्थिक वर्षको अवधिमा कानुन उल्लघंनमा संलग्न सवारीलाई कारवाही गरे ६ करोड बढी राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा ४९ हजार नौ सय ६४ सवारीलाई कारवाही गरेर तीन करोड ६७ लाख ४३ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । 

गत आर्थिक वर्ष २०८२/०८३ मा ३८ हजार आठ सय ८५ सवारी ट्राफिक नियम उल्लघंन गरेर जरिवानामा परेका छन् । जसबाट तीन करोड ४१ लाख ९८ हजार पाँच सय रुपैयाँ संकलन भएको छ । प्रहरी उपरीक्षक रिजालका अनुसार आर्थिक वर्ष २०८१/०८२ को तुलनामा २०८२/०८३ मा सवारी कारवाही संख्या २३ र राजश्व संकलनमा २० प्रतिशतले कमी आएको बताए । 

सबै निकायलाई प्रविधिमैत्री बनाउँदा ट्राफिक जरिवानाको लागि इचलान प्रणाली लागु हुनु, सचेतनामूलक कार्यक्रमहरू लक्षित वर्गमा प्रभावकारी रुपमा संचालन हुनु, नागरिक स्तरमा ट्राफिक नियमको पालनाको स्तरमा वृद्धि हुनु र ट्राफिक प्रहरीको सक्रियता बढेकाले सवारी कारवाही र राजश्व संकलनमा कमी आएको उनले बताए । 

कर्णालीमा सडक दुर्घटना न्यूनिकरणमा चुनौती  एक ट्राफिक प्रहरीको भागमा   ४५ किलोमिटर सडक

महको जिल्ला दररेट निर्धारणभएपछि : जुम्ली किसानमा

कर्णालीमा सडक दुर्घटना न्यूनिकरणमा चुनौती  एक ट्राफिक प्रहरीको भागमा   ४५ किलोमिटर सडक

विद्यार्थीलाई शैक्षिक सामग्री र स्कुल ब्याग वितरण

Leave a comment

Your email address will not be published. Required fields are marked *