सम्पादकीय : डेंगी नियन्त्रणमा सचेत बनौं

डेंगी अब मौसमी रोग मात्रै रहेन, सुर्खेतका लागि यो क्रमशः सार्वजनिक स्वास्थ्य संकटको रूप लिँदै गएको छ । पछिल्ला पाँच आर्थिक वर्षका तथ्यांकले संक्रमणको जोखिम वर्षेनी बढिरहेको स्पष्ट देखाउँछन् । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका अनुसार पाँच वर्षमा जिल्लाभर ४९ हजार आठ सय ११ जनाको परीक्षण गर्दा सात हजार एक सय ७८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । परीक्षणको दायरा विस्तारसँगै संक्रमितको पहिचान बढेको तर्क सही भए पनि बढ्दो संक्रमणलाई केवल परीक्षणको परिणाम भनेर बेवास्ता गर्ने अवस्था छैन । विशेषगरी प्रदेश राजधानी वीरेन्द्रनगरमा मात्रै गत आर्थिक वर्ष २०८२/०८३ मा एक हजार नौ सय २३ जनामा संक्रमण पुष्टि हुनु चिन्ताको विषय हो । वीरेन्द्रनगर कर्णाली प्रदेशको प्रशासनिक, शैक्षिक तथा व्यापारिक केन्द्र हो । बढ्दो जनघनत्व, अनियोजित सहरीकरण, खुला रूपमा पानी जम्ने अवस्था, फोहोर व्यवस्थापनको कमजोरी र सरसफाइमा देखिएको लापरवाहीले डेंगी फैलाउने लामखुट्टेका लागि अनुकूल वातावरण सिर्जना गरेको छ । त्यसैले संक्रमणको जोखिम बढ्नु संयोग होइन, हाम्रो व्यवस्थापनको कमजोरीको परिणाम पनि हो ।
तथ्यांकले संक्रमणको उतारचढाव पनि देखाउँछ । आर्थिक वर्ष २०७८/०७९ मा एक हजार पाँच सय ३० जनाको परीक्षण गर्दा नौ सय ९६ जनामा संक्रमण पुष्टि भएको थियो । २०७९/०८० मा परीक्षण बढेर आठ हजार चार सय १६ पुग्दा एक हजार चार सय ८४ जनामा संक्रमण देखियो । २०८०/०८१ मा संक्रमण केही घटेर पाँच सय ७१ मा सीमित भए पनि त्यसपछिका दुई वर्षमा फेरि तीव्र रूपमा बढ्यो । आर्थिक वर्ष २०८१/०८२ मा एक हजार नौ सय १८ र २०८२/०८३ मा दुई हजार दुई सय सात जनामा संक्रमण पुष्टि हुनु डेंगी नियन्त्रणका प्रयास अझै पर्याप्त नभएको संकेत हो । स्वास्थ्यकर्मीहरूले साउनदेखि असोजसम्मलाई उच्च जोखिमको अवधि मानेका छन् । यही समयलाई लक्षित गर्दै जनस्वास्थ्य सेवा कार्यालयले स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि, परीक्षण किट वितरण, निजी स्वास्थ्यकर्मीको अभिमुखीकरण, समुदायस्तरीय जनचेतना र ‘सर्च एन्ड डिस्ट्रोय’ अभियान सञ्चालन गरिरहेको छ । यी प्रयास सकारात्मक छन् । तर अभियान केवल सरकारी कार्यक्रमका रूपमा सीमित भए अपेक्षित उपलब्धि हासिल गर्न सकिँदैन । स्थानीय तह, विद्यालय, टोल विकास संस्था, निजी क्षेत्र र प्रत्येक नागरिकको सक्रिय सहभागिताबिना डेंगी नियन्त्रण सम्भव छैन ।
डेंगी मात्र होइन, सुर्खेतमा स्क्रब टाइफस, मेलेरिया, कालाजार र औलोको जोखिम पनि कायमै छ । पाँच वर्षमा स्क्रब टाइफसका एक हजार आठ सय ७५, मेलेरियाका एक सय ४५, कालाजारका दुई सय ३३ र औलाका एक सय आठ संक्रमित पुष्टि हुनु किटजन्य रोग अझै चुनौतीका रूपमा रहेको प्रमाण हो । यसले स्वास्थ्य प्रणालीलाई बहुआयामिक तयारीको आवश्यकता रहेको देखाउँछ । डेंगी रोकथामको सबैभन्दा प्रभावकारी उपाय उपचार होइन, रोकथाम नै हो । घर तथा कार्यालय वरपर पानी जम्न नदिने, पानी संकलन हुने भाँडा नियमित सफा गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने र ज्वरो आएमा स्वयं औषधि सेवन नगरी तुरुन्त स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउने बानी बसाल्नुपर्छ । दोस्रो पटकको डेंगी संक्रमण अझ जटिल हुन सक्ने भएकाले सचेतना झन् आवश्यक छ । सार्वजनिक स्वास्थ्यको यो चुनौतीलाई सरकारले मात्र होइन, समुदायले पनि साझा जिम्मेवारीका रूपमा लिएर अघि बढे मात्र सुर्खेतलाई डेंगीको बढ्दो जोखिमबाट सुरक्षित बनाउन सकिन्छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *